नेपाली अधिकारकै विषयमा……

Spread the love
Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

हत्या हुन्छ चरित्र देह कविको नेपाल सोध्छौ भने,
हत्या हुन्छ विचार बुद्धि सबको उत्थान खोज्छौ भने।
यो नेपाल सदैव गर्वित हुने दायित्व छोड़ीकन
लेखे श्लोकहरू महाकवि हुने बाटो छ नेपालमा।

ईर्ष्या द्वेष अतीव वर्धित भए आक्रान्त छन् भावना,
त्यो ठूलो कसरी भयो मुलुकमा झार्ने भए चाहना।
आस्थामाथि जघन्य हुन्छ हमला धम्की हुनेगर्दछ,
साथी हो! कवि बन्न छैन सजिलो जो राष्ट्रको बोल्दछ।

 

चर्को हुन्छ विवाद चिन्तनहरू केही नयाँ ल्याउँछु,
अर्काकै मतियार बन्नु छ भने साहित्य के लेख्दछु।
मेरै चिन्तन राष्ट्रको विषयमा संसारको मार्गमा
लेखौंला कविता कथा उपकथा नेपालकै पक्षमा।

काँडा छन् पथमा अनेक थरिका वैरीहरू बस्दछन्,
दोषी नेत्र र दोषका रचयिता गौंडाहरू छेक्दछन्।
लान्छन् चीर हरी बलात्कृत गरी डाका तथा तस्कर,
नेपाली कवि राष्ट्रको विषयमा के बोल्नसक्थ्यो बरा !

मेरो नाम सदैव निन्दित रहोस् हेंला तिरस्कार होस्,
हत्या देह चरित्रको र घरको खाने कुरा खोसियोस्।
मेरो अन्तिम सास सम्म दिलले नेपाल नै जप्दछु,
नेपाली अधिकारकै विषयमा यो लेखनी बोक्दछु।

(शार्दूलविक्रीडित छन्द)
-विनीत: कनकधारा स्वामी स्वदेशानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *