बिहान चाँडै ब्युझेर घर आँगन बढारी।
सदैव माग्छिन् घरमा सान्ति देउता पुकारी।।
बिहान साँझ धाउछिन् गाग्री बोकेर पधेंरी।
रमाइ हिन्छिन् न्याउली सँगै गाँसेर मितेरी ।।१।।
बिरह पोख्दै मनका भाका सुसेली गाँउछिन्।
नभोक प्यास भनेर सधैं काममा धाउछिन् ।।
फर्किन्छिन् साँझ घरमा भारी बोकेर घाँसको।
जिउछिन् यहाँ जिन्दगी बरै बुहारी दासको ।।२।।
जाँदैन दुःख कहिल्यै हेर बिलौना पोखेर ।
सासुले दिन्छिन् अनेक दोष बुहारी तोकेर ।।
गुनासो पोख्छिन् छोराको सामु दिएको खाएन ।
सासुले भन्छिन् बुहारी मैले लक्षिन्की पाएन ।।३।।
बुहारी लाई छोरीझै आफ्नो कहिल्यै मानिन्न ।
म पनि हिजो बुहारी थिए सासुले ठानिन्न ।।
आजका छोरी जानुछ भोलि बुहारी बनेर।
के मिल्छ भन बुहारी सासू झगडा गरेर ।।४।।
चलाउ दुवै जीवन आफ्नो भावना बुझेर।
मिल्दैन केही दुनिया सामु बुहारी हेपेर ।।
दिएर पीडा मुहार उस्को नधुनु आँशुले।
सम्झनु छोरी सम्झनु आमा बुहारी सासुले ।।५।।
चंद्रिका बिरही बेदना
उदास बस्ती डडेल्धुरा
