सन्जय भट्टराई का केही मुक्तकहरूः

Sanjaya, Bhattarai, सन्जय भट्टराई , pallawa, पल्लव

सन्जय भट्टराई

हावा चलेको छ मन्द, आँखा जुधे पछि
भईदियो सुनमा सुगन्ध,आँखा जुधे पछि
एउटा प्रश्न मथिङगलमा यसरी दौडिरहयो
कस्तो होला सम्बन्ध, आँखा जुधे पछि

के होला सम्बन्ध नसोधी भन्दियो कसैले
उत्तर के आउला नसोची भन्दियो कसैले
अन्तिम पटक अङ्गालो मा रोएर फर्किदै थियौ
क्या मिलेको छ जोडी भन्दियो कसैले ।

 

सुस्म छ सानो छ तर सारा संसार अटाएको छ
विश्वास भरोसा अनि बाच्ने आधार अटाएको छ
यसरी नै यी आँखाको प्रसंसा मा बोलिदियौ
माया अटाएको छ देशको आकार अटाएको छ

यिनका न त आँखा न त कान देखिन्छ
बहस शुन्य मात्रै कुर्सी हानाहान देखिन्छ
देश बनाउलान यिनले खोइ कसरी पत्ताउनु
सिहंदरबारमै स्याल को वथान देखिन्छ

रमाउने छ तिम्रो प्यारा तिमी मुस्कुराए
बग्न नदिई अश्रु धारा तिमी मुस्कुराए
छुट्टिएरै तिम्रो आँचल भरिन्छ भने
भई दिने छु दुरको तारा तिमी मुस्कुराए

न रिमोट भईदियो कसैको न यन्त्र भईदियो
काबु राख्न सक्ने न त कुनै मन्त्र भईदियो
आकाश छानो सडक घर ठाने जब देखि
बन्धन सारा टुटयो अनि मन स्वतन्त्र भईदियो

प्रेम थियो या उलझन पत्ता लगाउन
गर्नु छ छलफल गहन पत्ता लगाउन
प्रेमको अदालत मा पेसि तोकिए छ
पत्थर किन बन्छ मन पत्ता लगाउन

यो कुराको सबैमा ज्ञान हुनुपर्छ
दिल दुखेको पनि निदान हुनुपर्छ
घायल प्रेमिहरुको यस्तो माग छ
प्रेमको पनि अब विधान हुनुपर्छ

गाउँ तिर सुकुम्बासी झुप्रो मात्रै देख्छु
बजार भरी फोहोरको थुप्रो मात्रै देख्छु
युवाहरु बाध्यताले खाडी धाई रहदा
देश हाँक्ने प्रतिनिधि कुप्रो मात्रै देख्छु

अमृत हो या मन्द जहर म सोचिरहन्छु
जब आउँछ याद अक्सर म सोचिरहन्छु
धमनी छ्न शिरा छ्न रगत नि बगेकै छ
कसरी बन्ला यो मन पत्थर म सोचिरहन्छु

भोको पेट र नाङ्गो आङको उपचार भेटिदैन
समृद्धि अनि सुशासनको आधार भेटिदैन
महङ्गीले आकाश छुदाँ यस्तो लाग्छ आजकल
सिंहदरबार भित्र मात्रै बाँदर, सरकार भेटिदैन ।

न नुन चामल न त सिटामोल दिन्छ
न सडक न त विधुत तारपोल दिन्छ
समृद्धि को सपना देखाएर सरकारले
मात्रै निरासाहरुको माहोल दिन्छ

सन्जय भट्टराई
कावासोती-११ नवलपुर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.