होस् विद्यालय जिन्दगी दिनदिनै नौला कुरा जानिऊन्
लागोस् चेत नवीन आँकलनमा आँखा उतै तानिऊन्
जिज्ञासा मनमा नयाँ उठिरहून् सिक्ने र जान्नेगरी
आऊन् उत्तर लोकले निमिषमै स्वीकार्य मान्नेगरी १ ।
होऊन् आर्जन लाज छोप्न सकिने या भोक भाग्नेगरी
थैली,भूमि नथुप्रिऊन् कलुष झैँ आक्षेप लाग्नेगरी
त्यस्तो चैन नहोस् बिजोग रमिता हेरेर बस्नेगरी
दर्जा मान नहून् सखा-स्वजनको अस्तित्व खस्नेगरी २ ।
जन्मून् शास्त्र परोपकार,हितका सिद्धान्त चर्चा हुने
पूजा हून् फलवस्त्र भोज निमुखा आक्रान्तले पाउने
नौलो मानवशास्त्रको उदय होस् सोचाइ फेर्नेगरी
आत्मा हून् चलचित्र झैं मनुजता छर्लङ्ग हेर्नेगरी ३ ।
चोखा चिन्तन हून् अशक्त मनका आवाज उठ्नेगरी
मिथ्या भ्रान्त नहून् प्रचार कलिला मस्तिष्क भुट्नेगरी
लागून् मानिसका विचार मनका धब्बा पखाल्नेतिर
मान्छे भक्त, उपासना मनुजता, संसार होस् मन्दिर ४ ।
छाती विस्तृत होस् खुला सगर झैं होस् चेतना व्यापक
आऊन् सिन्धुसमान सोच गहिरा भावार्थ उत्पादक
मर्नेको शिर गन्न मात्र नमिलोस् उत्सर्ग वा वीरता
चाहे जीवन शून्य होस् हृदयमा क्रीडा गरोस् धीरता ५ ।
ज्यादा शोक-विलापमा नमुछिऊँ होस् हर्ष स्वाभाविक
कोरा भ्रान्त र अन्ध आस्तिक नहूँ ज्यादा नहूँ नास्तिक
आफैं ईश्वर झैं पुगूँ दमितमा निष्प्राण ढुङ्गा-पर
निर्धा छप्पर-भित्रका मनसँगै रोई पुजूँ ईश्वर ६ ।
हौऊँ औसत,लक्ष्य औसत लिऊँ ज्यादा नबोकूँ प्रण
ज्यादै उच्च र निम्न जीवन नहोस् हूँ सर्वसाधारण
बाचुञ्जेल परोपकार हितले हाँसून् रुनेका मन
मर्दामा पनि थोर बेर नजिकै रोऊन् बसी सज्जन ७ ।
●छन्द : शार्दूलविक्रीडित
