“चिन्तन”

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

खै ! किन हो ?
आजभोलि आफैलाई
एउटा चिन्तनको घेरा भित्र
घेरिएको पाउँछु।
दबिएर रहेका छन् आफ्नै आकांक्षाहरू
जुन अझै दबिने क्रममा नै छ

मेरै देशका मानवहरूको भीडमा
हराएको आफ्नै मन आफू भित्रै
खोजिरहेकी छु ।

 

देखिरहेकी छु,
मानिसहरूले बेइमानी सित
नाम साटिरहेका छन् ,
इमानदारीताको पसिना
बिक्री गर्नेको मूल्य
यहीँ लुटिएको छ,
अस्तित्व बोधको ज्ञानबाट बञ्चित
खराब तत्वले
कुशलताको जरा काटिरहेका छन् ,
पलाउदै गरेको
नव पालुवाको मुन्टा
निमोठेर मिल्क्याइ रहेका छन् ,

यति देख्दा देख्दै मैले
मीठो फल फलाउने सपना देख्दै
मानवताको बीउ
आफ्नै बदनमा उमारेर
रोप्ने ठाउँ खोजिरहेकी छु,

आजै जस्तो लाग्छ,
हिजो अम्मलको तल्तल मेट्न
दस रुपैयाँ देउ न!
भन्दै हात थाप्ने वीर बहादुर!
गाउँ छोडेको बर्ष दिन नहुँदै
करोडौंको गफ चुट्दैछ।
चिया पसलमा बुढापाकाको
भीड लगाएकोछ,
हो हो रे मा बाहरूले ताली पिट्दैछन् ,
हो हाम्रो समाज यस्तै छ ,
बलेको आगो मात्र ताप्छन्
तर दाउरा कहाँबाट आयो?
कति भारी बल्यो ?
कसैलाई चासो छैन ।
निभेको धुनीमा दाउरा झोसिदैन

यता म भने
फेरि वसन्त आउनेछ
नयाँ पालुवा पलाउनेछ
बर्षौं देखिको कुरीती हट्नेछ
तिमी,म र ऊ बिच समानता हुनेछ
र यो सन्नाटामय परिवेश पछि
झलमल हुनेछ भन्ने आशा बोकेर
यही शिक्षा लिदाँ र दिदैंमा
बर्षौ देखि जहाँको तँही छु
हो जहाँको तँही छु
सायद निस्कनै नसक्ने गरि दबिएकी छु ।

अम्बिका सर्लाही हाल चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *