मृत्तिका-महिमा

Spread the love
Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

टोपी ह्यूँको लगाई सकल जगतमा झल्मलाईरहेकी
अग्ला-अग्ला अनेकौं हिमशिखर सँगै मुस्कुराईरहेकी
आफ्नै शैली र मीठो स्वर लहरमहाँ गुन्गुनाईरहेकी
यी हुन् नेपालआमा हृदयभरि सधैं मग्मगाईरहेकी

खोला-नाला र सारा जलनिगमहरू बग्दछन् कल्कलाई
उठछन् मीठो तराना ध्वनित लहरमा पीर-मर्का भुलाई
डाँडाकै माथिबाटै छङछङ झरना झर्दछन् झर्झराई
बोल्छन् यी प्रेमवाणी मधुर हृदयले वाद्य मीठो बजाई

 

सेतो बर्को लगाई रसिक मन गरी हाँस्तछिन् यी बिहानी
हेरी सौन्दर्य सारा सकल जगत यो बुन्छ नौलो कहानी
मर्मस्पर्शी छटाका वन र चउर छन् घाँसका छन् बगान
गोठाला हिँडछन् है! पशुहरूसँग नै गुन्गुनाई तराना

भाषा औ भेषभूषा मृदुल-सरस छन् स्वच्छ छन् नीर जस्तै
बोली आनी र बानी रहन- सहन छन् चन्द्रकै ज्योति जस्तै
प्यारा छन् फूलबारी कुसुमित दिलका दिव्य माधुर्य खानी
सारा लोभीहरू नै रसिक मधुपझैं लुटन् खोज्छन् बिहानी

सारा संसारलाई अमृत फल दिने सृष्टिकी हुन् मुहान
डाँडा-बेसी-तराई र हिमगिरि सबै दृष्टिमा छन् समान
सारा भू-रूपका झैँ छ अझ रहरिलो लेक-पाखा-पखेरो
हाम्रो यो मृत्तिकाका कण-कण दिलमा प्राण भन्दा छ प्यारो

छन्द: स्रग्धरा
हुसैन खाँ
उपाध्यक्षः
पल्लव साहित्य प्रतिष्ठान
भरतपुर महानगरपालिका-३ चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *