पिडा भित्र रुझेर
नुनिला आंशुले
निथ्रुक्क भिजेको
त्यो नुनिलो माटो होइन,
मेरै माटोमा
आफ्नै पौरखले फल फल्ने
अलिनो माटो खोजिरहेको छु।
आफ्नै भातृत्व माथी निसाना बनाई
सिकार खेलिरहने
बस्ती बोकेको त्यो प्रान्त होइन,–
गौतम बुद्धका उपदेशहरू
कुँदिएर सान्तिको दिप
जगमगाइरहेको देश
खोजिरहेको छु।
रगतम्य हिलो भित्र
पौडी खेलिरहदै मुर्छित बनेको
त्यो हिलाम्मे देश होइन,
कमलको फुलमाथी उभिएर
टहकिलो जुन र न्यानो घाम बोकेर
टहकाइरहेको देश
खोजिरहेको छु।
कित्ता कित्तामा
खण्ड खण्ड बनी
ऐना सरि झुर्किएर
छरिएको देश होइन,
भाइटिकामा उनिएको
मखमली माला झैं
नेपाली मनहरू एकतामा उनिएको
सिङ्गो देश खोजिरहेको छु।
पराइले बलत्कार गर्न
लछार पछार पारेको
त्यो क्षत विक्षत बलत्कृत
भुमी होइन,
सिताको सतित्व झैं
पबित्र देश
अनि,
सगरमाथा जस्तै चुलिएको
आफ्नै देश खोजिरहेको छु।
बैमानहरूले
लचिलो काँध बनाई
आफ्नो काँध थाप्न
नसकी
पराधिन बनाउन खोजेको
देश होइन,
युवा शक्तिले काँध थापेर
साहास भरेको
संरक्षित र समृद्धि देश
खोजिरहेको छु।
कतैबाट हावाले हुत्त्याएर ल्याएको
कृतिम अत्तर बसाउने
दुर्गन्धीत देश होइन,
आफ्नै बगैंचामा
फुलेको फुलको बास्ना
मगमगाइरहेको देश
खोजिरहेको छु।
घाम अस्ताई औंसिको रात भित्र
भौतारिरहेको देश होइन,
लालिगुरासको
मनोरम मुस्कानमा
सुर्यको आयम सङ्गै
बिहानिको सुनौलो घुम्टोमा सजिएर
निर्धक्क हासिरहेको
म मेरो देश खोजिरहेको छु।
प्रतिमा पोख्रेल
