मौन विद्रोह मा रमाउँदा . . . . .

Spread the love
Khagendra, Adhikari, Amrit, खगेन्द्र अधिकारी ‘अमृत’, pallawa, पल्लव

खगेन्द्र अधिकारी ‘अमृत’

समीक्षित कृति

डोल्पामा जन्मेर लमजुङमा हुर्केर सुनसरीमा वैवाहिक गठबन्धनमा बाँधिए पनि नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा सेवा गरिरहेकी शान्ति अधिकारी साविकको मध्यपश्चिम क्षेत्रमा रहेर नेपाली गजलमा कलम चलाउने एक शसक्त नारी स्रष्टा । साविकको मध्यपश्चिममा नेपाली साहित्यको गजल विद्याले आफ्नो साम्राज्य जमाएको मात्र होइन यसलाई प्रत्येक साहित्यिक मनको मझेरीमा गजलबीज समेत छरिरहेको छ । जीवनमा जो कोही पनि कवि बन्छ भन्ने उक्ती अब जीवनमा गजलकार नबन्ने मान्छे छैन भन्नेमा परिणत भइसकेको छ होला सायद । अप्ठ्यारो भित्रको सजिलो खोज्नका लागि गजललाई अध्ययन गर्नु जरुरी छ । गजलका बारेमा उठेका अनेकन प्रश्नहरुको उत्तर खोज्नु छ भने गजललाई अध्ययन गर्नु त्यति नै आवश्यक छ ।

 

संख्यात्मक रुपमा भन्दा पनि गजललाई गुणात्मकता तिर लैजानु पर्ने आवाजहरु उठिरहेका छन् र उठ्नु पनि पर्छ । गजललाई गुणात्मक बनाउन सकेमा यसको स्वादले अझ धेरैलाई लठ्याउने छ । शान्ति अधिकारी (पोख्रेल) कुनै जमानामा केवल माया प्रेमका वीचमा मात्र रहेर सिर्जना हुने गजल वर्तमानसम्म आइपुग्दा पुरानै अवस्थामा रही रहन सकेन । नेपाली साहित्यले समाज परिवर्तनमा अहम् भुमिका खेल्नु पर्छ भन्ने भावनाबाट ओतप्रोत भएका साहित्यकारहरुले आफ्ना सिर्जनाबाट माध्यमबाट समाजमा भएका राम्रा नराम्रा विषयवस्तुको उठान गर्न शुरु गरेदेखि नै साहित्यले फरक मोड लिएको वरिष्ठ साहित्यकारहरु नै बताउँदै आएका छन् । त्यही प्रभाव नेपाली गजलको क्षेत्रमा पनि पन गयो । देशको विषम परिस्थिति, राजनीतिक अस्थिरता, नेताहरुहरुको लाचारीपनदेखि समाजमा रहेका रुढिवादी परम्पराहरुलाई समेत गजलकारहरुले आफ्ना रचनाबाट माध्यमबाट उठान गर्न थाले । जसले गर्दा राजनीतिक, आर्थिक र सामाजिक एवम् भौगोलिक रुपमा समेत चेतनाको बिजारोपण हुन थाल्यो । एउटा कविले उठाएका सवालहरु, एउटा गजलकारले उठाएका मुद्दाहरु स्थानीयदेखि राष्ट्रियस्तरसम्म पुग्नु पनि नेपाली साहित्यको सफलता हो । एउटा पाठकको आँखामा सजिलै अटाउन सक्ने साविकको मध्यपश्चिमको नेपालगञ्जमा रहेर नेपाली गजलको क्षेत्रमा निरन्तर कलम चलाउने नारी स्रष्टा शान्ति अधिकारी । सरल स्वभाव, मिजासिलो व्यवहार र भद्र एवम् शालिन रुपमा देखिने शान्ति भित्र पनि क्रान्ति हुँदोरहेछ । शान्ति भित्रको क्रान्ति त्यो पनि मौन । त्यही मौनता भित्रको विद्रोह । निकै खतरनाक ।

शान्ति वाटिका गजल संग्रह २०७० बाट कृतिकारका रुपमा नेपाली गजलको फाँटमा एउटा तारा झैँ झिलमिलाएकी गजलकार शान्ति अधिकारीले २०७४ सम्म आइपुग्दा मौन रुपमा नै ठूलो विद्रोह गरेको सजिलै अनुमान लगाउन सकिन्छ मौन विद्रोहको अध्ययन गरेपछि । गजलकृति मौन विद्रोह भित्र १ सय २० वटा जबरजस्त गजलहरु छन् । विभिन्न साहित्यिक संस्थाहरुमा आजीवन सदस्य हरेर संस्थागत रुपमा समेत नेपाली साहित्यको विकासमा टेवा पु¥याएकोले हुनसक्छ अधिकारीको मौन विद्रोह भित्र विभिन्न भाव र भावनाले ओतप्रोत गजलहरु समावेश भएका छन् । नेपालमा मात्र होइन भारतमा समेत केही साहित्यिक संघसंस्थाबाट सम्मानीत भइसकेकी स्रष्टा अधिकारीको मौन विद्रोहलाई प्रकाशन गरेर पल्लव साहित्य प्रतिष्ठान चितवनले एउटा सफल र अब्बल दर्जाको कृतिको प्रकाशक बन्ने मौका पाएको छ । यस कृतिलाई डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले भूमिका लेखनमा मज्जाले चिरफार गरेका छन् । यस संग्रह भित्र संग्रहित भएका गजलहरुसँग स्रष्टाले विभिन्न भाव र परिवेशमा मौन विद्रोह गरेकी छिन् । अलि धेरै गजलहरुमा प्रेम प्रसङ्ग उठेपनि तिनै गजलहरुमा पृथक तरिकाले प्रस्तुतीकरण गर्ने शैलीले गजललाई अझ मजबुद बनाउन सकेको छ । सुख–दुःख, संयोग–वियोग, स्वीकार–त्याग, प्रेम–निन्दा, प्रलोभन–धोका, चेतना–शिक्षा, समर्थन–विद्रोह, आशा–निराशा, संघर्ष–सफलता लगायतका पेरिफेरिमा रहेरमा अनेकता भित्रको एकता र एकता भित्रको अनेकतामा सिर्जना गरिएका गजलहरुले नेपाली गजलको इतिहासमा एउटा ईटा मात्र होइन पर्खालको निर्माण गरेका छन् । राष्ट्रप्रेमी, सार्वभौमिकता, चाहना, मान्छे मान्छे वीचको भिन्नताको यथार्थ, सामाजिक परम्परा र विकृति विसंगतिहरु, नारीत्वको बारेमा गजलका शेरहरु मार्फत छर्लङ्गै पार्ने सामथ्र्य रहेको छ यो कृति भित्र । यो कृति भित्रको अर्को विशेषता भनेको स्रष्टाले कुन मितिमा सिर्जना गरेको हो त्यो मिति समेत क्रमवद्ध रुपमा राखिएको छ । जसले गर्दा यसका पाठकले कुन परिवेशमा सिर्जना गरिएको रचना हो भनेर सहजै अनुमान लगाउन सक्छन् । अनि त्यतिबेलाको समय र परिवेशलाई आफ्नो मानस पटलमा ल्याउन पाठक पनि बाध्य हुनुपर्छ । जसले शान्ति अधिकारीका यी गजलहरु अध्ययन गर्छ उसले आफ्नो विगत र वर्तमानलाई समेत एकपटक आँखा अगाडिको ऐनामा अनुहार हेरे झैँ हेर्न सक्छ ।

विद्रोहको ज्वालामुखी फुट्नै पर्छ एकदिन
दासताको जञ्जिरबाट छुट्नै पर्छ एकदिन । गजल नं. १

गजल संग्रह
यही गजलबाट उनले आफ्नो गजल संग्रहको शुरुवात गरेकी छिन् । यही गजलको शेरबाट उनको मौन विद्रोहको शुरुवात भएको छ । दासतामा पीडा भागीरहेकाहरुको पीडा र आक्रोश खरो रुपमा ओकलेकी छिन् शान्तिले । नजाने गाउँको बाटो नसोध्नु भने झैँ नजान्नु पर्ने कुरा जान्ने पर्छ र कु–संस्कारलाई मान्नै पर्छ भन्ने छैन शान्तिको मौन विद्रोह भित्र पनि । उनले गजलका शेरहरु मार्फत उक्त कुरालाई उजिल्याएकी छिन् ः

नजाने नि हुने कुरा जान्नेपर्छ भन्ने छैन,
अन्धविश्वास परम्परा मान्नैपर्छ भन्ने छैन । गजल नं. ४

प्रेम भन्ने अदृष्य बस्तु निकै शक्तिशाली छ । यसमा कोही चाहेर पनि पर्न सक्दैनन् भने कोही नचाहेर पनि पर्न सक्छन् । शान्तिको लेखनीले बोलेकोा छु उक्त कुरालाई ः

तिमी उता म छु यता सरे त हो भेट हुने,
कहिलेकाँही यसो मौका परे त हो भेट हुने ।

मौन विद्रोह भित्रको २७ नं. को गजलमा गजलकारले भने झैँ मौकाले एक पटक मात्र भेट भएको भएपनि सामाजिक सञ्जालमा सुनेको र पढेको तर प्रत्यक्ष रुपमा धेरै साक्षात्कार हुने मौका भने मिलेको छैन गजलकारसँग । तर उनको मौन विद्रोहले म भित्र पनि यी पंक्तिहरु लेख्ने विद्रोहको जन्म भने गरायो ।

शान्ति प्रेमी नेपाली हो समाइदेउ कलम
भ्रष्टाचारी गलाउने लेख्नुपर्छ गजल । गजल नं. ४३ ।

साहित्यको यात्रामा मात्र होइन जीवनको यात्रामा पनि गजलकार शान्ति निरन्तर हिडिरहेकी छिन् त्यसैले त उनले हरेक मोडमा सफलता प्राप्त गरेकी छिन् । जुन कुरालाई उनले ः
कसैसँग नझुक्ने म नेपालकी छोरी,
हिडेपछि नरुक्ने म नेपालकी छोरी ।
गजल नं. २१
आन्दोलनका गर्नका लागि बन्दुक नै समाउनु पर्छ भन्ने छैन । हुन त हाम्रो देशमा आन्दोलनको ढुङ्गामुढा नगरे आन्दोलन गरेको भन्ने नै बुझिदैँन । लक्ष्य र गन्तव्यमा पुग्नका लागि पाइला उचाली सकेको नेपाली रोकिन नजानेको र अन्यायका विरुद्धमा लाग्ने स्वाभिमानी नेपाली झुक्न नजानेको कुरा प्रष्ट देखिन्छ यी गजलहरुमा । परिश्रम गर्नु पर्छ सफलता प्राप्त गर्नका लागि । शान्ति लेख्छिन् ः

विकासका बाटाहरु खुलाउन सक्नुपर्छ,
परिश्रम गर्दै बाली झुलाउन सक्नुपर्छ । गजल नं. ११५

गजलको मुटुको रुपमा मानिएको काफियाको प्रयोग निकै सचेतताका साथ गरिएको छ भने कुनै गजलहरु गैरमुरद्दफ पनि छन् । अधिकांश गजलहरु मुरद्दफ छन् भने प्रायः सबै गजलहरु मुसलसल छन् । केही गजलहरुमा तखल्लुस प्रयोग गरिएको छ । अक्षरगत लय मिलेको पाइन्छ गजलमा । नेपाली गजलको परम्परा भित्र अग्रज, अनुज र समकालिनहरुको प्रभाव पर्ने गरेको छ । उक्त प्रभावबाट शान्तिको मौन विद्रोह पनि अछुतोा छैन । खोटकै लागि खोट र विरोधका लागि विरोध गर्ने ठाउँ समेत छैन उनको संग्रहमा । प्राविधिक रुपमा भएका एकाध त्रुटि पनि उनको यहाँ भन्दा पछि आउने संग्रहमा देख्ने इच्छा छैन मलाई । छपाईदेखि आवरण कलामा समेत स्तरीय भएको यो कृति नेपाली साहित्यको क्षेत्रमा अग्रजहरुलाई अझ अगाडि बढ्न बाध्य बनाउने एउटा बलियो आधारशीला बन्न सकोस् । गौतम बुद्धको देशमा अशान्तिले आक्रान्त पारेकोमा आम नेपाली सर्वसाधारणहरु दुःखी भए । शान्तिको दीप निभेको आभाष भयो सबै नेपालीलाई । जुन कुरालाई गजलकार शान्तिले टपक्क टिपेर यसरी उन्ने प्रयास गरिन् ः
कति ढाँट्छौ हुतिहारा जवाफ दिन सक्छौ ?

निभ्यो किन ‘शान्ति’ दीप बलेकै त थियो । गजल नं. १२०

गजलको यसै शेर सँगै शान्तिको मौन विद्रोह गजल संग्रहको समापन भएको छ । कृतिकारलाई बधाई अनि कृतिको सफलताको अशेष शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *