धर्मानन्द भट्ट का जोर कविता

Spread the love
Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) मेरो इच्छा
तारा चम्किरहून् जुगौंजुग भनूँ आकाश हाम्रो घर
सारा लम्किरहून् भनेर म अझै पुग्नेछु टाढा पर ।
हिंड्ने मार्ग उही छ रे बुझ सबै त्यो बिन्दु पुग्ने उही
आत्मा भन्छ बिहानमा नयन यी कैले नजाऊन् चुही ।।

आत्मा मन्दिरमा चढाउन भनी रोप्दै छ जाहीजुही ।।
नेपाली मनका हरेक सपना कैले नजाऊन् तुही ।
आआफ्नो घरको मिली सब जना फालौं नराम्रो घुलो
पानीमात्र सधैं सफा तरहले बग्ने बनाऔं कुलो ।

 

गाथा उच्च रहोस् हिमाल शिरको कैले नझुक्ने गरी
हाँस्दै प्वाँख फिजी पहाड वनमा नाचून् सधैं यी चरी ।
माटो उर्वर भै मधेशतिरको फल्ने सधैं होस् जिरा
सिङ्गो देश रहोस् प्रदेशहरूमा बन्दै नजाओस् चिरा ।।

सस्तो धर्म नहोस् कुनै पल यहाँ भन्दै छ मेरो मन
स्वार्थी नेत्र फुटून् सबै अनि यहाँ देखिन्छ राम्रो वन ।
राम्रा फूल फुले सयौं हृदयमा नेपाल हाँस्ने थियो
भत्केका सब आज मन्दिर उठे बाल्ने थिएँ मै दियो ।।

पैसा टिप्छु भनी भुलीकन मुमा कोही नजाऊन् पर
छानोको घरमा बसी अब सबै बङ्ला बुझून् यो घर ।
हाम्रा बन्धुहरू यही दश वटा नङ्ग्रा खियाऊन् मिली
यै श्रीखण्डहरू फुलाउन भनी पाखा चियाऊन् मिली ।।

आत्मा हाँस्छ जहाँ त्यहाँ दिनदिनै पुग्ने गरोस् यो तन
देखी देश खुशी हरेक क्षणमा मेरो खुशी होस् मन ।
आफ्नै भूमि बुझी पहाडसित नै लाओस् तराई मित
हिन्दू,बौद्ध मिली बसून् दिनदिनै नेपाल आमासित ।।

मान्छे उड्छ कता बुझी अब छिटो बाँच्ने बनाऔं यही
चारो टिप्न चरा उडेर अबता टाढा नजाने कही ।
हाम्रो बाग सबै फुलोस् ढकमकै बास्ना सबैमा छरोस्
मौरी बाग डुलोस् बिहान पखमा हाँसेर चाका भरोस् ।।

छन्द: शार्दूलविक्रीडित

२) बाल कविताः पढ
पढ भन्छन् घरमा बाआमा पनि
पढ भन्छन् स्कूलमा गुरुले अनि ।

तिमी उठी बिहान पुस्तक पढ
पढीपढी ज्ञानको हिमाल चढ ।
हिमालको माथमा चढेर भोलि
सिक्नैपर्छ तिमीले नेपाली बोली ।।

रामायण लेख्नु छ तिमीले अर्को
लेख्नैपर्छ भन्छु म नमानी झर्को ।
राम गाथा पढ्नेछु तिम्रो त्यो मैले
त्यै भएर भन्दै छु पढ है ऐले ।

होमरजस्तै बन्नु छ तिमीले पढी
फल दिन्छ बुझ है लहरा बढी ।
पाइलट,डाक्टर तिमीले बन्न
सबैलाई यो देश बनाऔं भन्न ।।

कालीदास बन्नेछु भनेरै पढ
पढी बाँस तामाको मुनाझैं बढ ।
पढ्नेमात्रै घरमा शोभित बन्छन्
पढ छोरा त्यसैले बाआमा भन्छन् ।।

सबै थोक पढाइ हो मलाई लाग्छ
पढेमात्रै मनको अँध्यारो भाग्छ ।
सागर छुन दिन्दिनै नदीझैं बढ
विद्यालय गएर सबैले पढ ।।

ठेगाना : ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *