नेपाली हित मात्र लेख्छ कनका

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

कनकधरा स्वामी स्वदेशानन्द

मेरामा पनि भावना रहर छन् सम्वेदना सान्त्वना,
मैत्री मानवता दया र ममता सौहार्द सद्भावना।
ईर्ष्या क्रोध विमर्ष हर्ष मनका होलान् अनेकौं कुरा,
नेपालीहितको विरुद्ध कनका लेख्दैन केही तर।।०१।।

मैले पाउनु छैन खान उनको भोका उनै छन् बरा,
आफ्नै वास विदेशको हुनगयो नेपाल देखिन् पर।
मेरो माइत हेप्छ मित्र बनिदै पीड़ा कहाँ खप्छु र!
नेपाली हित मात्र लेख्छ कनका मान्दैन केही डर।।०२।।

 

सिर्जन्छन् कविता सुधा कति सुधी संसार भर्ने गरी,
छैनन् अङ्ग अपाङ्ग छन् कति जना छन् शव्द जादूगरी।
गाउन्नन् कति शव्द सर्जकहरू भाषा छ जित्ने दिल,
गाऊन् राग भरेर गायकहरू पग्लन्न कस्को दिल ! ०३।।

भन्दाहुन् कतिले छुचो छ कवि यो विद्रोहमा बोल्दछ,
यो विद्रोह बचाउने रहरको सानो कहाँ त्याग छ?
डाक्दैनन् कविता सुनाउन कतै हुन्छन् कतै थर्थर,
नेपाली हित पक्ष बोल्छ कनका मान्दैन केही डर।।०४।।

मारौला यदि काल आउँछ भने को काल यो रोक्दछ?
लोहारे सय चोट ठोक्दछ भने मार्तोल के बोक्दछ?
धेरै काल खपे रचिन्छ कविता लोलो र पोतो गरी,
मेरा छन् प्रतिवादपूर्ण कविता विद्रोह बोल्ने गरी।।०५।।

यो आक्रोश कदापि हैन कविता विद्रोह साहित्यको,
नेपाली जन भावना उदयको नौलो विधा शोधको।
मात्रै दक्षिण दृष्टिपूर्ण कविता नेपाल देखिन्छ र!
फर्की उत्तर लेख्छु काव्य कविता विद्रोह के हैन र ? ०६।।

मारे मारिदिऊन् म मर्छु सहसा के बाच्नु धेरै अब!
इच्छा पूर्ण भयो मरें यदि भने टिस्टा पुर्याऊन् शव।
नेपाली प्रतिचिन्ह सूर्यशशिको झण्ड़ा लिएका दल
आऊन् फूल चढाउँदै सुनिरहून् खोज्दैछु माटो तर।।०७।।

मेरो अन्तिम सास पूर्व घरको विस्तार विस्तार होस्,
मेरो माइतका दलाल दलको सङ्हार सङ्हार होस्।
पृथ्वीको लयमा समस्त जनको हुङ्कार हुङ्कार होस्,
झुल्के घाम उदाउँदा क्षितिजमा नेपाल नेपाल होस्।।०८।।

छन्दः शार्दूलविक्रीडित
विनीतः कनकधारा स्वामी स्वदेशानन्द
मितिः ०७ जनवरी २०१८
समयः मध्य रात्री १२ बजेर १५ मिनेट
स्थानः कामाख्याधाम, गुवाहाटी(असम)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.