जयदेव गोविन्द का जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) सोध्दै छ नेपालले !
(समस्यापूर्ति)
चर्का भाषणले फुटे गुँडहरू भन्छन् सुगागौंथली
नारामै पुरिए निरीह झुपडी भन्छन् कमैया हली
खाडीमा थुनिएर गुन्द्रुकढिँडो मागे दुनाथालले
‘मेरो बालक लोकतन्त्र छ कहा’ सोध्दै छ नेपालले ।

सच्चा वीर हिजो अखण्ड बलियो भण्डा बनाई मरे
सुस्ताई इतिहास सोध्छ ‘जगमा खै शेषले के गरे ?’
ढाली स्तम्भ अँचेटिए दश दिशा टोके अरिङ्गालले
‘टोक्यौ काखजरायुमा किन सदा’ सोध्दै छ नेपालले ।

 

झार्छन् ‘कालु’ तरर्र शुद्ध पसिना पुग्छन् मकै भालुमा
गोरे आलु फलाउँछन् जहरिला बेमौसमी तालुमा
कोदाली बिँड चाहिने भुजहरू छन् घाइते नालले
‘सुर्कामा गणतन्त्र पुग्छ कहिले’ सोध्दै छ नेपालले ।

‘होच्याई गहिराइतर्फ लगियौं’ भन्छन् हिमाली चुली
‘टोके बाज र गिद्धले दशगजा’ भन्छन् रुँदै न्याउली
गङ्गाका जल मैलिए रगतका बीभत्स आहालले
‘चोखो सुस्मित शान्ति मिल्छ कहिले’ सोध्दै छ नेपालले ।

राखे प्रश्न चिहानले ‘समयका बाटा कहाँ फेरिए ?
त्यागी वीर सपूतका किन सदा उच्चास्मिता केरिए ?
प्यारा काख सुहाग साथ लुटिए टोकी महाकालले
‘छातीमा ममता उमार्छ कसले’ सोध्दै छ नेपालले ।

झोलामा यमराजको ऋण लिई मुग्लान कुर्छन् युवा
राता बाकसछेउमा द्रवित छन् काका र आमाबुबा
पत्नी सन्तति मर्दछन् स्वघरमै पीडाश्रुका छालले
‘मेरो काख भरिन्छ टन्न कहिले’ सोध्दै छ नेपालले ।

ए माटो बिउँझाइदे लखनको उत्सर्गको गौरव
ए ढुङ्गा तँ टुसाइदे सरमले जागून् यहाँ मानव
ए डाँफे बलभद्रका अमरका गाथा सुना तालले
‘मेरो नूतन रूप बन्छ कहिले’ सोध्दै छ नेपालले ।

हे धर्ती कलिका नयाँ जनक दे सिद्धार्थ बोलाइदे
जङ्गेतुल्य उदात्त वीरमनका सन्तान जन्माइदे
अल्लारे शिशु लोकतन्त्र नहिँडोस् बेमौसमी तालले
‘झण्डा उच्च अखण्ड बन्छ कहिले’ सोध्दै छ नेपालले ।।

छन्द :- शार्दूलविक्रीडित
भाग दुई

२) घूस !
घुम्ने मेच लचक्क हुन्छ बिचरो ऐया र आत्था भनी
मोटो भूत थचक्क बस्छ नङले तन्काउँदै कन्धनी
खुट्टा चार थिए दुई अझ थपी जम्मा छ ओटा भए
पौडी घूसतलाउको रस पिई लामा र मोटा भए 01

नाफाको व्यवसाय झैं इलम यो हो घूस वर्षे कुवा
घाटाको डर हुन्न घूस लग हो हार्दै नहार्ने जुवा
पाकेको फलतुल्य घूस रसिलो हो स्वादिलो भोजन
बाली झैं छ तथापि हाल्दछ जरा उम्री विना सिञ्चन 02

दायाँ नेत्र मिलाउँदै छ तरिका बायाँ छ ढोकातिर
दायाँ हात फुकाल्छ फाइलतुना बायाँ छ ‘पोका’तिर
ढोकाभित्र छिरेर कन्तुरहरू उम्ले त्यहीं पोखिए
काला फाइल घूसमा रगडिई सेता बने चोखिए 03

सेवा माग्न हिँडे हरेक पथमै छन् घूसका छाउनी
तिर्दा दस्तुर घूस दोब्बर बनी अल्पिन्छ खल्तीमुनि
काला नोट र घूसका दलनले छन् ग्रस्त कार्यालय
पैसाले यदि किन्छ कानुन भने के काम न्यायालय 04

हत्यारो पनि बन्छ सन्त गुलियो सेवा गरे घूसले
बाँझो तालु उमार्छ आलु रसिलो बास्ना छरे घूसले
पैसासामु बिकी मनुष्य पदको तात्पर्य सस्तो भयो
मानौं घूस कमी भए समय नै रोकिन्छ जस्तो भयो 05

विद्यावारिधिका प्रमाण बिचरा ए दक्षता योग्यता
यो आगोसरि घूसको परिधिमा आशा उमार्छौ कता ?
अन्धो यो युग मात्र हेर्छ रमिता सुन्दैन तिम्रा स्वर
जाओ घुस्रिन घूसका शरणमा या आत्महत्या गर 06

ए नामर्द निरीह कानुनहरू ए उच्च न्यायालय
देओ स्वीकृति घूसशिक्षण हुने होस् विश्वविद्यालय
विद्वान् शिक्षित उच्च पण्डितहरू आदर्शवक्ता मुनि
मान्छेबाट चुसिन्छ मानिस भने के काम तिम्रा जुनी 07

तानातान गरेर आर्तपसिना खाएर भाग्नेहरू
हाँडीको कनिका सिनित्त नभई निद्रा नलाग्नेहरू
तिम्रा घूस गनी कुनै गणितले सक्तैन देखाउनै
पापी हात छिनाल्न एक युगमा जन्मन्छ जङ्गे कुनै 08

○ छन्द :- शार्दूलविक्रीडित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.