सर्जक, रचना र अमरता !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

मुछी काँचो माटो थुपुथुपु थुपारी रङ दली
उठाएमा भित्ता श्रम अफल बन्छन् घर ढली
भकुण्डोमा हावा यदि नभरिए सुक्छ जसरी
उकासिन्नन् त्यस्तै कृति गहकिला भाव नभरी !!

ढुसी पार्दैपार्दै जति जिनिसका रास बटुलौं
बिटा बाँधीबाँधी जति महलमा दौलत हुलौं
परेका वेलामा चलन नगरे हुन्न गरिमा
स्वयं मर्छन् सारा कृति यदि नबाँडे मधुरिमा !!

 

बनून् ढिक्काढिक्का मृगहुल विपक्षी तर पनि
जुधे हार्छन् एकै गजसित सबै कायल बनी
जुधून् लाखौं बत्ती अरुण जसरी गर्छ विजय
चुली चढ्छन् थोरै कृति पनि बनाए गुणमय !!

सिसा राम्रो पारी जति रङ दलौं कोसिस गरी
कडा मुड्कीमा नै कणकण धुजा बन्दछ झरी
खनोस् जस्तै बाटो सलिल नभए सुक्छ सरिता
कला भाशाशैली सरस नभए मर्छ कविता !!

बसोस् चौतारीमा पथिक कसरी शीतलविना ?
पढोस् पढ्नेले के गहन नभए भावगहना ?
कहाँ चल्लान् गाडी यदि नभरिए इन्धनहरू ?
विना वर्षा बन्लान् हरित कसरी काननहरू ?

कडा खेदो गाली अपरिमित निन्दाक्षरहरू
प्रशंसा वा पूजा नमन घटिया सोतरहरू
नहून् टर्रा ढर्रा वमित रवका डङ्गुरहरू
रचून् स्रष्टा नौला अमृतमय भावाङ्कुरहरू !!

बडा हुन्छन् साह्रा नरिवल लिई बाहिर छुँदा
फुटाएमा आहा कति सरसिला छन् रससुधा !
कला भाषा शैली रस र लय हुन् इन्द्रियसरि
दिगो आत्मा झैं हुन् सृजित कृतिका भावलहरी !!

मिलून् ‘आहाआहा’ तरर थपडी गुञ्जनहरू
छिटै मर्छन् जान्छन् क्षणिक गुलिया चिन्तनहरू
चिरञ्जीवी स्रष्टा बनिरहन एकै छ तरिका
रचून् चाहे थोरै तर अमर हून् भावसरिता !!

छन्द: शिखरिणी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.