छोरी

Spread the love
Som, Niraula‎, सोम निराैला, pallawa , पल्लव

सोम निराैला

छोरी सागर हुन् नसम्झ खहरे खोल्सी तिनी होइनन्
छोरी साहस हुन् नसोच परकी नासो तिनी होइनन्
छोरी जाँगर हुन् नठान तिनले गीता ऋचा गाइनन्
छोरी घायल हुन् कदापि तिनले माया दया पाइनन् ।

गर्भैमा खतरा छ आज उनमा भ्रूणै निमोठिन्छ कि
जन्मैमा खतरा छ आज उनमा देख्दै निचोरिन्छ कि
यात्रामा खतरा छ नीच भँमरा गोही बनी डुल्दछन्
प्राणैमा खतरा छ किन्तु दिलका डाली भरी फुल्दछन् ।

 

छोराको खतरा छ आज उसले आमा छिटै भुल्दछ
लोग्नेको खतरा छ बेशरम ऊ अर्की लिई डुल्दछ
प्रेमीको भर के पुर्‍याउँछ झनै कोठी सिमाना छली
बाँकी सज्जनबृन्द बन्छ रमिते मानौं छ उन्कै बली ।

सीताजी प्रति न्याय हुन्न पतिको श्रीराम आफैं चुके
भुल्छन् बुद्ध यशोधरा हृदयका बेर्ना नहुर्की सुके
आफ्नो देश बचोस् भनेर भृकुटी आफू पराया भइन्
आफ्नो देश उठाउने रहरले पासाङ पल्टी गइन् ।

नङ्ग्याई उनको शरीर रमिता हेर्दैछ प्यासी मन
ऊर्जा हुन् यस सृष्टिकी पुरुषकी नृत्याङ्गना होइन
छोरीको जुन रूप होस् समयले अन्याय मात्रै गर्यो
हे छोरी खतरा छ हर्दम यहाँ विश्वास कस्तो रह्यो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *