सुदीपभद्र खनाल का दुर्इ टुक्रा

Sudipbhadra, Khanal, सुदीपभद्र खनाल , pallawa, पल्ल्व

सुदीपभद्र खनाल

कविता– १, सपना
मेरो माथ हिमाल हो नयन हुन् रारा र फेवाहरू
गोडा पर्वत रक्तझैँ नशनशा छन् सप्तगंगाहरू
छाती दून तराइको समथरा मैदान मेरो बुझ
आफैँ धूर्जटिबाट रक्षित म हूँ टिक्ला र को सन्मुख

मेरो तिब्बत चीन उत्तर सिमा हो पश्चिमी अञ्जला
रावीको जल सिंचने विजयमा गोर्खा थियो है दल
तल्लो साँध मटेरिया र पननी खड्डा बगाहा बिजै
झिट्काही चनदी प्रताप दमिया सामौल् किसन्गञ्ज है

 

शत्रूका दलको परेर छलको छिर्के सुगौली हुँदा
यो छाती हुँडली मरेसरि बने रक्तीम आँसू रुँदा
मेरो आश अझै उतै छ मनको त्यो देहरादूनमा
मेरो सास अझै छ अड्किरहँदो खर्साङमा घूममा

गोर्खाली कमजोर हैन बलमा चातुर्यमा सौर्यमा
थोरै हो कमजोर फूट जनमा औ चुस्त औजारमा
जैले एक बने सुपुत्र म जितेँ हारेर ऐरीहरू
कामे थर्थर काटिए समरमा सर्वत्र वैरीहरू

मेरो छाप र पाइलाहरु पुगे टिष्टा तरी मानस
मेरो गौरव गानको परिसिमा हो बाँगला भू: तक
मैले रक्त दिएँ परन्तु नजिकै घाती कुचक्री हुँदा
मेरो वक्ष चिरिन्छ फाट्छ मुटुनै अन्याय त्यो सम्झिँदा

त्यो दार्जीलिङको पहाड मुटुको टुक्रा टुटेको न हो
यो मेरै उरको थुतेर रिपुले चोक्टा लुछेको न हो
आँखामा सपना उमार्न मसकूँ मेरै नयाँ वीरमा
जागी मातृ निमित्त वैरिन पुगुन् वैरी चिनी शीरमा

कविता– २,
छ्ल्कन्छन् गहमा अझै पनि उनै फेवा र राराहरू
टल्कन्छन् अनुहारमा शिखरका आएर आभाहरू
होला त्यो खुकुरी अझैपनि कटी छामेर हेरे यहाँ
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

होला गुन्द्रुक भट्ट मास र मकै झोला नियाले अझै
जिब्रोले जुजुधौ भुलेनछ कसै मैले कहाँ भुल्छु खै
बास्ना सेल कसारको अझ सुँघे बाँकी छ यो हातमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

लाइन्छन् सयपतृकै कुसुमका माला गलामा अझै
टीका थाप्छ निधारले र जमरा झल्किन्छ शोभा अझै
भैलो वालुन देउसी र चुडका गुँज्छन् अझै कानमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

गुञ्जन्छन् वनशैलकै पिरतिका भाका अझै गानमा
रोदी नाच र दोहरी पिपिरिका झन्का छ यो ज्यानमा
जिब्रो माग्दछ दाल भात चटनी आफ्नै उही स्वादमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

बास्ना आउँछ दूर नै अगरको बत्ती तथा चन्दन
आफ्नै आउँछ याद खेत बगिया पाखो विरौटो वन
मानी चाड तिहार ल्होत्सर दशैँ नाचिन्छ उल्लासमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

गाइन्छन् मनले अझै पनि यहाँ त्रीदेवकै किर्तन
देवीकै नवरूप पूज्छ मनले श्रद्धा उरालीकन
आफ्नै संस्कृति धर्म ज्ञान रसको धारा छ यो आँतमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

मेरै शैल पहाड आउँछ सँधै तन्द्रा तथा स्वप्नमा
बेसी लेक मधेसकै रिमिझिमी भेटिन्छ संवादमा
झल्कन्छन् सुख दु:खका समयका पानाहरू यादमा
चट्टै भुल्न अहो म सक्छु कसरी नेपाल यो जन्ममा

सुदीपभद्र खनाल
तनहुँ नेपाल,
हालः भर्जिनिया, अमेरिका

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.