“अन्तर्सञ्जाल”(इन्टर नेट)

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्णशरण उपाध्याय

अन्तर्सञ्जाल ले नै कति घर घर मा,बन्धु नाता जुरायो ।
अन्तर्सञ्जाल ले नै कति घर घर का,बन्धु नाता हरायो ।
कोही लाई मिलायो कतिपय घर मा,फेरि आगो लगायो ।
बच्चा बूढा युवा को धन मन यसले,बेस्सरी खानु खायो ।।

छोराछोरीहरू छन् घर भरि तर ती, भिन्न संसार मा छन् ।
आमाबाबा दुवै छन् अलग अलग छन्, मौन संसार मा छन् ।।
पैले झैँ छैन हाँसो मधुरतम खुशी, छैन उस्तो उमङ्ग ।
कोही राख्दैन चासो घर-परिजन को, छैन मीठो प्रसङ्ग ।।

 

को हुन् को हुन् कहाँ का अपरिचितहरू, लाग्दछन् दाजुभार्इ ।
आफन्ती बन्धुनाता निकटतम सबै , बन्न थाल्छन् पराई ।।
लोग्ने छन् व्यस्त हुन्छन् नवपरिघटना, जान्न सञ्जाल भित्र ।
पत्नी झन् मस्त हुन्छिन् शय थरि गहना, छान्न सञ्जाल भित्र ।।

हुन्थ्यो कस्तो खुशी को पल जब पहिले, पाहुना आइदिन्थे ।
खेलौना वा मिठाईं किसिम किसिम का, साँझमा ल्याइदिन्थे ।।
बस्थे सारा पिँढी मा अतिथि सँग, बुबा भन्न थाल्थे कहानी ।
बच्चाबच्ची सबै नै गजब सँग त्यहाँ , सुन्दथे चाख मानी ।।

तेस्तो निर्दोष लाग्ने सरलतम कुरा , देख्न पाइन्न आज ।
आत्मा मा प्रेम जाग्ने गहनतम कुरा, सुन्न पाइन्न आज ।।
हाँसेको हुन्छ मान्छे तर कुटिल छ ऊ, बुझ्न गाह्रो छ आज ।
नाचेको हुन्छ मान्छे तर जटिल छ ऊ, जान्न साह्रो छ आज ।।

शिक्षा दीक्षा छ राम्रो सब तिर अहिले, किन्तु केही कमी छ ।
ठूलो मस्तिष्क, सानो हृदय छ जन को,चे तना मौसमी छ ।।
के ले एस्तो गरायो किन मनुज खस्यो, उच्चता बाट आज ?
अन्तर्सञ्जाल भित्रै किन मनुज फँस्यो, खोल कोही त राज !!

छन्द: स्रग्धरा
देवघाट, चितवन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.