पार्वती भट्टका केही मुक्तकीय टुक्राहरूः

Spread the love
Parbati, Bhatta,पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

भन्ने त के के पो भन्छन् सकिन्न, भन्नेका पछि लाग्न
सकिन्न कम्जोरी खोट्याई औँलामा, गन्नेका पछि लाग्न
समाजको कामै त हो नि दुखमा उडाउने,सुखमा गुडाउने
तब त सकिन्न बिनाकारण खोइरो, खन्नेका पछि लाग्न ।

जिन्दगी
जे जे आई पर्छ जिन्दगीमा सहन्छु, सहनु हो जिन्दगी
सकिन्न गुम्सेर बस्न कहन्छु ,कहनु हो जिन्दगी
नदी,समुन्द्र,खै!के केसँग, पोखिन मन लाग्छ नि जब
आफ्नै भावका तरङ्गसित वहन्छु,वहनु हो जिन्दगी ।

 

बजार भरी नै छ चर्चा अचेल ती नाकाबन्दीका कुरा
बिर्सेका छैनन् अरे जनताले अझै यी बेसार हल्दीका कुरा
साँचो धोती टोपी पहिरन पगरी बुझिनसक्नु छ यहाँ
मधेस अनि मोदीवली सम्बन्ध सम्झौता जल्दीका कुरा ।

थोरै खुशी बाँट्न मन छ जिन्दगीका पानासित
प्रेम रस साट्न मन छ यहाँ पाथी मानासित
न कसैको स्याहारसुसार न स्वामित्व हुँदा
वनखी चरी वनमै रम्छे यी प्राकृतिक दानासित ।

पुकारा नसुन्ने मुर्तिवाल भगवाको मन्दिरमा धाउनुको के अर्थ
समर्पण बिनाको श्रीखण्ड घोटेर तक्दिरमा लाउनुको के अर्थ
भक्तहरुका लागि मात्र रमाउँछ घण्टी समाउँछ पुजारी भने
मन रङ्गहिन भई उडेका बेला निधारको अबिरमा छाउनुको के अर्थ …?

जिन्दगीले आफैंसित घात गर्यो अनि रोएँ
रहरसितै ईच्छाको त्यो चाङ मर्यो अनि रोएँ
सुम्पेकी छु सारा जीवन जसका खातिर उही
यहाँ भावनामा चोट पुर्याई पर सर्यो अनि रोएँ ।

सोचे जस्तै हरेक जीवन हुने भएदेखि
कल्पनाले आकाशको जून छुने भएदेखि
दुनियाँमा बाहिरिनुको के नै अर्थ भो र ?
दुखेजति हरेक आत्मा रुने भएदेखि ।।

सन्तान बिराना हुन्छन् पखेटा पलाए पछि
बा’आमा भुङ्ग्रो झैँ लाग्छन् मुटु नै जलाए पछि
उर्वरता कसरी बाँच्ला डढेलो लाग्दछ जब
जम्दछ ढुङगो झैँ मन हिउँले गलाए पछि ।।

Parbati Bhatta

Leave a Reply

Your email address will not be published. Required fields are marked *