‘रवि र कवि’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

हे रवि !
तिमी, माथि आकाशमा छौ
म, तल पृथ्वीमा
तिमी जे देख्छौ
म देख्दिन
म जे देख्छु
तिमी देख्दैनौ
देख्नुपर्छ तिमीले
जे म देख्छु
देख्नुपर्छ मैले पनि
जे तिमी देख्छौ
रवि

 

!
तिम्रो उषाकालीन लालिमामय किरणमा
अन्ध आँखा
बन्द विवेक भएका जनमनहरू
जहाँ अन्धविश्वासका अँधेरा आँखा छन्
विवेकहीनताका डरलाग्दा खाल्डा छन्
विषम र विभेदका कहालीलाग्दा
लक्ष्मणरेखाहरू छन्
यिनलाई छात्तीमा टाँसेर
तकमा भिर्न इच्छुक
अनेकौ कङ्सहरू
जो महिनावारीका नाममा
चेलीचित्कार
गोठगोठमै मारीरहेछन्
भोका पेट
सारङ्गी रेटिएका असङ्ख्य आर्तहरूलाई
बारुदको आगोमा जलाईरहेछन्
हे रवि!
आऊ, तिमी र म एउटै यात्रा गरौँ
अन्धविश्वास विरुद्धको यात्रा
भोका पेट विरुद्धको यात्रा
देश विरुद्ध लाग्ने विरुद्धको यात्रा
चेतना चमत्कारयुक्त यात्रा
जसमा म जे देख्छु
तिमी त्यही देख्नेछौ
तिमी जे देख्छौ
म त्यही देख्नेछु
त्यो सुन्दर समय
चेलीहरू
प्राकृतिक नियमानुसार घरमै
आरामको नीद सुतेर आँखा उघार्छन्
भोका पेट चारो टम्म भरेर
जीवन रथ-पाङ्ग्रा चलाउँछन्
अन्धविश्वासका आँखाहरू
अँधेरो पर्दामै छोपिन्छन्
तिमी,ममा र
म, तिमीमा एकीभूत हुनासाथ
सुन्दर सगरमाथा शिर बन्छ
शीतल हिउँ मन बन्छ
यस पवित्रताको पटाङ्गिनीमा
न कोही रुन्छ
न कोही रुवाउँछ
समताको सौन्दर्य फिँजाएर
अनन्त हिड्न
आऊ, तिमी चेतना फैलाऊ
म, श्रमका हात उचालेर
पर्वत ओर्लन्छु तराईतिर
तराई, उक्लन्छु पहाडतिर…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.