नसुन्ने ले बोल्दैनन्

 

Lok, Mani, Paudel,लोकमणि पाैडेल, pallawa, पल्लव

लोकमणि पाैडेल

झण्डै ७५ वर्ष का बाबु फेसबुक मा लेखेको कमेन्ट कसरी इडिट गर्ने नजानेर दिक्क थिए । उनले अफिस जान तयार हुँदै गरेको छोरा लाई सोधे, “बाबु मलाई लेखिसकेको कमेन्ट लाई इडिट गर्न सिकाइदे न । कसरी हो बिर्सें ।” “हिजै बेलुकी सिकाको हैन ? बिर्सन पनि कति चाँडो सक्नुहुन्छ हगि !” छोरा ले एेना अगाडी उभ्भिएर कपाल मिलाउँदै जवाफ फर्कायो ।
“बूढो भएँ । स्मरण शक्ति पनि कमजोर हुन थाल्या छ । नरिसा न । अँ भन्दे त । कसरी अरे?”
“यहाँ आँफूलाई अफिस जान हतार भइसक्यो । अहिले हिँडें । भरे सिकाम्ला । पचास वर्ष पहिले का कुरा भने जति पनि सम्झनुन्छ । हिजो को कुरा चैं बिर्सें रे ।” छोरो बोल्दै बोल्दै घर बाट बाहिर निस्क्यो ।

 

बूढा सोचमग्न भए- ‘हो त, पहिले पहिले का कुरा झल्झली सम्झना मा आउँछन्। तर हिजोआज का कुरा भने कुन्नि किन हराउँछन् । … यो तेही छोरो हो जसले सानो हुँदा सोधेर थाक्दैनथ्यो र बूढा जवाफ दिएर थाक्दैनथे ।’

सोध्न पनि के के सोध्न भ्याउँथ्यो । जति धेरै सोध्यो इनी चाहिं उति धेरै मख्ख पर्थे। सोच्थे मेरो छोरो जिज्ञासु छ । ठूलै मान्छे हुने लक्षण हो यो ।

“बुवा पुतली किन एति धेरै रंगीन हुन्छ ? पुतली ले होली खेलेर आको हो र ?”
कहिलेकाहीं त बडो शास्ति हुन्थ्यो बूढा लाई बुझाउन । तै पनि नझर्कीकन बुझाउन खोज्थे । उनको बुझाउने तरीका पनि मीठो हुन्थ्यो । एकदिन मन्दिर जाँदा छोरा ले सोधेको थियो,
“बुबा हामी भगवान् का अगाडी केही कुरा माग्नु पर्यो भने मनमनै माग्छौं किन ? किन सबैले सुन्ने गरेर माग्दैनौं ?”

बूढा ले बडो सोचविचार गरेर जवाफ दिएका थिए, “जसले बोलेको सुन्दैन उसले बोल्न पनि जान्दैन र जो बोल्दैन उसले बोलेको नि सुन्दैन । भगवान् ले बोल्दैनन् तेसैले उनले हामीले बोलेको सुन्दैनन् । तर भगवान् हाम्रो मन मा भएकाले मनमनै सोचेको कुरा भित्र बसेका भगवान् ले बुझ्छन् ।” छोरा लाई यो कुरा बुझाउन उनलाई दुई दिन लाग्यो होला । सोच्दा सोच्दै बूढा का आँखा मा आँशु पलाए । तर बूढा ले निश्चय गर्न सकेनन् ती खुशी का आँशु थिए कि पीडाका ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.