काठको फलेक

Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

आँगनको एक छेउमा
उसैगरि बसेको छ
आँपको बोटसंगै टाँसेर बनाएको
एक जोर कुर्सीको विकल्प
काठको फलेक !

त्यो आसन स्थलभरि
ज्यादा अचेत !
कम चेत ! किरा मिश्रित
आँपको मुजुरा र धुलोको
एक पत्र लागेको छ !

 

आँपको बोटमा झुन्ड्याईएको
रेडियोको विस्तारसंगै
बिहानको झुल्के घामदेखि
बेलुकीको जुनसम्म
आगन्तुकको
आवत – जावत् क्रमसँग
किस्ता – किस्तामा
चियापानिका खाली गिलासै गिलासले
भरिन्थ्यो त्यो फलेक !

आँज धेरै दिनपछि
ढोकाको संघारबाट
नियाली रहेछु – म
काठको खाली फलेक !
र,
फलेकसंगै टाँसिएको
त्यो परिपक्व आँपको रुखसंग
एकपटक सोध्न मन लाग्छ –
तिम्रो फेदमा ढलीमली गर्ने
त्यो मान्छे खोइ ??

प्रतिउत्तरमा –
एक झोक्का हावा सुस्सायो
भर्रर झरे आँपका फूलहरु ! पातहरु !
चिर्रविर्र गरे हाँगा हाँगामा बसेका पन्छी !
तथापि,
मैले त्यो खाली फलेक आँखाभरि हेरिरहें
र,
परेली बन्द गरें
तप तप झरे स्मृतिका वुँदहरु !
बगिरहदा निरन्तर
मैलें हत्केला थापें
अञ्जुलीमा चम्कियो एउटा -विन्दु !
नजर दगुरेर आँपको फेदमा अडिए
त्यहाँपनि एउटा तेजस्वी विन्दु !
चम्किरहेको थियो
झल्मल्ल थियो काठको फलेक !
त्यो विन्दु त्यतिखेर मेरो हातमा थिएन !!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.