चुरा बज्ने छन् छन् मधुर रसिलो धून बनको
झरेको त्यो झर् झर् अमर झरनाको तपनयो
बनैमा ती चिर् बिर् अह मयुर वा कोयलकहो
बने यो त्यो लत् पत् रहर अधुरो यो हुनगयो ।
वारीपारी कुसुम लहरा जग्मगाई उदाउ
लट्ठैपार्ने मगमगनयाँ बासना औं चढाउ
यी आँखाले झलमल सधै देखिने डोबलाउ
बैरीका ती फगत सपना दूर देख्ने गराउ ।
फुरुन दानाका साथीहरु वाघ चाल खेल खेल्छन्।
किम् कर्तव्यं विमूढ भएर वाघ चाल खेल खेल्छन्।
कता कता वाख्राले थुन्ने चाल चल्ने ढङ्ग रङ्ग छैन?
पानी मरुवा सिंह वन्नेहरु वाघ चाल खेल खेल्छन् ।
वरिपरि कहिँ जालो यो उज्यालो नदेख्दा
नविन नविन कालो त्यो अध्यारो छ टेक्दा
टह टह जुन लाग्ने आश जाग्यो उदायो
ग्रसित गरि कुहिरोले डम्म छेक्यो डुबायो ।
कोदो फापरले पहेंलपुर यी पाखा पखेराभरी
मार्सीधान यहीझुले लहलही ती सम्म फांटैभरी
टारीमा अथवा सुखाबगरमा लाग्दो खडेरी हटी
घुम्नेथे भमराहरू पनियहाँ आहा! र मेरै कती ।।
म धर्तीमा फूल्ने फूल हूं मलाई फूल्नदेउ
धानका बाला झुलेसरी लहलह झूल्नदेउ
बनैभरि मनैभरि मगमगहुने बासना छरी
लेकबेशि र कन्धराहरुमा मलाई डूल्नदेउ ।।
यो माटोलाई बुडिभैंसी ठान्दैछन्
नथ्थी लगाई जबर्जस्ति तान्दैछन्
गलाएर थलाएर हरिकंगाल गराउन
तातो रापले ठाउँ ठाउँमा डाम्दैछन् ।।
आफ्नो मान्छे बनाउभनि सामुन्नेमा बस्दा
छुटाउन गार्हो हुने मांया जालमा फस्दा
एकातिर हात समाए उता नजर मोडेपछि
थाम्नै गार्हो हुंदोरैछ आँसु भुंइमा खस्दा ।।
फूलफूल्ने बगैंचामा नजिक हुन मनलाग्छ
कोमल कोमल हातहरुले छुन मनलाग्छ
झिलिमिली फूलेका बगैंचामा फूलका थुंगा
निमोठेर भुंइमा फ्यांक्दा रुन मनलाग्छ ।।
पाखा पर्वत छन् उदाङ्ग जसरी पैला सरी काँ छर
बारीखेत फुलेर यी चउर छन् छैनन् फलेका फल
कोदाला अनि बन्चरा र हंसिया यिन्का खिया मासन
फर्की आउ यही युवा र युवती नेपाल आफ्नै घर ।।
जुनठाँउ सधै सुखशान्त थियो,
उहिदु:ख दिने तुष जन्मभयो ।
कहिले हुनियो सुरक्षा र रक्षा,
सब जीवनमा भय थोपरियो ।
(तोटक)
थिए साथसाथी हजारौं हजार
यिनैले फकाए पिलाए सराब
कतैघाम लाग्ने कतै हुन्छ छाँया
यहाँ हाल यस्तै छ साथी खराब ।।
भुजङ्गप्रयात,
