नारायण नेपालका केही टुक्राहरूः

Spread the love
Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

चमेलीसित मागेथेँ सुगन्ध यसरी दिइन् ।
ममा सुगन्ध छर्केर मलाई तन्तनी पिइन् ।।
अबदेखि चमेली र म दुवै एउटै भयौँ ।
सामान्य जीव हौँ हामी प्रेमले देउतै भयौँ ।।

यी कोइलीस्वर उनै हरिबाँसुरी हुन्
यी कोपिला कुसुमका मनमाधुरी हुन् ।
लीला अखण्ड छ उही नव दृष्टिमात्रै
सौन्दर्य सङ्गति उही नव सृष्टिमात्रै ।।

 

घृणा पस्किँदै छौँ मिलाएर छन्द
कि आक्रोश पोख्छौँ, खुसी मन्द-मन्द ।
कि आलोचना याचना सम्झना छन्
यिनै काव्य हुन्छन् यतै साधना छन् ।

कुरा हुन् उनै गाउँदा गीत हुन्छन्
नदी तेजिला वीरसङ्गीत हुन्छन्
उनै शब्द हुन्छन् उनै भावझैँ झन्
नयाँ नाम आकारका काव्य बन्छन् !!

ए साथी ! म दिँदै छु नित्य पहरा यो स्वत्व जोगाउन
तेर्सिन्छन् तर लाखलाख पहरा यो दृष्टि मैल्याउन ।
तिम्रो रूप हराभरा हरघडी हेर्ने छ इच्छा ममा
भै निष्पाप हराउँला म युगको सूर्यास्तमा अन्त्यमा !!

सुनाखरीका सपना सजाउँदै
विपद झरी बादल गुन्गुनाउँदै
प्रकाशका पायल छम्छमाउँदै
म फर्कीआए घर चम्चमाउँदै ।।

आहा ! पीपलपालुवा हृदयमा सल्काउँछन् मोहिनी
यो बत्ती अविराम हुर्किन सके सर्थ्यो यतै लुम्बिनी ।
बर्सन्थ्यो अमरावतीरस -सुधा पग्रेर कादम्बिनी
उघ्रन्थी कविता बनेर सविता आकाशलाई चिनी ।।

आऊ जङ्गलमा गरौँ गजलको खेती चराले सुनून्
हाम्रो रोदन मुस्कुराउँछ भने हाँसी धराले सुनून् ।
छौँ हामी अब कर्मको चरणमा पाखा-गराले सुनून्
फल्नै पर्दछ पौरखी कुसुमले टुप्पा-जराले सुनून् ।।

छन् बाधाव्यवधानका जति हुरी छेकेर देखाउँला
सिङ्गो राष्ट्र मभित्र बाँच्दछ भनी लेखेर देखाउँला ।
होचो छैन म कर्मले, समयको पर्दा खस्यो छेकिएँ
सत्सङ्कल्प छ लक्ष्यको शिखरमा टेकेर देखाउँला ।।

थियो रात सन्देहले पूर्ण कस्तो
खुल्यो आज आकाश खुल्दैनजस्तो
डराएर भन्छौँ त्यसै ‘हुन्न’ हामी
गरे आँट सम्भावना खुल्छ दामी ।।

हाम्रा वसन्त हँसिला शिशिराउँदै छन्
सन्देह कल्पतरुमा पिपिराउँदै छन्
छन् शुष्क साउनहरू चहराउँदै छन्
आनन्द छन्द नमिलेर हराउँदै छन् ।।

नारायण नेपाल
दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *