साहित्य सन्तोष

Spread the love
Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

‘तिमी अऋणी हुन त चिट्ठा पर्नुपर्दछ साधुराम सेठ’– हरिकुमार शाहीको गर्जन । साधुरामले आफ्नै एकमात्र पुत्ररत्न दीपकको सामुन्नेमा आफ्नो पीडा सुनाए । दीपकले यो कुरा सुनिरह्यो । हो, अभावनगरमा मज्जासित भोकलाई नै भोजन बनाएर रमाएको थियो दीपक । मज्जासित भात खान पाएका दिन ऊ भन्थ्यो, ‘खाइयो’ । साधुराम धेरै सोझा र इमानदार । उनले कसैलाई पनि बेवकुफ बनाउन जानेनन् । ठग्ने कुरा त परै रह्यो । त्यो जमानामा चाहेको भए जमिनदार बन्न सक्थे । बाटोमा हिँड्दाहिँड्दै नयाँ कोट फेला पारे । कोट कसको थाहा पाए । कोटको भित्री गोजीमा रू. ४,००० । रू. ५०० ले एक बिगाहा जमिन आउने युग ।

 

केही दिन गायब भएर अलिअलि नाटक गरेको भए उनले ८ बिगाहा जमिन आरामसित किन्न सक्थे । पहाड गएर आफ्नो अंश बेचेर ल्याए पैसा भनेको भए कथा समाप्त । तर, साधुराम भोकै बस्ने, जडौरी ल्याए, भुटेको मकैले छाक टारे, बेइमान बनेनन् । रू. ४००० जसको हो उसकै हातमा पु¥याए । साधुरामजस्तो इमानदार मान्छे यो गाउँमा को छ ?
बाउआमाको धर्मले छोराछोरीले सुख पाउँछन्, साधुरामका सन्तान यो गाउँमा रोज्जा हुनेछन् कुनै दिन । यो दीपकको टाउको हेर्नु, यसको पढाइ हेर्नु, बाफ रे ! यसलाई महाभारत, रामायण, कृष्णचरित्र, देवीभागवत्, स्वस्थानी, सबै कण्ठ । स्कुलमा सबै पाठ कण्ठ भन्छ रे । मास्टरहरु पनि जिल्ल । हेर्दा गुन्डा होला जस्तो छ । पढ्न पाए त हो !
गाउँलेहरुको अनुमान । यता दीपक पनि नदीजस्तै । बग्दै गयो, बग्दै गयो । सागर भेट्न व्यग्र । घरमा चामल छैन, भुटन छैन, तरकारी छैन । खोपी खेलेर जितेको पैसाले आफ्नो गर्जो टा¥यो । सेठ हरिकुमार शाहीकी पत्नी दिलमाया शाही दीपकलाई असाध्यै स्नेह गर्ने । हरिकुमार पनि त्यति कठोर होइनन्, पारिवारिक नाता सुमधुर ।
तर, व्यापारीको धर्म– मुनाफा । उधारो लगेको र सापटी लगेको रकम समयमा फिर्ता नपाउँदा उनी झोक्किने । यो कुरा साधुरामको मनमा बिझ्ने ।
‘हेर हरि, मेरो छोरो पनि ठूलो हुन्छ, पढाइ राम्रो छ, एकदिन तेरै अगाडि मेरो छोराले मेरो शिर ठाडो बनाउने छ, यसै सन्तोषी माताको व्रत लिएको छैन मैले’– साधुराम कल्पना गर्दथे । उता, शाहीका सन्तान ५ भाइ छोरा, २ बहिनी छोरी । दुवै छोरी पोइल गए । छोराहरु एउटा पनि गतिलो भएनन् । पढाइमा अब्बल होलान् र ठूलै मान्छे होलान् भन्ने आशा राखेका शाही बज्रपातमाथि बज्रपात सहन अभिशप्त भए । श्रीमतीले ६४ वसन्त पनि पार गरिन् । तीन भाइ छोरा पनि अत्यधिक मदिरा सेवनका कारणले बू्रढा भएनन् । यसरी अत्तरिया बजार कैलालीमा सबैले ‘वाह हरि शाही’ भनेका सेठ बिचरा बन्न पुगे ।
जाजरकोटबाट झरेका यी शाहीको कन्तबिजोग भयो । आर्थिकरुपमा करोडपति थिए, मानसिकरुपमा रोडपति हुन पुगे । उनलाई पनि अनेक रोगले समात्यो । एकदिन दीपकसित भेट भयो, अति मलिन अनुहार बनाएर भने– ‘दीपक, तिमी कुलदीपक नै भयौ । बाआमालाई पूरै आनन्द दियौ । हाम्रो नाता यस्तै रह्यो । साधुरामसित क्षमा माग्नु थियो । उनलाई एकदिन मैले दुर्वचन बोलेँ । पाप लाग्यो । उनी छैनन् । मलाई माफ गरे दीपू ।’ झन्डै रोएको शाही ।
‘अंकल मान्छेबाट गल्ती हुन्छ । हाम्रो विगतमा सबै कुरा नराम्रो मात्र छैन । अब नराम्रो जतिलाई नमीठो सपना सम्भेर बिर्सने र राम्रोमात्र सम्झिने । हजुर पनि मेरा
लागि अभिभावक नै हो । काकीले मलाई लगाएको गुन बिर्सिएको छैन । हजुरप्रति मेरो मन सफा छ ।’
धेरै वर्ष बित्यो । भेरी, महाकाली र कर्णालीमा धेरै पानी बगे । आज आएर दीपक विगत सम्झिन्छ । बाआमा सम्झिन्छ । आफ्नो विगत र वर्तमान तुलना गर्दछ । आज टीकापुरमा मात्र होइन, पश्चिम नेपालमा मात्र होइन दीपकराज टीकापुरे भनेपछि संसारले चिन्दछ । अभाव र गरिबीलाई उसले डाँडो कटायो । यदि म पनि धनी बाउको छोरो भएको भए….! यसरी पनि कल्पना गर्दछ दीपक । हुन त, सबै सम्पन्न परिवारका सन्तान बिग्रिएका छैनन् र सबै गरिबका सन्तान पनि दीपकको स्थानमा पुगेका छैनन् । संसार हो, जे पनि हुन्छ र जस्तो पनि भोग्नुपर्दछ । तर, आफ्नो जीवनमा प्रोफेसरसम्म बन्न पुगेको दीपकराज टीकापुरे आफूले सन्तोष लिने ठाउँ प्रशस्त भेट्दछ । दुई–चार शत्रु कसका हुन्नन् र ? अजान शत्रु को हुन्छन् र ? चित्त बुझाउँछ, सन्तोष मान्दछ । मान्छेले जीवनमा सुख र शान्ति अनुभूत गर्न के–के चाहिन्छ ? भनी एक जना विद्वान् अभिभावकलाई दीपकले सोधेको थियो र ती ८० वर्षीय अभिभावकले उल्टै प्रश्न गरेका थिए–
‘दीपकबाबु, श्रीमतीले माया गर्छिन् ?’
‘गर्छिन् ।’
‘बिहान–बेलुकाको छाक टरेको छ ?’
‘मज्जाले । उल्टै, २५,००० रूपियाँको धान बेचिन्छ ।’
‘छोराछोरी बिग्रिएका छन् ?’
‘मभन्दा पनि विवेकी र बुद्धिमान छन् ।’
‘दुई–चार इष्टमित्रहरु साँच्ची नै माया गर्ने कमाइएको छ ?’
‘मेचीदेखि महाकालीसम्म अनन्त ।’
‘शरीरमा कुनै रोग छ ?’
‘आजसम्म अस्पताल बसेको छैन र कुनै औषधि खाएको छैन ।’
‘कुनै ठूलो पदमा पुग्ने रहर छ ?’
‘म सपनाविहीन मान्छे हुँ अपेक्षारहित ।’
‘कुनै ठूलो साहित्यिक पुरस्कार पाउने रहर छ ?’
‘त्यो त कहिल्यै पनि गरिनँ ।’
‘त्यसो भए तपाईं धेरै खुसी मान्छे हो । सन्तोषी हो । यही भएर म तपाईंसित रमाउँछु ।’
मिस्टर टीकापुरे सन्तोष छ नि ?– आफैँसित प्रश्न गर्दछ दीपक । स्वसंवादको पनि आफ्नै मज्जा हुन्छ । झट्ट सम्झिन्छ, हिन्दी चलचित्र ‘सिन्दूर’ नायिका जयप्रदा पनि स्वसंवाद गरेर एउटा मानवीय दायित्व निर्वाह गर्न पुगेकी थिइन् ।
‘ए बुढा, के–के सोचेर बसेको ? धनगढीतिर घुम्न जान मन थियो ।’ दीपककी जीवनसंगिनी दीपा, माइती हो अर्घाखाँची, आचार्यपुत्री । एकदम सोझी ।
‘दीपा तिमीलाई मैले सन्तोष दिएँ त ?’– लाडिन्छ दीपक ।
‘यहाँभन्दा कति सन्तोष खोज्ने बूढा, यति धेरै माया गर्नुहुन्छ, आफन्तले पनि गिज्याउँछन् । अस्ति भान्जाले पनि गिज्याए । जोइटिङ्ग्रे रे मेरो पोइ । खोइ, कस्तो हो यो दुनियाँ ? हेर्नुहोस् त, लोग्नेस्वास्नी नमिल्दा के–के भएको ? बूढा म त निकै भाग्यमानी हो । हाम्रो आचार्य खलकमा सबैले मलाई सानैदेखि यो ठूली राम्री पनि छ, शीलस्वभाव खास्सा, यो सारै भाग्यमानी भन्थे, हो जस्तै लाग्छ । तपाईंको माया पाएकी छु, योभन्दा बढी सन्तोष के चाहियो बूढा ?’ गाला मुसार्न पुगिन् दीपकको ।
घरमा जम्मा दुई प्राणी, पूर्ण आजादी । सन्तान सबै उडे । ‘बूढा, अब जागिर छोडे हुन्छ । हामी पनि एक–दुई वर्ष घुमेर आऊँ’– नयाँ प्रस्ताव आयो दीपाको ।
‘हुन्छ पियारी, पहिला जापान त्यसपछि जर्मनी, अनि फ्रान्स, बेल्जियम, अमेरिका…..,  ‘होइन होइन सीधै क्यानडा, जया र विजया छोरीहरुलाई पनि चान्स दिने ।’
‘छोराको पालो कहिले त ?’
‘दुई वर्ष क्यानडा अनि बल्ल पर्थ । त्यहाँ पनि साहित्यको कुम्भमेला लाग्छ, मलाई पनि लैजानुपर्छ । तपाईंका फेसबुके नानीहरुसित भेट गर्नुछ । नानीहरुसित झगडा नगर नि । छ्या बूढा, तपाईं सबैको बाउ दाइ, अभिभावक मलाई मेरो बूढाको आनीबानी कण्ठै । अब उमेर पनि त…..!’
‘लोग्नेमान्छे कहिले बूढो हुन्छ र बाबै !’ ‘भो भो, मेरो अगाडि फूर्ति लगाउने…..!’
‘ममाथि विश्वास छ ?’ ४० वर्षमा यो प्रश्न ? बूढा जोकर ! ‘अनेक जान्नुभा’छ । फेरि जम्मै मेरी दीपुले यसो भनी उसो भनी भनेर फेसबुकमा कथा बनाउने होइन नि !’
‘किन होला बूढी, तिमीले जे नगर्नू भन्छ्यौ त्यही गर्न मन लाग्ने ? दुनियाँ हँसाउन आफूलाई फँसाउन । हो बूढी, आजसम्म लेखेर भोगेको नै यही हो । ४० पटक सम्मान र पुरस्कार, ८० पटक टेन्सन ।’
‘सत्यवादी बनेर नलेख्नू बूढा, गौरी लंकेशलाई के गरे ? इच्छुकलाई के गरे ? सत्य बोल्नेको जमाना छैन बूढा । बरू, गजल लेखेर गाएर छोराछोरी सबैलाई सन्तोष, घोचपेच नगर्नुहोला । जमाना खराब छ ।’
‘ठीक छ बूढी, तिमीलाई टेन्सन हुने काम गर्दिनँ । तर, छोराको माया लाग्छ क्या ।’
‘भो भो, देशको ठेक्का सरकारको हो । हामीले तिर्ने कर हो तिरेका छौँ । ठेकेदारहरुलाई मतलब छैन, एउटा बूढो प्रोफेसरले के गर्न सक्छ ?’
‘लेख्न सक्छ । बौद्धिक आन्दोलन छेड्न सक्छ । एउटै गोविन्द केसीले सम्पूर्ण माफियाको सातो उडाए । एउटा सच्चा नागरिकको आवाजमा ठूलो शक्ति हुन्छ बूढी ।’‘सन्तोष लिएर बस्नुहोस्, सन्तोष अबको हाम्रो जीवनको गन्तव्य र मन्तव्य पनि, यार डियर बूढा । सन्तोषम् परम् सुखम् ।’

धनराज गिरी
dhanraj.giri@yahoo.com
स्रोतः चितवन पोष्ट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *