सत्य नै डग्मगाउँछ

Spread the love
Krishna, Prasad, Koirala, कृष्णप्रसाद कोइराला, pallawa, पल्लव

कृष्णप्रसाद कोइराला

रोपेथें बीउ आशाको निराशा त्यसमा फल्यो।
गरें विश्वास बाचाको धोकाले चाल पो चल्यो।।
पिएँ अमृत भन्दै जो भयो साबित त्यो विष।
प्रीतिको हात फैलाएँ बदलामा मिल्यो रिस।।

पूर्णको खोजमा निस्कें शून्य पाएँ सबै दिशा।
प्रकाशको गरें आशा लम्बिएछ अझै निशा।।
फराक हेर्न चाहन्थें बढ्दै आए कुनाहरू।
नहोर्किंदै ढलेछन् ती कल्पनाका मुनाहरू।।

 

चाहेको वस्तुको निम्ति चहारेथें दिशा सब।
छाया पक्रन खोजेंछु वस्तु ठानेर वास्तव।।
हुनजान्छ त्यही नै जो कुरा हुनुहुन्नथ्यो।
जत्ति गर्दा नि क्यै हुन्न जो कुरा हुनुपर्दथ्यो।।

खोज्थें अनेकताभित्र बलियो सूत्र एकता ।
चुँडाली एकता-सूत्र कोही खोज्छन् अनेकता।।
खोज्थें सद्भावना साथै सुख औ शान्तिको रस।
धंकी-विध्वंस- हत्याले गर्नखोज्छन् कुनै वश।।

मान्नुहुन्न कुनै सत्य झुकिन्छ मानियो भने।
बोल्नहुन्न कुनै तथ्य मरिन्छ बोलियो भने।।
हिउँले घिउ पग्लन्छ आगोले त्यो जलाउँछ।
हाम्रो नियति यस्तैछ सत्य नै डग्मगाउँछ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *