डा.भीम खतिवडा का केही टुक्राहरूः

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

आमाको ममता भुलेर धनमा चुर्लुम्म डुब्ने मन
आमाका सपना मिचेर बलले स्वार्थी हुँदै दिन्दिन
हाँस्ने सन्तति, मातृ-अश्रुरहमा कैल्यै नहूँ पौरने
माता-तीर्थ पवित्र देव हुनुको सौभाग्य पाऊँ सधैँ ।

भुलाएर सारा, कुराएर धेरै
चिनायौ मलाई रँगाई सबेरै,
सुनौला बिहानी कहाँ भेटिएला
बिसायो गुनासो रहरले मनेरै ।

 

खोजी अक्षरका मोती माला सुन्दर बुन्दछौ,
मालामा जिन्दगी-गाथा कृतिकै साथ उन्दछौ,
प्रेरणा सिर्जनाको यो, इन्द्रेणी स्वप्नको कला,
भलै कठिन होस् साथी! मार्ग सार्थक चुन्दछौ ।।

माटोसँग मुटु जोड्ने राष्ट्रभक्त आऊ!
मेची-काली कल्कलाउने मीठो गीत गाऊ,
उज्यालोको यात्रा तिम्रो समृद्धिको स्वप्ना
पूरा गर्ने देशभक्तिको भावमा रमाऊ !!

माटो-पानी जिन्दगानी मनले भन्छ भने,
स्वाभिमानी हिमाल शिर आफ्नोपन छ भने,
आऊ बोल कृष्णसँगै कथा नेपालको,
हामी रहनेछौं हाम्रो श्वास रहन्छ भने ।

सबै मनलाई मीठो मीठो शर्कराको स्वाद,
हाम्रै घरको आँटोपिठो शर्कराको स्वाद,
स्रष्टा! तिम्रा अक्षरले समयलाई बोकून्
सँगै लिऊँ आऊ छिटो, शर्कराको स्वाद !!

छ आस्था श्रमी जिन्दगीमा, छ मर्म,
अनास्था छ आलश्यमा, सत्यधर्म,
जुनेली, चमेली कहाँ वैजयन्ती
सधैं फुल्दछिन्, खोल्दछिन् शब्दधर्म !!

पुराना कुरामा छ निसन्देह माया,
नसम्झे नि आँखाभरि व्याप्त छाया,
सधैं सिर्जनामा कमल-कर्म मीठो,
कलमले सुनौलो बुनोस् शब्दकाया ।

खुसीका निम्ति इन्द्रेणी आँखामै नै हुनुपर्छ र!
सम्झी अतीत सप्पैले धर्धरी रुनुपर्छ र!
कर्म जो गरिए राम्रा तिनै हाम्रा बनून् स्मृति
धर्तीका फूलले हाँसे आकाशै छुनुपर्छ र !

(अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा)
छाआेस् मङ्गल दु:खमुक्त महिला हुन्, प्रेरणाधार हुन्
हाम्रा हार्दिक भावना अमल हुन्, सद्वृत्ति सञ्चार हुन्,
मात्रै छन् अधिकार कागजभरी पाऊन् सबै क्यै गरी
जागौँ है, शुभकामना सुदिनको दिन्छौँ मुरीका मुरी!!

डा.भीम खतिवडा
धरान
drbkhatiwada@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.