‘कविधर्म’

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

साहित्यका साधक विज्ञ सज्जन
ए छात्रछात्रा कलमी सुधी मन
होस् शुद्ध साहित्य मिठासिलो पनि
विवादमा फस्नु हँदैन लेखनी 01

होस् मिष्ट शैली अनि शुद्धता रहोस्
सामान्य भाषा तर भाव उच्च होस्
आफ्नो धराको प्रतिविम्ब देखियोस्
सुहाउँदो कथ्य टिपेर लेखियोस् 02

 

फस्तै नफस्नू कवि चाकरीतिर
सत्तार्चनामा नझुकाउनू शिर
निन्दा रचेमा कविधर्म मर्दछ
छाडापनाले कविता बिगार्दछ 03

तटस्थता होस् कविको विचारमा
गम्भीरता होस् तर भाव सारमा
यथार्थका रङ्ग मिलून् सधैंसधैं
हून् कल्पनाका चटनी कतैकतै 04

लेखाइमा हार्दिकता सजाउनू
थोरै सके बौद्धिकता मिसाउनू
आऊन् मिली ज्ञान विचार दर्शन
चाहिन्छ थोरै उपदेश रञ्जन 05

होस् छन्द चाहे कविता कि गद्य होस्
तथापि मीठो लयले सिँगारियोस्
निबन्ध आओस् बरु काव्य झैं बनी
निबन्ध झैं काव्य नहोस् कतै पनि 06

च्यातोस् कसैले कि पढोस् खुसीसित
पर्वाह छाडी कवि हून् समर्पित
कोही नहालोस् जगभित्र बिस्कुन
त्यो सूर्य छाड्ला कहिले उदाउन 07

स्रष्टा जहाँ अक्षर मात्र गन्दछ
त्यो लेख फोस्रो गफ मात्र बन्दछ
होस् साजसज्जा उपयुक्त ठाउँमा
प्रौढोक्ति आऊन् हर पाउपाउमा 08

गङ्गा बगे झैं कवि कुद्नु पर्दछ
अन्याय धब्बासित जुध्नु पर्दछ
जस्तै नदी पार्छ हराभरा जग
त्यस्तै सदा हून् कवि मार्गदर्शक 09

होस् ज्ञानदायी कविको सदा मन
उमङ्ग आशा र गभीर चिन्तन
मिठो सकारात्मक सोचले चुमोस्
दिमागमा विश्व अटाउँदै घुमोस् 10

आशा निराशा र उमङ्गका कुरा
या यौनचर्चा रसरङ्गका कुरा
शृङ्गार वीरत्व कि हास्य रौद्रता
आनन्ददायी रस हून् जतातता 11

शालीनता हो कविलेखनी कडी
वैचित्र्य हो कथ्य सिँगारिने मणि
शृङ्गारका साधन हुन् कलालय
हो दिव्य भित्री मुटुतुल्य ‘आशय’ 12

काव्यांशको वर्णन वक्र लेखियोस्
थोरै सके प्राकृत विम्ब घोलियोस्
होस् काव्य घुम्तीपथ झैं घुमाउरो
तथापि छुट्तै नछुटोस् चुरो कुरो 13

नहून् कुनै पक्ष-विपक्षमा कवि
होस् सिन्धुजस्तै तिनको सदा छवि
उत्प्रेरणा स्रोत बनी समाजका
गन्तव्य कोरून् नित भोलिआजका 14

दुष्पात्रमा व्यङ्य विरोध पोखियोस्
प्रतीक या विम्ब लिएर घोचियोस्
चसक्क घोचोस् कविता सियो बनी
आनन्द मानोस् तर घोचिने पनि 15

बगोस् मसी राष्ट्र दिगो बनाउन
कोही नलेखून् उपनाम पाउन
माग्दै भिखारी पथमा डुलेसरि
माग्ने नहून् सर्जक याचना गरी 16

उन्माद निन्दा कविका अधर्म हुन्
सङ्कल्प इच्छाबल पुण्य कर्म हुन्
स्वनामधारी हुनु हुन्न सर्जक
‘गुलाम’ हुन् शासकका उपासक 17

गरोस् कसैले उपहास या जय
स्रष्टा मसीमा हुनु पर्छ तल्लय
चाहे मिलोस् केवल आत्मरञ्जन
होस् साधनाले भरिपूर्ण जीवन 18

छन्द:- उपजाति
○ अभ्यास मिति : 01 जेठ 2075 मङ्गलबार
( टङ्कण गलत भएमा सुझावको अपेक्षा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *