‘खेल’

Spread the love
Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

मसँगसँगै गट्टा खेल्ने
बालसखी !
ए उजेली र काली !!
उतिखेर तिमी हामी खेल्दा
तिमीहरू मलाई उछिन्थ्यौ
म सबै बाजीमा
सधै हार्थे नि है !!
म हार्दा
नानी, सानी र फूपुहरू थपिएर
खुब हाँस्थ्यौ नि है !!

 


अनि म
तिमी दुईसँग कट्टी गरेर
नानी, सानी र फूपुहरूसँग खेल्थे ।
उनीहरू हुटिङ् गर्थें
झेली गर्थें
मलाई पटक पटक हराउँथे
र त म
फेरि तिमी दुईसँगै खेल्थे नि
है उजेली है काली !
तिमीहरूलाई स्मरण छ या छैन ?
ए मेरो बालसखी
उजेली र काली !!
तिमीहरू यतिखेर
कहाँ छौ कता छौ कुन्नी ?
म त खुब यात्रा गरें, जीवनको
बोकेर कर्तव्यको भारी
बिरानो ठाउँमा
अपरिचितहरूसंग
खेल्दै जीवनरूपी गट्टा
हिडिरहेकै छु ।
जिन्दगीका
हरेक बिसौनीहरूमा
सम्झीरहेछु तिमीहरू
नानी, सानी रफूपुहरू
मेरो जीवनका
सुरुवाती खेलका पात्र !
आजसम्म मलाई
झल्झली याद आइरहन्छ
त्यो खेल !!
र, त्यहाँ हारेको मैले ।
तर आज
विरानो मैदानमा
जीवन रुपी गट्टा खेल
विना हुटिङ्
विना समर्थ
हाँसीहाँसी खेलिरहेछु
हो उजेली हो काली !!
यहाँ म
सहजै विजयी भइरहेछु ।
कोही आफन्तले नचिमोटेपछि
घाउ नदुखेपछि
कसैले नघच्चाएपछि
र, नलडेपछि
खेल त
मस्तिष्कले खेलिदोरहेछ
यहाँका सबै खेलमा म सामेल छु ।
मेरा बालसखि !
मेरा आफन्त !
नानी, सानी र फूपु
तिमीहरूले देख्यौं देखेनौ ?
सुन्यौं या सुनेनौ ?
तिमीहरू विना
म हरेक पटक
मेरो जीवन खेलमा जितिरहेछु !
विजयी भइरहेछु !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *