सिता पन्त कँडेल का केही मुक्तकहरूः

Spread the love
Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

नियती नै साँप बनी डसेपछि जीवन
हाँसी हाँसी तिखो छुरा धसेपछि जीवन
नफक्रिंदै झर्छ कठै बेमौसमी फूलसरी
आफ्नै अघि मजधारमा फसेपछि जीवन !

विवश छु म भनिसकें मेरा खातिर नरोउ अब
सपनीमा देखें भन्दैमा मेरै तस्विर नछोउ अब
धेरै बुज्ने मान्छे तिमी मलाई नै सम्झाउँथ्यौ
आज उल्टै अबुझ बनी आँसुले नैन नधोउ अब !

 

सिधै भन्देउ “माया गर्छु” गुलाफ किन चाहियो ?
प्रतिउत्तरमा ‘हुन्छ’ नै भन्ने जवाफ किन चाहियो ?
प्राप्तिमात्र माया होईन मुटुभित्र राख सँधैभरि,
अब दुनियालाई देखाउँने रवाफ किन चाहियो ।

सन्तानका हर ईच्छाहरू ती, हार्नै गाह्रो हुँदोरैछ |
ढल्किंदो उमेर समस्या बढी, फार्नै गाह्रो हुँदोरैछ |
जागिरे जीवन कस्तो हुन्छ, भोग्नेलाई पो थाहा छ;
ऊफ् ! तलबले हरेक महिना, टार्नै गाह्रो हुँदोरैछ |

जे छ तिम्री आमासँग सृजनाले सजाऊ न बाबु
सुनफल्छ यही धर्तीमा ती पाखुरा बजाउ न बाबु
चिथोरेर लुट्न लागे तिम्रो सारा अस्तित्वलार्इ नै
तिनैलाई आफ्नोठानी पर बनाउन नजाउ न बाबु !

तिमी बिनाका यात्राहरू किन किन अधुरो लाग्ने
अदृश्यमा चैतको चर्को घाम पनि मधुरो लाग्ने
सुन्दर अवलोकनीय र फराकिला थिए बाटाहरू
तर तिम्रो अनुपस्थितीमा सबै नै सॉधुरो लाग्ने ।।

तिम्रो आवाज मुटुभरि म लुकाउँछु बहिनी
मेरामनका हरेक भाव नि फुकाउँछु बहिनी
बिश्वासको आँचल भरी यो दाजुलाई राख
तिम्रो अमुल्य ऋण दाजुले चुकाउँछु बहिनी !।

हालः ताहाचल, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *