नाता नयाँ जोड्नु छ !

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

थोत्रो भाषणले यि कान भरिए कस्तो छ तिम्रो गति
कस्ले भन्छ रहेन आज घरमा उस्तै छ प्रथा सती
लुट्दैछन् सबले फकाइ बिचरा छोरी सधै मारमा
बाँचेका छन आज यो मुलुकमा नारी परी धारमा !

बोल्नै हुन्न अरे अझै पुरुषको नारी पिडामा परे
साच्चै नै अझ यो जरा गढिरहे निभ्दैन केही गरै
छोरी बन्धनमा रहे हर–घडी बाँचे सधैँ त्रासमा
छोरी पढ्न गए अझै पनि यहाँ रोक्छन् सबै मार्गमा !

 

आमाले शुरु गर्दछिन् हरघडी बिग्रन्छ है साथले
अर्काको घर नै समाल्नु परने छोरी भयौ जातले
बच्चाको खुव ख्याल गर्नु घरको नी गर्नु संरक्षण
जिम्मा भो उनको सबै जगतमा थुप्रै भयो शोषण

बोक्सीको उपमा दिएर बिचरा नारी तिनै मारिए
छोरी छाउ हुदा बुझेन जनले ती गोठमा सारिए
गर्भैमा तुहिदै छ जीवन कठै छोरी कसोरी बनुन
बोल्नै दिन्न उता बलात्कृत हुँदा पीडा कसोरी भनुन

सीताले पनि त्यो सही भुवनमा बुझ्देन क्वै त्यो कथा
हेपिन्छन् कति शास्त्रको बिषयमा झन् दाइजोको प्रथा
हे देवी अब आउ प्रकट भई न्याय लिई छोड्नु छ
हेप्ने सोच विनाश पार्नु छ यहाँ नाता नयाँ जोड्नु छ !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.