जब प्यारमा प्रेमको मीरा परी
तब सृजना भो गजल घरीघरी
प्रकृति साथमा बसी रमाउँदै
प्रशंसाले रङ्गभरी थरी थरी ।
मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।
मेरो छायाँ हौ तिमी बोलेर गयौ
मुखले माया दिल पोलेर गयौ
भ्रम पालेर बसेँ बुझिन धोका
बुझ्दैछु अाज विष धोलेर गयौ।।
म ऐलानी भएँ तिमी आवाद भएछौ
मिली रचेका ह्रासलिला अन्तै कहेछौ
मायामा विश्वास कमजोरी होइन
प्यारको बाँध फोरी अन्तै पो बहेछौ
स्वर्थी भए साथी छु एक्लै जीएकी
आफ्नै आँसु प्याला छु एक्लै पिएकी
अनोठो संसारको अनौठो रीति
खोटो आफ्नो भाग्य छु एक्लै सिएकी ।।
यै धर्तीमा रमाएर बाँच्न सकूँ जैलेपनि
फूल सरी मग्मगाइ नाच्न सकूँ जैलेपनि
अर्थ बोकी यो जुनीमा मृत्युपछि बाँच्नेचाह
देशकालागि सद्भाव साँच्न सकुँ जैलेपनि।
लुम्बिनीमा शान्ति दीप युगौँयुग बलिरहोस्
सद्भावना मौलाउँ खिचातानी न चलिरहोस्
स्वतन्त्रताको नाउँमा जाति धर्म नमासेरै
एकताको चोखो दीप हर आत्मा बलिरहोस् ।।
पहाडमा कोदोसँगै फापर नि फलिरहोस
कर्म प्रेमी नेपाली हौँ कर्मदीप बलिरहोस्
कृषि प्रधान देश भन्छौँ खेतबारी बाँझिदैछ
तराई फाँट गहुँ तोरी धान पनि ढलिरहोस
बुइ चढी तीर्थजाने यात्री हामी बन्ने छैनौँ
कर्म त्यागी कुर्ची ताक्ने गद्दार हो गन्ने छैनौँ
आफैलाई दाउमा लगाई आर्जेको यो देश
पूर्वजको नाम पूर्न आफै खाल्टो खन्ने छैनौँ ।।
(धरा)
