म कवि हुन सकिनँ

Spread the love
Ramesh, Chandra, Ghimire, रमेशचन्द्र घिमिरे ,pallawa, पल्लव

रमेशचन्द्र घिमिरे

मैले काँधमा भाटा बोकेर
सकी नसकी हिँड्दै गरेको र
मुस्किलले अडिएर मलाई
नमस्ते गर्दै गरेको चेलालाई भेटेँ
मेरो गुरुत्वले उसलाई
एक हातले अभिवादन फर्कायो
मैले उसको श्रमले पछ्याएको
गुरुभक्तिको आदर्शलाई बेवास्ता गरेँ
मलाई लाग्यो –
गुरुभक्तिको कष्टकर सम्मान बुझ्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

 

मैले भिरको धरापमा अडिएर
एक हातले हाँगो समात्दै र
अर्को हातले स्याउला काट्दै गरेको
किसानलाई भेटेँ
ऊ मुसुक्क हाँस्यो
उसको हाँसोमा मिसिएको आत्मीयतालाई मैले
खिल्ली सम्झिएर उपहास गरेँ
मलाई लाग्यो –
परिश्रमको मूल्य चिन्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

मैले मृत्युशैयामा परेर
निख्लो हाँसोसँगै छट्पटाइरहेको
बिरामी भेटेँ
मैले नबोलाए पनि उसले मलाई
चिरञ्जीवी भएस् भनेर आशीर्वाद दियो
म निरुत्तर भएँ
आफ्नो मृत्यु पर्खेर अरुको जीवनको
कामना गर्ने रोगीलाई मैले
सन्चो-बिसन्चो सोधिनँ
स्नेहले सुम्सुम्याउने मलम दिइनँ
मलाई लाग्यो –
जीवनको अर्थ खोज्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

मैले आफू दिनभरि काममा जोतिएर पनि
म पतिलाई
एक थाल डाइना मकैले स्वागत गर्ने
श्रीमतीलाई भेटेँ
निरुद्देश्य समय खेर फाल्ने म पति
मैले भोक नलागेको बहानामा
मकैको थाललाई पन्छाएँ
मलाई डाइना मकैसँगै गाँसिएको
निस्वार्थ पतिभक्ति मन परेन
मलाई लाग्यो –
नारीको आदर्श पतिभक्ति स्वीकार्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

चेलाको सम्मान बुझ्न नसक्ने गुरु बन्न सकिनँ
किसानको आत्मीयता चिन्न नसक्ने श्रमपूजक बन्न सकिनँ
बिरामीको आँसु पुछ्न नसक्ने पीडाबोधक बन्न सकिनँ
पत्नीको आदर्श छाम्न नसक्ने योग्य पति बन्न सकिनँ
त्यसैले
म कवि हुन सकिनँ ।

— मध्यनेपाल नगरपालिका वडा नं.६,
भोर्लेटार, लमजुङ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *