राजेन्द्र घायलका केही मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

हामीहरू कहिल्यै जुट्न सकेनौ
त्यही भएर माथि उठ्न सकेनौ
पट्पटी चर्की फुट्यौं धाँजा फाटेर
एकताको मूल भै फुट्न सकेनौ ।

धेरै पछि बन्द हुँदा लाग्यो चाड आए जस्तो
थकीत यो शरीरले अढेश आड पाए जस्तो
घडी पनि हेरिएन अफिस ड्रेस नि फेरिएन
बेफुर्सदी जिन्दगीले पल्टिने टाँड पाए जस्तो ।

 

बैगुनीलाई गुनले मारेका रे
आफ्नो नाक ठूलो पारेका रे
अभिनन्दनको पगरी गुथाएर
मोदी दाजैको शेखी झारेका रे ।

ठूलालाई काखी च्याप्छ
सानाको घाँटी ङ्याक्छ
कस्तो कानून बनेछ यहाँ
देख्दा बडो उदेक लाग्छ ।

सिण्डीकेटको पगरी गुथेर खाए
नेपाल र नेपालीलाई लुटेर खाए
भ्रष्ट, दलाल र तस्करहरू मिलेर
आमाको आँसुमा भात मुछेर खाए ।

गाडी नचलेर अफिस नगा’को
काव्य गोष्ठीमा निर्णायक भा’को
यतै साहित्य अनि त्यतै साहित्य
मुनाफा रहित सेवा क्या मजाको

उनी आएर पो जीवनमा रोशनी आयो
अपूर्ण हाम्रो जीवनले पूर्णता पायो
सुखदु:खका सहयात्रा जीवनको गोरेटो
अभावहरू चुँडाल्दै ज्यूँने इच्छा जगायो ।

काम गरेर खान्छु भन्दा नि अनेक झमेला आइपर्ने
पापीले लखेट्छन् सोझालाई विदेश नगएर के गर्ने
गरेर खान्छु भन्नेलाई काम गर्ने वातावरण दिलाऊ
जनतालाई नतड्पाऊ सरकार कि ओखती देऊ मर्ने ।

कुल्लीले खनेको बाटोको कुल्लीबाटै उद्घाटन गरिनुपर्छ
भवन बनाउने मजदुरको नाम शिलालेखमा लेखिनुपर्छ
मन्त्री, नेता, मालिक वा ठेकेदारहरूको मात्र चर्चा किन
बोलीमा हैन ब्यवहारमा मजदुरको सम्मान देखिनुपर्छ ।

भूकम्पले ल्याएको आत्मीयता
अहिले अस्तायो कता कता
लोभको धरहरा ठडियो फेरि
मानिस हुनुको यो विशेषता ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.