हाम्रो पितृसत्तात्मक सोच!

Spread the love
Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

श्रीमती उवाच:
हे प्यारा तनमा छ दर्द अति नै लौ के भयो के भयो
छाती कम्मर ढाड कोख सबमा चस्केर दुख्दो भयो
दुख्छन् यी पिँडुला कठै! कटकटी खायो असाध्यै भयो
गर्दा मालिस तेलले यदि कतै हुन्थ्यो कि वा यो निको

श्रीमान उवाच:
गर्छेस् स्वाङ अलच्छिनी तँ जहिल्यै आएर मेरो घर
लोग्ने साथ हुँदा बिमार जहिल्यै सन्चो कहाँ हुन्छ र!
लाजै छैन नकच्चरी कति कुरा गर्छेस् र लोग्नेसित
स्वास्नीको शुश्रुषा गरेर म बसूँ? गर्छेस् कि बेइज्जत

 

श्रीमती उवाच:
हामी जीवनका अभिन्न ,रथका पाङ्ग्रा दुई हैन र?
हिँड्दै साथ सबै सबै समयमा संसार चल्दैन र?
के बोल्छौ कटु वाक्य निष्ठुर बनी रोगी भएको पल
बा आमासित दूर भैकन यहाँ थाप्दैछु यो आँचल

श्रीमान उवाच:
तेरो काम त गर्नुमात्र घरको सेवा तथा चाकर
पूज्नै पर्छ सदैव कर्म घरमा हुन् नन्द या देवर
सुन्नैपर्छ भएर चूप अरुले जे जे भने तापनि
सारा काम सकेर मात्र पतिको स्याहार गर्नू अनि

आमा भैकन बस्नुपर्छ घरमा पाएर बच्चाहरू
सोचे धर्म हुनेछ मात्र घरको त्यागेर इच्छाहरू
बच्चाको र समस्तको टहलमा खर्चिस् भने जीवन
तेरो आँचलमा कतै सुखहरू देख्लिस् र हाँस्ला मन

श्रीमती उवाच:
प्यारा आउनुहुन्छ साँझ घरमा लड्दै र पड्दै अनि
रक्सीको भरमा हिँडेर यसरी चल्ला र के जीवनी?
एेया! कम्मर दुख्छ धेर महिनावारी भएको पल!
झन् झन् पिट्नुहुँदैछ लौन भगवान् घट्दैछ आत्मा-बल

सुत्केरी म हुँदा र गर्भ रहँदा बच्चा हुँदा पेटमा
हान्थ्यौ लात सदैव निष्ठुर बनी आक्रोश पोख्दै ममा
गर्छौ अत्ति अहो सदैव यसरी चल्ला कतिन्जेल यो!
पर्दा पीर सधैँ सधैँ हृदयमा यो ज्यान आधा भयो

श्रीमान उवाच:
रक्सी खान्छु त खान्छु हे नकचरी! आफैँ कमाई गरी
तेरो माइतको त हैन धन, के बोल्छेस् तँ नानाथरी ?
आएकी तँ यहाँ हुँदै निकट यो सम्पत्ति देखेर हो
मै जस्तो पति पो मिल्यो तँकन लौ यो भाग्यको खेल हो

छोड्नै सक्दिन प्यार गर्छु मदिरा, छोड्दिन्छु स्वास्नी बरु
यस्को सामु त दूर लाग्छ दुनिया, छोरा र छोरीहरू
राम्रो लाउन खान बस्न घरमा मैले दिएकै छु नि
बिग्र्यो त्यो मति के गरेर अहिले बन्छेस् अहो बैगुनी

श्रीमती उवाच:
मेरामा पनि छन् असंख्य सपना उँड्ने चरी झैँ गरी
मेरामा पनि छन् अदम्य क्षमता छन् आँट नानाथरी
भो भो बस्दिन हेपिएर घरमा आफैँ बिरानो बनी
पाङ्ग्रा एक झिकेर हेर रथको चल्दैन भो जीवनी

श्रीमान उवाच:
बोल्नैपर्छ सँधैँ मिठा लवजमा आमा र बाबासित
सेवा गर्न सके सदैव पतिको यस्मै छ तेरो हित
छोरी मानिस हिँड्नु हुन्न घरको नाघेर चौको चुलो
देख्छेस् भैकन आइमाइ सपना त्यो नै ठुलो पाप हो

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *