जेना हेन्सनको माइलेज

Spread the love
Rajib, Pudasaini, राजव पुडासैनी, pallawa, पल्लव

राजव पुडासैनी

अलि अलि कोलम्बीयन गाँजा
र म्याक्सिकन बियरमा
लठ्ठिएकी जेना हेन्सन भन्छे,
लठ्ठिनुको आनन्द नै मेरो प्रेम हो
छैनन् मेरा अरु कोही प्रेमी
मसँग लोग्ने वा
ब्वायफ्रेण्डजस्ता अरिङ्गाल छैनन्
आनन्दमा छ मेरो जीवन
म तथाकथित लोग्ने र
ब्वायफ्रेण्डको झन्झटबाट
मुक्त छु –

 


आनन्द छ मलाई
छ, सात गिलास बियर
र चार, पाँच पफ ह्यासिस वा मारिजुवानामा
म मस्तले
आफ्नू ओछ्यानमा निदाउँछु र
एउटा अर्को स्वतन्त्र बिहान जन्माउँछु
न केटाकेटीको स्याहारको झन्झट
न लोग्नेको करकाप र फतफत
न ब्वायफ्रेण्डको कलह
आफ्नू एक्लो जीवन
आनन्दले चलाएकी छु
चाहेँ भने म थुप्रैलाई निम्त्याउँछु
थुप्रैलाई लत्याउँछु
अड्तीस वर्षकी मलाई
चुम्न
बारहरुमा
अनेक पुरुष ओठहरु चल्मलाउँछन्
तर मलाई
तिनका ओठहरुसँग घृणा छ
तथापि कुनै पनि बेला
म चाहेको ओठ रोज्न सक्छु
अझ पनि म
पुरुषहरुको तृष्णालाई दास बनाउन सक्छु
आनन्दमा छ मेरो जीवन
म आफ्नै लागि कमाउँछु र
खर्च गर्छु
खर्च गर्न
न मसँग बच्चाहरु छन्
न लोग्ने
न कुनै पुरुषको अधीन छ
एक्लो म
कोलम्बीयन गाँजा र
चिसो बियरको आनन्द
भरपुर भोग्छु एक्लै र
प्रत्येक दिन आफ्नू निजी बनाउँछु
म क्यारेबीयन सागर तट जान्छु
अरुबाद्वीप जान्छु
केन्यामा पुगेर
कुनै जवान कालेसँग निदाउन सक्छु
यो मेरो जीवन कसैलाई हैन
आफ्नै लागि भोग्छु र
समयहरु आफैँलाई बिताउँछु
म इन्डिया पनि पुगेकी छु
र बनारसका घाटघाटका
तिघ्रे साधुहरुसँग
गाँजा तानेकी छु
मैले तिनको खोबिल्टे गहिरा आँखामा
गाँजाभन्दा मेरो शरीरको तृष्णा चढेको
देखेकी छु
गाँजा तान्दै तिनका छड्के आँखाले
मलाई थुप्रै बलात्कार गरेका छन्
मलाई थाहा छ
श्रीलङ्काका भिक्षुहरु र
बनारसका साधुहरुमा पनि साधुत्व छैन
चर्चका प्रिस्टहरु हुन् वा
पादरीहरु हुन् वा यहुदीका रावीहरु हुन्
सब खरानीको भेषका
अरिङ्गाल हुन्
सबको पछाडि अवैध विर्यपातका
शृङ्खलाहरु छन्
मलाई थाहा छ
सबको आँखामा विर्यपातको चाहबाहेक
केही छैन
तर मेरो जीवनको माइलेज कत्ति छ
मलाई थाहा छैन
तथापि म आफ्ना बाटोहरुमा
आनन्दले कुद्छु
मलाई कुनै ट्राफिक रडारहरुले
रोक्न सक्दैन
म आफ्नू पथको माइलेज
आफैं निर्धारण गर्छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *