हरिप्रिया रिजालका तीन गजल

Spread the love
Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १,

सागरजस्तै साउनको भेलसँग पनि घुल्न सिक्नुपर्छ
नजानेर हुने अन्जानी गल्तिहरूसबै भुल्न सिक्नुपर्छ ।

हिलोमा नि ढकमक्क भै कमलको फूल फुलेको हुन्छ
हृदयभित्र स्नेहरूपीमाया कमल झैँ फुल्न सिक्नुपर्छ ।

सुख हुँदैमा न हस्किनु अनि दुखीलाई नमिठो नपस्किनु
धनी र गरिबको मानवियताको माला बुन्न सिक्नुपर्छ ।

 

असलबाटो हिड्यौ भने, कहिल्यै लुक्नु र झुक्नु पर्दैन
धानको बाला सरि सबैसँग निहुरिएर झुल्न सिक्नुपर्छ ।

दुख–सुखको संगम हो जीवन, दिनपछि रात आएजस्तै ?
कुसंस्कारको त्याग गरी सभ्यतामा खुल्न सिक्नुपर्छ ।

गजल– २,
खुसी नै खुसीमा आफूलाई जमाउँछौ कहिले
मन रमाउने धन अझै तिमी कमाउँछौ कहिले ?

झुपडीमा बसे पनि स्वर्गको अनुभव पाए मैले
महलमै बसेर नी प्रसन्न मन बनाउछौ कहिले ?

पैदल यात्रामा नै त्यो अदभूत आनन्द हुँदोरै’छ
पजेरोमा गुड्छौ तिमी र पनि रमाउछौ कहिले ?

यो संसारमा अजम्बरी कोही पनि भेटिन खै मैले
दिन दुखी संगै खुसी तिमी अब मनाउछौ कहिले ?

काठको खाटमा शयन गर्दा शरिरमा आनन्द आउँछ
बहूमूल्य खाटमा सुत्छौ तिमी तर निदाउछौ कहिले ??

.गजल– ३,
आधा जिन्दगी बितीसक्दा डिग्रीको योग्यता पाइरहेको छ
जिन्दगी नै अस्थाई छ यहाँ तर स्थाई जागीर चाहीरहेको छ ।

अर्थहीन योग्यता झोलामा बोकेर शिक्षित बेरोजगारहरू
अन्तरवार्तामा सहभागी हुदै लोकसेवा आयोग धाइरहेको छ ।

सरकारी सेवामा खुल्छ्न फेरि धेरै आशावादी आवेदनहरू
आवश्यकता दुई जनाको हजारलाई आशामा पर्खाइरहेको छ ।

मात्र छ जना सफल हुन्छन् मुहारमा खुसीको किरण छर्दै छर्दै
अन्तरवार्तारूपि परिक्षा लिदै अझै कय्याै जना फर्काइरहेको छ।

खुलेनन खोर्इ प्रयाप्त अझै यहाँ रोजगारका सु–अबसरहरू
नेपाली योग्य जनशक्ति बिदेशी माटोमा तड्पिइरहेको छ ।।

– हरि रिजाल,
भरतपुर, चितवन
२०७४/४/२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *