भ्रष्टाचार !!

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

हे खल्ती किन पुक्क पुक्क हुनमै छन् लुब्ध तिम्रा मन ?
हे जिब्रा कति लुब्ध झैं हरघडी खोज्छौ नयाँ स्वादन ?
हे आन्द्रा र भुँडी पुटुस्स हुनमै माग्छौ मिठा भोजन
भ्रष्टाचार खुलेछ फारम भरी दिन्छौ कि आवेदन ?

हे कुर्सी कति खन्चुवा,विरसिला भोकाहरू बोक्तछौ ?
हे लौरा कहिले उठी सलहका घ्याम्पे भुँडी ठोक्तछौ ?
हे ढड्डा कति मेचका तल लुकी काला बिटा कुर्दछौ ?
हे खन्ती कति वर्ष दीन मनका आशाहरू पुर्दछौ ?

 

भ्रष्टाचार छ योग्यतासरि यहाँ जो भ्रष्ट ऊ श्रेष्ठ छ
भ्रष्टाचार छ इष्टमित्र सबको त्यो पूज्य उत्कृष्ट छ
अन्धो कानुन चिम्म बस्छ उसको आँखा कता हो कता !
को निर्धारण गर्छ यो बगरमा ‘को दैत्य को देवता ?”

चाल्नाको रज झैं बजेट चुहिई भट्टी पुगी अल्पिए
पौडी खेल्न कुवा बने सडकमा गाडी जुधे-पल्टिए
खाओ भोज निनाद-उत्सव गरी हे चील हे गिद्ध हो
भ्रष्टाचार खुला भयो अब नयाँ उन्मुक्ति के चाहियो ?

हे निर्वाचन केन्द्रका मतहरू निष्प्राण हे ढ्वाङ हो
हे निर्धा मतपत्रका तहहरू हे भोटका स्वाङ हो !
हे हे स्वस्तिक छापअङ्कित ठुटा हे छाप हान्ने मसी
पापी भ्रष्ट लखेट एकमनले अर्कै “चिनो”मा बसी !!

तन्नेरी ! अब मास्नु पर्छ सहसा ती भ्रष्टका टेबुल
काट्नै पर्छ अदम्य साहस लिई ती चोरका अङ्गुल
चाँडै फेरिनुपर्छ जोशबलले ती “भूतबस्तीहरू”
भ्रष्टाचार छिनाल्न बोक खुकुरी जाओस् जवानी बरू !!

छन्द: शार्दूलविक्रीडित
जयदेव गोविन्द
त्रिशुली, नुवाकोट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *