‘उभिएर आगोमाथि’

Spread the love
Milan, Samir, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

मलाई
स्वार्थको सप्तरङ्गी इन्द्रेणी शीरमा सिउरिएर
बरालिनु छैन दासताको फुलबारीमा
दन्किएको आगोमाथी
अविरल अग्रगामी पाइलाहरु चाल्दै
सुनिश्चित गन्तव्यलाई पछ्याएर
अगाडि बढ्नुछ – आजीवन
र निर्धक्क भएरै लेख्नुछ – निरन्तर
म र मजस्तै असङ्ख्य भुइँमान्छेहरुको
जीवनजस्तै कविता ।

 

चटक्कै बिर्सिएर वास्तविकता
भ्रमलाई यथार्थ र यथार्थलाई भ्रमको
गाढा रङ्गीन बाक्लो पर्दा लगाईदिएर
स्वयम आफैंलाई ढाट्दै
तन्नेरी सौन्दर्यको चहक
र त्यसको असीम बासनासङ्गै फुल्ने
रङ्गीन रातरानी बैंशालु फुलहरू
अमुर्त हिमाली हासो/चराहरुको कलरव
अनि बैंशजस्तै बगेर जाने
आधीखोलाको कलकलका कुराहरू
लेखेर समेटिनु परेको छैन
तिम्रो सुगारटाई कविताको
कथित परिभाषाको जन्जिरभित्र ।

दन्किरहेको आगोमाथि उभिएर
निर्धक्क भई लेख्नुछ – निरन्तर
समय र परिस्थितिले दिएको
गहिरो चोटले रन्थनिदै
बिक्षिप्त भएर – ज्युनुको नाममा
एकमुठी परान बाकी रहेका
भुइँमान्छेका मौनतारूपी
बुलन्दित युगीन आवाजहरूसङ्गै
स्वाधीनताको राग अलापेर नथाक्ने
चरम लम्पसारवादी
तिम्रै पराधीन सोच,साघुरो चिन्तन
र हदैसम्मको निकृष्ट व्यवहारले
आजित भएरैपनि – प्रतिकार स्वरुप
केही गर्न नसकिरहेको/म र मजस्तै
असङ्ख्य भुइँमान्छेका असैह्य पीडा
अनि थकित सुस्केराहरू !
डामेर छोडिएको कलिलो बाच्छोजस्तै
साढेको जुधाइमा मिचिएर
कुटिल व्यवहारको तीखो सिङले/हिर्काएर लखेटेपछि
शहर पसेको चरम उदासीसङ्गै
गाउँ छिरेको महाशुन्यताको
तीतो तर सत्य कुरा लेख्नुछ – निरन्तर !

रोम जलिरहेझै/जलिरहेछ – अहिलेपनि
संक्रमणकालीन समयको सीमाहीन विस्तारसङ्गै
कठै!मेरो सिङ्गो देश/र बासुरी बजाईरहेछ – नीरोलेझै
यो देशको अल्जाइमरले ग्रस्त
बहिरो बूढो शासकले – यतिबेला
चुपचाप ,स्वयम आफैंमा निमग्न भएर ।
उसलाई कुनै मतलव छैन
रेगिस्तानबाट काठको बाकस
कति आए अहिलेसम्म
र किन अझैपनि रोकिएको छैन
त्यो आउनेक्रम ?

– मिलन समीर,
करादी खोला, स्याङ्जा ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *