‘हरियो कविता नलेख्दाको बकपत्र’

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

श्रीमान् , क्षमा पाऊँ
म स्वीकार गर्छु
अचेल म हरिया कविता लेख्न सक्दिनँ,
मैले आफ्ना कवितामा
वसन्तलाई सम्मान गर्नै सकिनँ ।

कलमहरू ओथारो बस्नै मान्दैनन् अचेल
न त मस्तिष्क नै गैरी खेत बनेको छ
विचारहरूका गालामा
शिशिरको शुष्क हावाले पटक पटक थप्पड हानिरहेको छ
न त जाँगरमा लटरम्म फल लागेको छ .

 


अहँ ! केही केही गति छैन
यस अघि द्रूत रफ्तारमा बग्ने शिराको रक्तनदीमा
जब तस्बिरमा देखेको हुँ,
बन्दुकको कठघरामा त्रसित बालकको निर्दोष मुहार ।
त्यसपछि कविता लेख्ने आँट आएन श्रीमान् ।

कागज मूर्धाशान्तिमा छ,
पटक्क बोल्न मान्दैन अचेल
सम्बन्ध विच्छेद भएको छ कलम र कागजको
द्वन्द्व छ आपसमा बेमेलको
न शान्तिको गीत लेख्न पाउँछ कलम
न बेदाग बस्न पाउँछ कागज
कलममा भरिएको छ सिरियाका बालकहरूको रगत
बाललका निर्दोष निधारमा टाँसिएको छ एस एल आरका चित्रहरू
अहँ सोच्नै सकेको छैन रसरागका बान्कीहरू
जब देखेँ,
बमले शरीरबाट अलग बनाएको
आफ्नी आमाको हात खाँदै गरेको
दुधे बालकको कहालिलाग्दो दृश्य,
हो, यसपछि हो मैले कवितामा इन्द्रेणी सजाउन छोडेको ।

घरका चेपचेपबाट चिहाइरहेको डर,
चिरनिद्रामा मस्त सन्तान बोकेर
भौँतारिएका हतास बाबा-आमाको छटपटी,
तस्बिरमा मुस्काइरहेका कलिला भविष्यहरू,
सपनाका थोत्रा पोकाहरू बोकेर भाग्दै गरेका ती गन्तव्यहीन यात्रीहरू
अक्सिजनका नाममा बारुदको गन्धले
मस्जिद पुग्दा पनि नछोडेपछि
अपरिचित ती तमाम मानिसको कसम,
जब चिचिला शवहरूको बिस्कुन देखेँ
त्यसपछि मैले हरियो कविता लेख्न नसकेकै हो श्रीमान् !

द्वारिका नेपाल,
भरतपुर-१०, चितवन
dwarikanepal32@gmail.com
कविता (०७४/११/३०)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.