गजल– १,
सिउँदोमा छैन सिन्दूर नरोऊ मेरी दिदी
पाइन्यौ खुसी भरपूर नरोऊ मेरी दिदी ।
भाग्यले भनौँ कि खै नियतिले ठग्यो
इच्छा भए चकनाचुर नरोऊ मेरी दिदी ।
सम्हालिनु पर्छ दिदी जस्तै जे परे पनि
हिँड्नु पर्छ आफ्नै सुर नरोऊ मेरी दिदी ।
जिन्दगीमा हाँस्नु पर्छ मुटु मिचेर नि
दु:ख यै भयो पाहुर नरोऊ मेरी दिदी ।
जिन्दगी छ बाँकी अझै बाँचुञ्जेलसम्म
खुसी आउन छ आतुर नरोऊ मेरी दिदी ।
गजल– २,
सीता जस्ती पत्नी बन राम जस्तो पति
जिन्दगी नै राम्रो हुन्छ कहाँ हुन्छ खति ।
सुख दु:ख आफैमा छ मिली बाँड्नु पर्छ
मन मुटु मिलेपछि सुख कति कति ।
भौतारिनु किन पर्छ आफू आफैसित
सम्हालिन सक्यौ भने जिन्दगी हो गति ।
मन्मै खुसी छैन भने घाट हुन्छ घर
रमाएर बाँच्न सिकौँ राखौँ सङ्लो मति ।
भर छैन जिन्दगीको आज हो कि भोलि
बाँचुञ्जेल पनपक्ष गर्नुहुन्न अति ।।