सुविन रिमाल “प्रशान्त’को फूलबारी कविता सङ्ग्रहप्रति पाठकीय नजर

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

समीक्षकः जयदेव गोविन्द

Subin, Rimal, सुविन रिमाल, pallawa, पल्लव

कृतिकारः सुविन रिमाल

समीक्षित कृति

१) आरम्भ
लक्ष्मीप्रसाद देवकोटाले दश वर्षकै कलिलो उमेरमा कविता लेखे भन्ने सुनेर हामीलाई अचम्मित तुल्याएको मात्र होइन, हामीमध्ये कतिपयलाई अविश्वास नै लागेको थियो तर ती सबै अविश्वास र अनपत्यारका पर्खालहरू भत्काइदिएका छन् कवि सुविन रिमाल ‘प्रशान्त’ले । नौ वर्षकै कलिलो उमेरदेखि कवितालेखन आरम्भ गरी बाह्र वर्षकै उमेरमा कविता सङ्ग्रह नै प्रकाशित गरेर साहित्यानुरागीहरूलाई अचम्मित र हर्षित तुल्याइदिएका छन् कवि सुविनले । नौ वर्षकै उमेरमा सबैलाई प्रभावित बनाउनेगरी कविता सिर्जना गर्नु अझ त्यो पनि शास्त्रीय छन्दको जटिल अनुशासनमा रहेर प्रथम रचनादेखि नै छन्दमा आबद्ध हुनु चानचुने कुरा होइन ।

 

बाह्र वर्षको उमेर पार नगर्दै शास्त्रीय छन्दोबद्ध कविता सङ्ग्रह लिएर नेपाली साहित्यको मैदानमा उत्रन सफल बालकवि सुविनको छन्दप्रतिको लगाव, लगनशीलता र कविताप्रतिको समर्पणले नेपाली कविताप्रेमी, छन्दानुरागी मात्र नभई समग्र साहित्य क्षेत्रलाई नै एक पटक घचघच्याएको छ ।

बालकवि सुविन रिमाल ‘प्रशान्त’को प्रथम पुस्तकाकार कृति ‘फूलबारी’ कविता सङ्ग्रह को पाठक बन्ने सौभाग्य मिल्यो । सुविनको कोमल तर ऊर्जाशील बालमस्तिष्कबाट सिर्जित प्रस्तुत कृतिका शब्दशब्दमा हर्ष र गौरवले भरिएका नजरहरू नचाइयो । ती शब्दमा विचरण गरी गौरवले भरिएको एक छन्दप्रेमी हृदयको गर्वानुभूतिले मौन बसेर कृतघ्नता प्रकट गर्न किमार्थ मानेन ।फलत: कवि सुविन रिमालको फूलबारी कविता सङ्ग्रहप्रति पाठकीय प्रतिक्रिया व्यक्त गरी उनको सिर्जनशीलता र छन्दप्रतिको समर्पणलाई हौसला प्रदान नगरी पाठकीय कलम रोकिन मानेन ।

२) कवि सुविन रिमाल ‘प्रशान्त’ को छोटो परिचय

सुविन रिमालको जन्म माता सुमित्रा रिमाल र पिता विष्णु रिमालका प्रथम सन्तानका रूपमा वि.सं 2062 फागुन 14 गते विदुर न.पा. १२, चारघरे नुवाकोटमा भएको हो । सानै उमेरदेखि कथा,कविता सुन्न र पढ्न रुचि राख्ने सुविन आफ्नी माता चर्चित साहित्यकार सुमित्रा सुमी (रिमाल) का साहित्यिक कृतिहरूको अध्ययनबाट साहित्यिक क्षेत्रतर्फ निकै उत्साहित र प्रभावित थिए ।सानै उमेरदेखि संस्कृत शिक्षाको सकारात्मक प्रभाव, अभिभावक तथा गुरुहरूको प्रेरणाले छन्द कवितातर्फ आकर्षित भएका सुविनले नौ वर्षको उमेरदेखि नै छन्दमा कविता सिर्जना गर्न थाले । वि सं २०७२ मा नुवाकोट जिल्लामा आयोजित खुल्ला कविता प्रतियोगितामा उनको कविताले तृतीय स्थान हासिल गर्न सफल भएपछि उनी यसतर्फ थप उत्साहित र आकर्षित बने । एकपछि अर्को गर्दै निरन्तर शास्त्रीय छन्द र लोकलयमा सिर्जना भएका सुविनका रचनाहरू नुवाकोटबाट प्रकाशन हुने ‘युगान्तर’, चितवनबाट साहित्यकार तथा सम्पादक गोर्खेसाइलोको प्रधान सम्पादकत्वमा प्रकाशित हुने पल्लव साहित्यिक पत्रिका लगायत विभिन्न पत्रिकाहरूमा प्रकाशित भए । विभिन्न साहित्यिक कार्यक्रममा उपस्थित हुने गरेका सुविन विभिन्न साहित्यिक तथा अन्य सङ्घसंस्थाहरूबाट पुरस्कृत भइसकेका छन् ।

साहित्यप्रति उत्साह, ष प्रयासका साथै मातापिता, अग्रज, गुरुवर्ग तथा शुभ चिन्तकहरूबाट प्राप्त उत्प्रेरणाका कारण कवि सुविनले १२ वर्षको कलिलो उमेरमा नै आफ्नो प्रथम पुस्तकार कृति प्रकाशन गर्ने सफलता प्राप्त गरे । फलस्वरूप नेपाली साहित्यमा ‘फूलबारी” (कविता सङ्ग्रह) नामक छन्दोबद्ध कृति जन्मियो । उमेरले भरखर तेह्रौं वर्षमा हिँडिरहेका सुविन हाल शहीद जगत प्रकाशजङ्ग संस्कृत मा विमा अध्ययनरत छन् । उनलाई शास्त्रीय छन्दप्रति उन्मुख गराउने महत्वपूर्ण श्रेय संस्कृत शिक्षालाई पनि जान्छ ।

३) ‘फूलबारी’ कविता सङ्ग्रहका कविताहरूः

कवि सुविन रिमाल ‘प्रशान्त’को फूलबारी कविता सङ्ग्रहभित्र विभिन्न शास्त्रीय छन्द र लोकलयमा रचना गरिएका 39 कविताहरू सङ्कलित छन् । शार्दूलविक्रीडित छन्दमा विरचित ‘भूकम्प’ शीर्षकको कविता प्रस्तुत पुस्तकभित्रको प्रथम रचना हो । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिपछि सिर्जित सन्त्रस्त परिस्थितिको चित्रण गरिएको प्रस्तुत कवितामा प्राकृतिक विपत्तिले अनयौलग्रस्त बनेको मुलुकको अन्यौल हटाउन एकजुट हुन आह्वान गरिएको छ ।
शार्दूलविक्रीडित छन्दमा लिखित ‘मेरो मातृभूमि’ शीर्षकको दोस्रो कवितामा कविको आफ्नो जन्मभूमि (नुवाकोट) को प्राकृतिक, साँस्कृतिक गौरवको वर्णन गर्दै जन्मभूमिको उत्थानका लागि निरन्तर नव सिर्जनामा लाग्ने प्रतिबद्धता व्यक्त भएको छ ।

शार्दूलविक्रीडित छन्दमै लेखिएको तेस्रो कविता ‘त्रिशूली नदी’मा रसुवाको गोसाइँकुण्डबाट उत्पत्ति भई नुवाकोट जिल्लाका विभिन्न भागलाई छोएर बगेको त्रिशूली नदीको पौराणिक, प्राकृतिक महत्वको चर्चा गर्दै नदी झैं स्वच्छ विचारले स्नान गरी मनका विकार हटाउने इच्छा व्यक्त भएको छ । शार्दूलविक्रीडित छन्दमा रचित ‘जडिबुटीमा धनी’ शीर्षकको कविता विविध जडिबुटीबाट शोभायमान मातृभूमि नेपालभित्रका प्राकृतिक औषधीहरूको सदुपयोग गर्नुपर्ने भाव व्यक्त भएको छ ।
शार्दूलविक्रीडित छन्दमा रहेको ‘राम’ शीर्षकको कवितामा मर्यादापुरुष भगवान् रामको आज्ञाकारिता, भ्रातृप्रेम र सदाचारको वर्णन गर्दै रामका आदर्श व्यवहारहरूको अनुशरण गर्न आग्रह गरिएको छ ।

पञ्चचामर छन्दमा रचित ‘मेरो देश’ कवितामा मनोरम प्राकृतिक सुन्दरताले सुशोभित देश (नेपाल) मा फक्रँदो फूल झैँ रमाउँदै जिउने प्रतिबद्धता व्यक्त भएको छ । झ्याउरे लयमा लिखित कविता ‘आमाको चिठी’मा आमाले सन्ततिप्रति देखाउने चासो र चिन्ताका विषयलाई स्वाभाविक र सहज रूपमा प्रस्तुत गरिएको छ । अनुष्टुप छन्दमा रहेको ‘तिहार’ कवितामा साँस्कृतिक पर्व तिहारको सहज वर्णन गर्दै हृदयमा प्रेमरूपी बत्ती बालेर भावनात्मक तिहार मनाउन आग्रह गरिएको छ । झ्याउरे लयमा रचित ‘स्वच्छ वातावरण : स्वस्थ जीवन’ शीर्षकको रचनामा प्रदूषणमुक्त देश निर्माण गरी स्वच्छ जीवन शैली अपनाउन आग्रह गरिएको छ ।अनुष्टुप छन्दको ‘आमा’ कवितामा आमाप्रति सन्तानको श्रद्धा र ममतालाई भावनात्मक रूपमा प्रकट गरिएको छ भने झ्याउरे लयमा रचित ‘टुहुरो बालक’ कवितामा अनाथ बालबालिकाहरूप्रति सहानुभूति प्रकट गर्दै उनीहरूप्रति स्नेहपूर्ण व्यवहार गरिनुपर्ने विचार व्यक्त भएको छ ।

‘गुरु’ शीर्षकको कविता उज्यालो जीवन देखाइदिने गुरुवर्गको निरन्तर साथ र सान्निध्यको अपेक्षा व्यक्त गरी लेखिएको छ भने ‘इच्छा’ कवितामा शान्ति; विनम्रता र सदाचारका माध्यमबाट उज्यालोको खोजी गर्ने कविको इच्छा व्यक्त भएको छ ।’समय’ शीर्षकको कविता समयको महत्त्वको चर्चा गर्दै मूल्यवान् समयसँगै कर्तव्यपथमा समर्पित हुने इच्छा प्रकट भएको छ । ‘घर छोड्दा’ कवितामा परिवारजनबाट विछोडिएर दूर बस्ताको पीडाबोध व्यक्त छ । ‘देशको झण्डा’ चन्द्रसूर्य अङ्कित, वीरता र शान्तिको प्रतीक नेपालको राष्ट्रिय झण्डा समाउँदै पौरखी हातबाट परचक्रीहरूको उन्मूलन गर्ने वीरतापूर्ण भाव अभिव्यक्त छ । ‘दशैं आयो’ कविता साँस्कृतिक दशैँ मनाउँदाको स्वाभाविक बालउमङ्गमा आधारित छ भने ‘तिहार’ कविता तिहारको वर्णनमा आधारित छ । ‘गरिबको दशैं’ कवितामा गरिबी र अभावका बिचमा पर्व मनाउने वर्गको पीडालाई विषय बनाइएको छ । ‘बुद्ध तिमी’ शीर्षकको कवितामा शान्तिका प्रतिमूर्ति, नेपाल र नेपालीका गौरव गौतम बुद्धको प्रशंसा गर्दै उनको शान्ति, अहिंसा र मानवतावादको मार्ग रोज्ने कविको प्रतिबद्धता व्यक्त भएको छ ।

भुजङ्गप्रयात छन्दमा रचित ‘म बालक’ शीर्षकको कवितामा कवि एक आदर्श बालक बन्ने इच्छा प्रकट गर्छन् । ‘नेपाल’ कविता आफ्नो देशको मृत्तिकालाई गौरवान्वित बनाउँदै यहीँको प्रकृतिसँगै रमाउने कविइच्छा प्रकट भएको रचना हो भने ‘सुन्दर नेपाल’ कवितामा हिमाल झैं उच्च र झर्नाको पानी झैं स्वच्छ विचार लिएर ‘सुन्दर नेपाल’को नारा घन्काउने राष्ट्रवादी भाव अभिव्यक्त छ । “श्रम गर” मा आलस्य त्यागी कर्मवादी बन्न आग्रह गरिएको छ भने “युद्ध नहोस्” मा युद्धको मार्ग छाडी शान्ति र भ्रातृत्वको भावले बाँच्नुपर्ने सन्देश दिइएको छ । “सरस्वती वन्दना”मा विद्याकी देवी सरस्वतीसित ज्ञानको याचना गर्दै ज्ञान र चेतनाको उज्यालोमा बाँच्ने इच्छा व्यक्त भएको छ । ‘गुरुकुलमा हामी’ कवितामा सुरम्य वातावरण, अभिभावकतुल्य गुरुवर्गको छत्रछायामा गुरुकुल पाठशालामा बिताएका ज्ञानमय क्षणहरूको हार्दिक स्मरण गरिएको छ ।देशको माया गर्नु र सगरमाथातुल्य उच्च विचारले राष्ट्रसेवामा समर्पित हुनु नै नेपालीको कर्तव्य भएको राष्ट्रवादी विचार “देशको माया” मा व्यक्त भएको छ ।
झ्याउरे लयमा रचित ‘फूलबारी’ शीर्षकको कविता फूलबारीको मनोरम दृश्यको वर्णन गरी सुन्दरताप्रति कविको आकर्षण भाव व्यक्त भएको छ ।भुजङ्गप्रयात छन्दमा रहेको “किसान” कविता किसानको कर्मशील दिनचर्याको वर्णनमा आधारित छ भने “साउने झरी” मा वर्षा यामको वर्षा र झरीबाट जीवनयापनमा पर्ने प्रभावको वर्णन छ ।’दशैँ’ कवितामा दशैंको माहोलको चित्रण छ भने “खहरे खोला” कवितामा वर्षायामको उर्लँदो खहरेको विनाशकारी रूपको कवितात्मक वर्णन छ ।”राष्ट्रसेवक”मा सच्चा राष्ट्रसेवक बनेर जिउने कविको उच्च प्रतिबद्धता छ भने “म नेपाली” कवितामा आफ्नै देशको प्रकृतिसँग रमाउँदै देशप्रेमी बनेर बाँच्ने राष्ट्रवादी भावना कविमा रहेको छ ।

भुडङ्गप्रयात छन्दमा रचित “गरिबी” शीर्षकको कविता अभावग्रस्त वर्गका कष्टकर, सङ्घर्षपूर्ण र उपेक्षित जीवनको मर्म उतारिएको छ । उपजाति छन्दमा लेखिएको ‘वसन्त’ कवितामा वसन्त ऋतुको सुन्दरता वर्णन गर्दै अनेकतामा एकता खोजी देशलाई वसन्तझैं हराभरा पार्नुपर्ने सन्देश दिइएको छ । “नेपाल आमा” नेपालप्रति कविको भावनात्मक प्रेम प्रकट भएको छ । शार्दूलविक्रीडित छन्दमा लिखित “धर्म बचाऔँ” फूलबारी कविता सङ्ग्रहभित्रको अन्तिम कविता हो । विगतदेखि नै नेपालीको पहिचानका रूपमा रहेको हिन्दू धर्म र संस्कृति पछिल्लो समयमा केही दुर्जनहरूको चलखेलबाट प्रभावित भएको तर्फ चिन्ता प्रकट गर्दै उच्च अस्तित्वका रूपमा रहेका धर्मसंस्कृति र मौलिकताको रक्षाका निम्ति सचेत र सजग बन्दै तिनीहरूको जगेर्नामा लाग्नुपर्ने सन्देश दिइएको छ ।

४) ‘फूलबारी’ कविता सङ्ग्रहमा प्रस्तुत विचारः
‘फूलबारी’ कविता सङ्ग्रहभित्रका प्रत्येक कविताहरू सरल छन्, हार्दिकताले भरिएका छन् । कतै कविको बालसुलभ अनुभूतिका प्रतिविम्ब, कतै मातृभूमिको प्राकृतिक,
साँस्कृतिक गौरवको स्मरण त कतै प्राकृतिक विपत्तिका शब्दचित्रहरू चित्रित छन् । राष्ट्रवाद, प्रकृतिप्रेम, संस्कृतिप्रेम, मानवतावादको अभिव्यक्ति र अभावग्रस्त
जिन्दगीप्रतिको सहानुभूतिपूर्ण दृष्टिकोणको प्रस्तुतिमा कवि सुविनको बालमस्तिष्कले भ्याउनेभन्दा निकै बढी न्याय गरेको प्रतीत हुन्छ । ‘

फूलबारी’ कवितासङ्ग्रहमा राष्ट्रवाद छ । शान्ति, अहिंसा र मानवतावादका अभिव्यक्ति छन्, बालमस्तिष्कले भोगेको चाडपर्वको रौनकको प्रस्तुति छ । गुरुवर्ग र
अभिभावकप्रतिको श्रद्धाभाव अभिव्यक्त छ । एकता, सद्भाव र भ्रातृत्वका सन्देश छन् । जीवनप्रति सकारात्मक दृष्टिकोण छ, उज्यालो भविष्यको कामना छ । आशावादी
जीवनदृष्टिको अभिव्यक्ति छ ।कलासाहित्य सिर्जनाप्रति समर्पणभाव छ । अज्ञानको अँध्यारोबाट ज्ञानको उज्यालोमा लम्कले उच्च अभिलाषा छ । सनातन धर्मप्रति
श्रद्धाभाव र समर्पण छ भने सच्चरित्रता, अनुशासन र नैतिक स्वच्छताका सन्देश छन् । ‘फूलबारी’भित्रका कुनै पनि रचनामा न कुनै वर्गविशेषप्रति आरोपप्रत्यारोपका कटाक्ष
छन् न अहङ्कारको कालो धब्बा ! विषयवस्तुप्रति तटस्थ दृष्कोण पनि सुविनका रचनामा पाइने सकारात्मक पक्ष हो ।

सुविनका कवितामा १२ वर्षे बालकका बालस्वभावगत अभिव्यक्ति मात्र छैनन् बरु आफू बाँचेको धरातल र सिङ्गो जीवनप्रति जिम्मेवारीबोधका प्रकटीकरण छन् ।
तिनीहरूमा एक बालमस्तिष्कले देखेको सानो संसार पनि छ, सँगसँगै भविष्यको विशालता कोर्ने साकारात्मक प्रारूप पनि झल्किएको छ । जिम्मेवारीबोध छ :
ए साथी अब ता बच्यौँ सकसले बाँच्ने अझै धेर छ
रोजौं सीप नयाँनयाँ प्रकृतिका अन्यौलमा देश छ ! (पेज १)

सुविनका कवितामा जन्मभूमिप्रति आत्मीयता प्रकट भएका छन :-
मेरो जन्मथलो भनेर मनले सद्भाव पोखी अझै
बोलूँ मङ्गलगानका स्वरहरू साहित्यगामी हुँदै ! (पृ• ६)

पहाड नप्दछु अझै हिमाल त्यो चढीवरी
म राख्छु माथमा झनै नेपाल यो सधैंभरि (पृ• ६)

यौटा कुरा गौरवसाथ भन्छु
नेपाल भन्दै यहीं नै म मर्छु (पृ•३७)

माटो र ढुङ्गा छ यहीँ पियारो
हेर्दै म डुल्ने छु कुवा र धारो (पृ•२२)

कतै कवितामा ज्ञानको तीव्र भोक छ :
ज्ञानै हो प्राण ज्ञानै हो आत्मा बुझेर पढ्नू है
नगर्नू अल्छी श्रम झन् गर्नू अगाडि बढ्नू है (पृ• ७)

माताप्रति भावनात्मक श्रद्धा र प्रेमको गहन अभिव्यक्ति छ :
नहुँदा सुखमा आमा त्यो सुख दु:ख बन्दथ्यो
पाएर साथ नै आमा मलाई स्वर्ग यै भयो (पृ•१०)

उज्यालो जिन्दगीको कामना छ :
चन्द्रमाले अँधेरीमा ज्योति छरेसरि
उजेलीले अँध्यारोमा माया गरेसरि
रीसराग कलह यो सबै भुल्न सकूँ
बिहानीको घामजस्तै सधैं खुल्न सकूँ (पृ•१३)

दशा दैव उस्तो नदेऊ न याम
सधैं जून देऊ उता साथ घाम (पृ•२२)
म पीडा अनेकौं लगाऊँ किनारा
बनूँ भानुजस्तै सबैको सहारा (पृ•२१)

कतै वीरताले भरिएको अभिव्यक्ति छ :
सधैं रम्न पाऊँ समाएर झण्डा
छ बैरी भने हान्छु भाला र डन्डा (पृ•१६)

कर्मवादी दृष्टिकोण छ :
नङ्ग्राले भुईं खोस्रेर रोपेर पसिना अझ
उब्जाई अन्नका दाना बाँडी खान्छु सधैं म त (पृ•२४)
श्रम गरी आफ्नो बाटो खन्न सक्नुपर्छ
नेपालको माया गर्ने बन्न सक्नुपर्छ (पृ•२७)

शान्तिको आह्वान छ :
युद्धको चाहना छैन भन्दछौँ एक सम्मति
प्रेमका भक्त हौँ हामी शान्ति हो हाम्रो सम्पति (पृ•२४)

सुन्दरताप्रति आकर्षणभाव छ :
कोपिला झन् राम्रो लाग्छ काँडा अनि पात
कति राम्रो हुने रै’छ यो फूलको जात (पृ•२८)

कतै गरिबीग्रस्त नियतिप्रति चिन्ताको अभिव्यक्ति छ :
सधैं भोकले ग्रस्त भो जिन्दगानी
भनूँ के अझै ओतमा छैन पानी
कहीँ छैन आशा सबैमा निराशा
छ दिक्दारभित्रै हरायो भरोसा (पृ•३५)

धार्मिक, साँस्कृतिक सम्पदा र मौलिक पहिचानको संरक्षणको आहवान छ :
हाम्रो मौलिकता र सिर्जनकला सर्वस्व यै हो भनी
छोड्नै हुन्न कहीँ कसैगरी पनि अस्तित्व यै हो भनी !! (पृ• ३८)

५) अन्त्यमा
बाह्र वर्षको कलिलो उमेरमा नै शास्त्रीय छन्दोबद्ध कविता सङ्ग्रह प्रकाशन गर्नु आफैंमा एउटा महान् उपलब्धि हो । एक त प्रथम पुस्तकाकार कृति त्यसमाथि पनि उमेरगत अपरिपक्वताको सामान्य प्रभाव सुविनका रचनामा पर्नु अस्वाभाविक होइन तर उमेरका हिसाबले बाल्यावस्थामै हिँडिरहेका सुविनका रचनामा वक्रोक्ति, गहन विम्ब,प्रतीक, उच्च बौद्धिकता, वैचारिकता, उक्तिवैचित्र्य खोजेर कठोर समालोचकीय कलमको धारले निर्मम घोच्ने धृष्टता गरेमा त्यो अपराध हुन्छ । बालकवि सुविनको मष्तिष्क र चेतनाले भ्याउनेजति उच्च न्याय “फूलबारी” मा दिएको मान्न सकिन्छ । उत्तर बाल्यावस्था पार गर्दा नगर्दैको एउटा कलिलो बालप्रतिभाले शास्त्रीय छन्दमा कलम चलाउनु र “फूलबारी”जस्तो छन्दोबद्ध कविता सङ्ग्रह तयार हुनुले नेपाली साहित्यमा छन्द कविताको आयु सकिएको चर्चा गर्नेहरूका लागि गतिलो जवाफ मिलेको छ । उमेरको विकाससँगै सुविनका रचनाहरू स्वयं अझै परिष्कृत, परिमार्जित र परिपक्व बन्दै जाने कुरामा शङ्का छैन । सुविनमा सम्भावना छ, लगन छ, सिर्जनाप्रति समर्पण छ, सिक्ने प्रशस्त उमेर बाँकी छ । उज्यालो र छन्दमय भविष्यको बलियो आधार छ ।
छन्द कविताको खासै माहोल नभएको र छन्दप्रेमीहरू अल्पसङ्ख्यक रहेको र छन्दोबद्ध कविता सङ्ग्रह खासै जन्मन नसकेको नुवाकोट जिल्लाको साहित्याकाशमा सुविन रिमाल “प्रशान्त” जस्ता नक्षत्रको उदय हुनुले नुवाकोटका छन्दप्रेमीहरू त गौरवान्वित छन् नै ! तर सुविनको लगनशीलताले सिङ्गो नेपाली छन्द कविताचो क्षेत्रमा नै उज्वल भविष्यको सङ्केत गरेको मान्न सकिन्छ ।
उच्च उत्साह बोकेर छन्दकविताको महाभारतमा अभिमन्यु झैं होमिएका बालकवि सुविनले भविष्यमा थुप्रै भीष्म पितामह र द्रोणका चक्रव्यूह तोड्न सकून् । अध्ययन र बालसुलभ रञ्जनमा प्रभाव नपर्नेगरी निरन्तर साधना गर्दै अझै परिष्कृत र परिमार्जित कृतिहरू दिन सकून् ।उनको छन्दमय जीवनका लागि पाठकीय शुभकामना !!

 

जयदेव गोविन्द,
त्रिशुली, नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.