देवकी तिमल्सिना ‘समिक्षा’ का केही मुक्तकहरूः

Spread the love
Debaki, Timalsina, Samiksha, देवकी तिमल्सिना ‘समिक्षा’, pallawa, पल्लव

देवकी तिमल्सिना ‘समिक्षा’

मान्छे तिमी बन्ने भए कर्म ख्याल गर
मानवताको जहिल्यै धर्म ख्याल गर
तिम्रो मनमा साँच्चिकैको हरि छन् भने
गरीब र निमुखाको मर्म ख्याल गर ।

यो समाजमा छोरीको भिन्न जूनी छ
वेदना र पीडा हाम्रो सबै माटो मुनि छ
बाँधेका छन् बन्धनले छेकि छेकि काँडा
एकलौटी नियम बनाउने चलन खुनी छ ।

 

बाटुलो मोडा तिम्रो छुस्स दार्ही फूलेको छ
अनुहारको गहिराइमा मुस्कान खुलेको छ
हिमाल झै दन्तेलहर आहा!कति मिलेका
मेरो मनको मझेरीमा तिम्रो नयन झुलेको छ ।

संघीय मुलुक अब सबै मिलाएर जाऔं
धाँजासरी फाटेका सबै सिलाएर जाऔं
नेपाली हौं हामी नेपाललाई माया गर्न सकौ
देशको लागि हामीले केही दिलाएर जाऔं ।

नेता कुरा गर्छन् हरबखत भोटको
जनता कुरा गर्छन् हरबखत चोटको
यसरी त खै कसरी बन्ला र देश!
जुन जोगी आएपनि कुरा गर्छन् नोटको ।

जति दु:ख पाएपनि तिम्रै काखमा मर्न पाउँ
जूनी जुनी जन्मेपनि तिम्रै भागमा पर्न पाउँ
विश्वास र समर्पणको माया तिमीलाई नै भो
अजम्बरी नाता गाँसि तिम्रै माथमा सार्न पाउँ ।

मोबाइलमा म्यासेज आउँदा तिम्रै होकि हेर्छु म
बितेका सारा काम छोडि औंला रोकि हेर्छु म
धेरै टाढा नजाउ प्रिये ! आघात हुन्छ मन
तिमीलाई सजाइ राख्छु दिलमा छेकि हेर्छु म ।

यही माटोलाई फूलाउन काम गर्छु साथी
देशकै लागि केही गर्न फूल सार्छु साथी
देशको लागि रम्न सके पक्कै केही हुन्छ
झुपडिको कथा फेर्न मर्न परे मर्छु साथी ।

लाग्छ मलाई दन्त्या तिम्रो बात सुमधुर
आलिङ्गनमा बाँधिएको रात सुमधुर
कति मिठो मुस्कान छोडि मख्खै पारिदिने
सँगसँगै जंघार तर्ने तिम्रो हात सुमधुर ।

खै!कसरी बाँचु म रुँदै रुँदै यो शहरमा
कहिलेकाही लाग्छ खाना मिलाउँ जहरमा
आफ्ना मान्छे सबै पराई साथ दिने कोही छैन
कतिन्जेल आशा गर्नु मैले अर्काको भरमा ।।

Debaki Timalsina Samiksha

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *