“नेपाल चाहिन्छ है”

Spread the love
Ganesh, Atreya, गणेश अत्रेय, pallawa, पल्लव

गणेश अत्रेय

हीरा स्वर्ण मुगा र रत्न गहना चाँदी म चाहन्न क्यै ;
दामी रेशमका लुगा मखमली शृङ्गार चाहिन्न क्यै |
मीठो वैभव सौख्य सम्पति मजा आनन्द चाहिन्न क्यै ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०१||

इच्छा छैन विदेशका रहरिला रोमाञ्चकारी -स्थल ;
डुल्ने चाह भएन विश्वभरका ती रञ्जनाका-स्थल |
छोडी देह अमर्त्यलोक अथवा वैकुण्ठ चाहन्न है ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०२||

 

ठूला भव्य तलै तला भवनका दर्बार चाहन्न म ;
चारैधाम अनेक तीर्थ अरुका ती देशमा जान्न म |
मीठो होस् जति नै विदेश तिरका खाना म ता खान्न है ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०३||

छ्द्मी शासक झैँ बनेर रमिते नेता म ता हुन्न है ;
कस्ले सुन्छ र?छन्द काव्य कविता त्यो मञ्चमा हुन्न है |
नेपाली जनता परस्पर मिलुन् यै मात्र इच्छा छ है ;
नेपालीपन जन्मजात मनमा नेपाल चाहिन्छ है ||०४||

छन्द: शार्दूलविक्रीडित
गणेश आत्रेय, शङ्करनगर,२०७५/१०/२९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *