छात्तीमा कविता’

Spread the love
Kaushila, Rishal, कौशिला रिसाल , pallawa, पल्लव

कौशिला रिसाल

म आमाको गर्भाशयमा
नौ महिना रोकिएको
रजस्वलाको मानव आकार हु ।

मेरो बाको एकथोपा
शक्तिशाली विर्यलाई
आफ्नो गर्भाशयमा
नौ महिना हुर्काएर
मलाई मानवाकारमा
जन्माउने मेरी आमा हुन्
म जन्मेपछी मात्र छोरो भएको हुँ ।

 

असह्य प्रसव वेदनाले
छट्पटाएकी मेरी आमा
म जन्मेपछी बालाई हेरेर
मुसुक्क हाँसेकी थिइन् ।

मेरो हरेक खुशीका लागि
मलाई काँधमा बोकेर
पापा खोज्न हिड्ने
उहीँ पुरुष जसलाई
आमाले नै पहिलोपटक
बा भन्न सिकाएकी थिइन् ।

जन्मेपछी मलाई हजारौं स्पर्श गर्ने
छात्तिमा टाँसेर माया गर्ने
मेरो गालामा लाखौं चुम्बन गर्ने
ताते-ताते गर्दै हिंड्न् सिकाउने
शीर दुख्दा काखको सिरानी दिने
मेरो हरेक गल्ती माफ गर्ने
मेरा हरेक दु:खको सामना खोज्ने
मेरी आमा नै थिइन्
मलाई थाहा छ,
आमाले आमा भएर मात्र
मेरो लागि यी सब
गर्न सकेकी हुन् ।

म स्वयम् नै
यसको प्रमाण भएर उभिएपछी
लेख्नु पर्दैन आमाको कविता
आमा नै मेरो
सिङ्गो कविता हुन्
मेरो कवितालाई म सधैं
छात्तिमा टाँसेर हिडिरहेछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *