मेरो आँखाले देखेको ‘मन्दिर र माओ’ कवितासङ्ग्रहः

Spread the love
Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

रामकुमार पण्डित क्षत्रीद्वारा लेखिएको प्रस्तुत पुस्तक २०७४ भाद्रमा शब्दार्थ प्रकाशन चाबेल,काठमाडौंबाट प्रकाशित भएको हो । लेखकको यो कृति ‘ देशको खोजी ‘ लघुकथा सङ्ग्रह -२०७१ र ‘ बुद्ध विचार ‘ बालकविता सङ्ग्रह -२०७३ पछिको तेस्रो हो । छोटोमा धेरै भन्ने प्रतीकात्मक शैली तथा कलात्मक व्यङ्ग्यको तीखो प्रस्तुति दिने कवि क्षत्रीले यसमा समेत त्यो शैली छोडेको पाइन्न नै । आफ्नो लेखनको दोस्रो दशकका कविको कृति मन्दिर र माओमा मेरा आँखा यसरी लाग्छन् :

 

गाताबाहेक ९५ पृष्ठको यस कृतिको मूल्य १५० रहेको छ ।
कृतिलाई परिचय र विषयवस्तु खण्ड गरी दुई भागमा बाँडेको छ । प्रा . राजेन्द्र सुवेदीले पाँच पृष्ठ कवि र कविताको परिचयका लागि खर्चेका छन् । कविको साहित्यारम्भ,विशेषता,कविता शीर्षक तथा शुभकामना यस खण्डमा पाइन्छ । प्रतीकात्मक शैली,छोटोमा धेरै भन्नु,विम्ब प्रयोग तथा कलात्मक व्यङ्ग्य कविको विशेषता रहेको उहाँको ठम्याइ छ । यस खण्डमा प्रकशन,उर्जा राष्ष्ट,क्रिायात्मक शब्द अशुद्ध छन् जो क्रमशः प्रकाशन,ऊर्जा,राष्ट,क्रियात्मक हुनुपर्ने हुन् । नामयोगी शब्द कतै पदवियोग भएका छन्; पदयोग भए राम्रो हुन्थ्यो । विम्ब र बिम्ब दुबै शब्द प्रयोग नभई विम्ब शब्द नै राम्रो हुन्छ कि एकरुपताको लागि । पहिलो हुनुपर्नेमा पहिले भएको छ एक ठाउँमा । अधिकथन र अभिकथन सायद एउटा शब्द हुनुपर्ने हो लाग्छ; कुन सही हो ?
अन्य शैली पक्ष अति उच्च कोटिको पाइन्छ तर कविता शीर्षक नदिएको भए नि हुने मेरो विचार छ किनभने अनुक्रमणिकामा राखिएकै थियो ।
लेखकको भूमिका खण्ड ‘ भन्नै पर्छ ‘ शीर्षकमा कवि आफैंले सबैले बुझ्ने भाषामा लेखेको बताउनुभएको छ तर त्यस्तो बुझ्ने भाषा भने छैन; कारण हो विम्ब प्रतीक प्रयोग लाग्छ । यहाँ पनि छदै,सकुन्,भएको पाएँ जो शब्द छँदै र सकून् हुनुपर्छ । नामयोगी शब्द पदयोग नभएको देखिन्छ यता पनि । समग्रमा कविले पढ्दा कविता नबुझ्ने गरेको प्रसङ्गमा बुझ्ने कविता लेखेको बताएको पाइन्छ ।

कवितासङ्ग्रहभित्र रहेका कवितामाथि मेरा आँखा यसरी लाग्छन् :

१. भमरा

यस भमरा कवितामा भमराको कार्यलाई सोझो रूपमा देखाइएको भए तापनि भ्रष्टाचारलाई प्रतीकात्मक रूपमा देखाउन खोजेको छ । मान्छेको आफैं भ्रष्टाचार गर्ने र आफैं पानीमाथिको ओभानो हुने स्वभाव प्रष्ट देखिन्छ यहाँ । शोषणमै जीवन चल्ने गरेको यथार्थता यस कवितामा भमराको माध्यमबाट देखाइएको छ । भ्रष्टाचार गर्ने व्यक्तिको प्रतीक भमरा बनेकोले शीर्षक सार्थक देखिन्छ ।
प्रेम गर्ने,सबै चम्पा चमेलीलाई परिपक्व बनाउने म एक हुँ जो पत्नीब्रता होइन म भनेर आफैं नाङ्गो हुँदै आफ्नै गुण गाउने समाजका कलङ्कहरूलाई कविताले झापड हानेको देखिन्छ ।
एकतीस हरफीय यस भमरा कवितामा जम्मा एक श्लोक पाइन्छ । छोटो तर पूर्ण यस कवितामा कोटिकोटि,ऊर्जा शब्दबाहेक अरु शुद्ध छन् । फूललाई देश र भमरालाई भ्रष्टाचारीको रूपमा चिनाएकोले कविता विम्ब प्रतीकको आधारमा उत्कृष्ट बनेको देखिन्छ । अन्त्यमा दुइटा अनुच्छेदसम्म टुक्रा पार्दा कविताको संरचना राम्रो देखिन्थ्यो कि ?

‘ म ‘ प्रथम पुरुष दृष्टिबिन्दु तथा आलङ्कारिक शैलीको प्रयोग गरिएको यस कवितामा परोक्ष रूपमा भमराबाट फूल लुटिनु हुन्न भन्ने सन्देश पाइन्छ ।

२. बोतलभित्रको बोली
एक श्लोकीय यस कवितामा पनि खोक्रो नेपालीपन भएका नेपालीलाई झटारो हानेको पाइन्छ । नेपालको भूमिमा जन्मेर यही हातमा कोदालो कुटो नलिने र अरबको तातो बालुवामा बुई चढ्ने मनहरूलाई देखावटीपन त्याग्न अनुरोध गरेको छ । यही नङ्ग्रा खियाउनुपर्छ भन्ने सन्देश यहाँ पाइन्छ ।

तेत्तीस हरफमै तीन करोड जनतालाई सचेत बनाउन खोजेको छ र बिदेशी ब्वाँसाहरूलाई पनि लुम्बिनीलगायतको भूमि मेरो हो कब्जा गर्न नखोज भनेर भन्न कविता सफल भएको छ । काम नगर्ने कुरा गर्नेलाई बोतलको बोली जो नसामा हुन्छ र मात लागेर बोलेको हुन्छ भन्न खोजिएको छ । अब हामी सबैले बोतले बोली फ्याक्नुपर्छ र बुलन्द आवाज सुसेल्नुपर्छ भन्ने सन्देश यस कविताले दिएको पाइन्छ ।

सरल तर व्यङ्ग्यात्मक शैलीको प्रयोगले बौद्धिक जमातबाहेककाले बुझ्न गाह्रो छ ।

३. फरक
तिमी विशाल,आफैं पटाका बनाउने,तिमी पैसा उडाउने,मेरो चङ्गा हावाले खस्ने तथा म होचो र साँघुरो,चङ्गा तिमीसित किन्ने,मेरो चङ्गा तिम्रोमा अल्झिएर खस्ने आदि फरक देखाउँदै धनी र गरीब,नेपाल र गैर नेपाल,तल्लो र माथ्लो आदि वर्गको बिभेदतालाई कविता फरक कवितामा देखाउनुभएको छ ।

निराशामात्र छैन यहाँ आशा पनि छ । बिदेश पसेका बन्धु पनि अब आउँछन् र यतै पुराना कागजको व्यापार गरी नयाँ रूप निर्धारण गर्छन् भनेको पाइन्छ । चार श्लोकको गद्य कविता फरकमा पनि विम्ब शैलीले सगरमाथा चढेको पाइन्छ नै । फरक हुँदैमा निराश नभई आफ्नो व्यापारलाई नयाँ रूप दिनुपर्छ भन्ने सन्देश कवितामा पाइन्छ ।

४. फूल फुलेको याम
क्रान्तिलाई फूल प्रतीक बनाएर लेखिएको यस कवितामा दुई श्लोक छन् । गन्धेझाररुपि बेथिति मौलाएको बेला क्रान्तिरुपि फूल फुली प्रगतिको सुगन्ध दिएको र दिनुपर्ने पनि कविताको मर्म छ । प्रदूषित हावाले दासढुङ्गा घटना निम्त्याए पनि मदनरुपि कयौं फूल उम्रिसकेका छन् यसर्थ फूल बागमा भमरा आउन नखोज भन्ने कुरा कविताले बोलेको छ । यो पवित्र फूलको बगैंचा हो न कि गन्धेझार फुल्ने । कसैले बागरुपि नेपालको सीमा पिलर सार्न नखोज भन्दै देशप्रेम छचल्किएको छ कवितामा ।

देशमाथि धावा बोल्दामात्र फूल फुल्छन् ; गाउँ,शहर उर्लिन्छन् र उर्लिनुपर्छ पनि भन्ने कविताको सन्देश पनि हो । समग्रमा कविता सरल,भावमय,देशप्रेमले ओतप्रोत देखिन्छ ।

५. खुसी
दुइटा अनुच्छेद रहेको खुशी कवितामा खुशी हुने कारण बताउन खोजिएको पाइन्छ । कोही चलेको राष्टिय पत्रिकामा आफ्ना कविता छापिदा,बालक जन्मदा आमा र धनीको घरमा जन्म हुँदा कोही खुशी हुने गरेको दुर्दशा यहाँ पाइन्छ । तर मेरा सन्तान लुरे,ख्याउटे,चेप्टे भए पनि म गर्व गर्छु किनकि बलिया सन्तान पराइले दमन गर्दा आमाको फरियाभित्र जान्छन् । ठूला,बलिया नामका छोराहरू दबिने र लुरे सन्तानले पराइलाई खेद्ने गरेकोबाट समाज राम्राभन्दा हाम्रामुखी भएको यथार्थता कवितामा पाइन्छ ।

पहुँचले मान्छे अगाडि बढेको र क्षमतावान् मान्छे पछि परेको तीतो यथार्थतालाई व्यङ्ग्यको माध्यमबाट कवितामा प्रस्तुत गरिएको छ जसमा कवि खुशी हुन नसकेको पाइन्छ ।

६. कुमारी फूल
सत्ताईस हरफको एक श्लोकीय कुमारी फूल कवितामा एउटा फूलले आफू नफक्रेको हुनाले भमराले नछोएको दु:ख व्यक्त गरेको पाइन्छ । फक्रेका फूलहरूमा भमरा डुलेको देख्दा आफू विरूप भएकोले यस्तो एक्लिएको महसुस गरेको पाइन्छ ।

कलिलो फूलरुपि नारीले आफू जस्तो भए पनि पवित्र रहेको बताउँदै जेजस्तो ईश्वरले दिन्छ त्यस्तैमा रमाउन जान्नुपर्छ भन्ने सन्देश दिएको पाइन्छ । कताकता आजको धमिलो समाजप्रति पनि यस कविताले व्यङ्ग्य हान्न खोजेको पाइन्छ । बालप्रेमीहरूलाई र विरूप नारीहरूलाई मन बुझाउन कविता सफल भएको मैले पाएको छु । अनुकूल र सम्झाउँदै शब्दबाहेक सबै शुद्ध रहेका पाइन्छन् । अलि प्रतीक,व्यङ्ग्य शैलीले कविता उत्कृष्ट बनेको पाइन्छ ।

७. लामखुट्टेका सपनाहरू
यस कविताको शीर्षक नै प्रतीकात्मक छ । भ्रष्टाचारी सबैलाई लामखुट्टे भनेको र सपनाहरू भनेर उनीहरूको रगत चुस्ने प्रवृत्तिलाई कवितामा व्यक्त गर्न खोजिएको पाइन्छ । देशको कुभलो चाहनेले सधैं मौका छोप्ने गर्छ । आफ्नोमात्र फाइदा खोज्छ । जनता र देशको माया हुँदैन । अरु जेसुकै होऊन् आफू रगत चुस्न पाए हुन्छ भन्ने लामखुट्टेहरूलाई गतिलो झापड यस कविताले हानेको पाइन्छ ।

सात वटा श्लोकमा पूर्ण यस कवितामा सबैलो भलो चिताउनुपर्छ र लामखुट्टे प्रवृत्ति हटाउनुपर्छ भन्ने सन्देश पाइन्छ । देशको चिन्ता देखिने यस कविता कुनै ठाउँमा भाषिक अशुद्धि हुन गएको भए पनि अर्थगत बिशिष्टताले कविता मजबुत बनेको देखिन्छ ।

८. महानदी
आफ्नो नसाको रगत बुझाउन प्रतीक बनेर आएको यो महानदी शीर्षक आफैंमा व्यङ्ग्यपूर्ण छ । नेपाल र नेपालीलाई चिनाउन कवि तम्तयार देखिन्छन् यहाँ । कोशी,कर्णालीको पानी आफ्नो रगत हुनुपर्छ सबै नेपालीमा र मुटु बुझेर नेपाललाई ताजा पार्नुपर्छ,सबै ठाउँ सिञ्चित पार्नुपर्छ,नसामै बाँध बाँधी बिजुली निकाल्नुपर्छ । यसो गर्न नसके मलाई पीर लाग्छ भन्दै सबै नेपालीलाई सचेत बनाउन सफल छ कविता । दुई हरफीय छ श्लोक रहेको कविता लययुक्त छ । हाम्रा महानदी हाम्रै नसाका रगत हुन् । यो रगत नेपाल र नेपालीकै लागि सदुपयोग गर्नुपर्छ भन्ने विचार कविको पाइन्छ ।

९. मन र प्रकृति
पीपल छहारी,खेत,हिमाल,माटोको सुगन्ध आदि उस्तै छ तर मेरो घर भने प्रविधिले आधुनिक बनाएछु,धर्तीलाई भस्साएछु जसको लाग्दा दिगो विकासमा म बाधक भएको कुरा कविताले बोलेको पाइन्छ । यस्तो गल्तीमा सजाय मैले नपाएर किन मेरो सन्तानहरू पाउँछन् ? यो सजाय मैले नै पाउनुपर्छ भन्दै कवितामा मन र प्रकृति एक हुनुपर्ने भाव देखिन्छ ।

कविता उच्चस्तरीय देखिन्छ । मनले प्रकृति र प्रकृतिले मन बुझ्नुपर्छ भन्ने भनाइ यहाँ पाइन्छ तर यी दुबै कुरा दर्शनको विषय भएकोले कविता बुझ्न असजिलो भएको पाइन्छ । छोटो भए पनि समग्र कुरा समेट्ने भएकोले बोधगम्य हुन अलि असहज देखिन्छ । दुई श्लोक रहेको यस कवितामा भाषा आलाङ्कारिक नै छ ।

१०. मन्दिर र माओ
मन्दिर र माओ कविता सङ्ग्रहभित्रको यो कवितामा मन्दिर धर्मको घर र माओ मान्छे हो । मान्छेले अफिमको नशारुपि धर्म मन्दिरबाट नै कमाउँछन् जुन देखावटी छ । मनभित्रको मन्दिर जगाउनुपर्छ जो मान्छेले ढलाइसके भनेको पाइन्छ । नसा पिएर मन्दिर जानु अनुचित हो भन्ने भाव कवितामा पाइन्छ । मान्छेले मन्दिरसँग कब्जियत रोकियोस्,सपाङ्गसरह अपाङ्गले नि सेवा गर्न सकोस्,बालकझैं बूढोले आँखा देखोस् आदि वरदान माग्छ । यो वरदान मन्दिरले नभई मनले दिने भएकोले मन पवित्र हुनुपर्ने कविताको भाव छ ।

छ श्लोक रहेको कविता मूर्ति नभई मन पुज्न आग्रह गर्दछ तर समाज उल्टो बाटो हिंडेकोमा कविता चिन्तित देखिन्छ । नढलूँ शब्दबाहेक सबै शुद्ध,भाषा सहज,सन्देशमूलक भक्तिभावपूर्ण कविता मनले मन्दिर पुज्न माओलाई आग्रह गर्दछ ।

११. पीडा
यस कवितामा निरीह जनताको पीडा देखिएको छ जसको लाग्दा आफ्नो घर ( देश ) को सीमा पिलर सरेको देखाइएको छ । पानीबिना ओइलाएको फूलझैं हामी बनेका छौं जसलाई ओरालो लागेकोलाई मृगले खेदेझैं खेदिरहेको छ । यस्तोलाई छिमेकीले मुखमा रामराम बगलीमा छुरा गरिरहेको छ जसले गर्दा हामी दशैंको बोका बनिरहेका छौं । यो हाम्रो पीडा हो भन्नू नै कविताको विषय हो ।

फूललाई स्वतन्त्र बाँच्न दिइएको छैन । विभिन्न छल गरेर सीमास्तम्भ ढलाइँदै छन् । यस्तो अवस्थामा सबै सचेत हुनुपर्छ भन्ने सन्देश कवितामा पाइन्छ । देशप्रेम छचल्किएको कवितामा सीमास्तम्भ बचाउनुपर्ने आग्रह छ । बगैंचा शब्द बगैचा भएकोबाहेक अरु ठीक छन् । ४५ हरफको एउटा श्लोकभन्दा श्लोक बिभाजन भएको भए अझ संरचना सुन्दर हुने थियो कि भन्ने देखिन्छ । समग्रमा समग्र नेपाल र नेपालीको पीडा देखाउने कविता हो लाग्छ ।

१२. आधार शिविरबाट उभिएर हेर्दा
यस कवितामा जीवन चरणको व्याख्या र ती चरणका अनुभव कविताको विषय बनेका छन् । कुनै पनि व्यक्ति आफ्नो बिगत,आगतको बारेमा सोच्ने गर्छ । बालक,बालक,रजत,हिरक,बूढो सबै उमेरमा मान्छेका बिगत,आगत मनमा खेलिरहेका हुन्छन् जो स्वाभाविक हुने गर्छन् । कवितामा कहिले बालापनमा बा भनेको,कहिले गुलेली हानेको,कहिले हनीमून बनाउन नगरकोट गएको त कहिले कसैले काका भन्दा झल्यास्स भएको स्मरण देखाइएको छ ।

जीवन छ,चलिरहन्छ,समयसितै जानुपर्ने हुन्छ तर मन सधैं जवान हुने गर्छ । यसै मनले बिगत,आगत सम्झाउने गर्छ भन्ने कुरा कवितामा पाइन्छ । जीवनका आरोह अवरोहको विश्लेषण गरिएको कवितामा पाँच श्लोक रहेका छन् । समयको महत्त्व झल्काउने कविता मान्न सकिन्छ समग्रमा ।

१३. ऐंजेरु
नाम शब्द रहेको यस कवितामा चुनावको प्रसङ्ग अलि र अलि बिदेश पसेका छोराको चिन्ता आमाहरूलाई र देशको चिन्ता अझै बढी पाइन्छ । शीर्षकले समस्या बोध गरेको छ । विभिन्न प्रयासले जमिन जोतें,उच्चस्तरीय बीउ छरें,फेरि ऐंजेरु पलाउन छोडेन भन्ने प्रसङ्ग कवितामा छ । बीउ रोपी नयाँ फलको आशा गर्दा आफू सिमलको रुखझैं खोक्रो भइसक्ने चिन्ता मानिसमा रहेको देखिन्छ । अन्त्यमा ऐंजेरु हटाउन बूढो आमाबाले बिदेश पसेको छोरा पर्खेको देखाएको छ ।

देशमा समस्याको ऐंजेरु पलाउन दिनुहुन्न । हरेक ऐंजेरु हटाउन हामी डट्नुपर्छ भन्ने सन्देश कवितामा पाइन्छ । हरेक व्यक्तिले राम्रो कुरा रोप्नुपर्छ,रोपे फल्छ नै भन्ने विचार यस कवितामा कविको छ । ऐंजेरु घातक हुन्छ रुख,फलफुल सबैको लागि यसर्थ यो हटाउन सबै अधि बढ्नुपर्छ भन्ने भनाइ तीन श्लोकभित्र राखिएको पाइन्छ ।

१४. नारी आकार
यस कवितामा नारी कोमलता,गुणको चर्चा पाइन्छ । पानीसँग तुलना गरिएकी नारी पानीझैं गुणयुक्त हुने बताइएको छ । पानीलाई जुन रङ,स्वाद,आकार दियो त्यही हुने भन्दै नारीको मेलमिलापलाई देखाउन खोजिएको छ । पुरुषको प्रेम प्यास मेटाउने,परिवार चलाउने,कुमालेले चाहेझैं घररुपि भाँडा बनाउने र शीतल जल वर्षाउने क्षमता नारीमा हुन्छ भन्ने वियष कवितामा पाइन्छ । नारी यतिमात्र नभएर रिसाए कालो बादल बनी नोक्सानी पनि गर्न बेर लागाउँदैन भनिएको छ । हामी जे सोच्छौं त्यही हुन् नारी ।

कविताले नारीशैलीको चर्चा गरे पनि व्यङ्ग्यमा कुनै कुरा हेर्ने हेराइमा भर पर्छ । फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार हुन्छ यसर्थ हेराइ राम्रो हुनुपर्ने सन्देश कविताले दिएको देखिन्छ ।

पुरुषरुपी शब्दबाहेक अरु शुद्ध छन्,तीन अनुच्छेद,नारी चित्रण,मनको आँखाले आकार निर्धारण गर्ने जस्ता कुरा कवितामा पाइन्छन् । नारीको मिलनशीलतालाई कविताले केन्द्र बनाएको छ ।

१५. नयाँ नेपाल
नयाँ नेपालमा घोकन्तेले महाकाव्य नबुझेझैं विवेकशील जनताबिना नयाँ नेपाल नबन्ने कुरा पाइन्छ । घोकन्ते बीउले नयाँ नेपालरुपि फूल र फल दुबै राम्रो नहुने स्पष्ट छ भन्दै कविता पूर्ण बनेको छ । तीन अनुच्छेद रहेको कवितामा नेपाल अनेक जातको फूलबारी हो । नेपाल सबै फल फल्ने रुख हो जहाँ फल झार्न बैरीहरूले अनेक प्रयत्न गरिरहेका छन् । मीठा फल ठुँग्ने चराको बिगबिगी छ ।

समग्रमा नयाँ नेपाल बनाउन सबै तम्सिनुपर्छ,फल ठुँग्ने सबै चरा धपाउनुपर्छ,नेपाल भन्नेमात्र त पढ्नेमात्र होइन बुझ्न जरुरी छ र विवेकशील बीउ बन्नुपर्छ जसले गर्दा नयाँ नेपाल बनोस् भन्ने उद्देश्य कवितामा पाइन्छ । देशको चिन्ता बोकेको कवितामा सन्सार र दुइवटा शब्दबाहेक सबै शुद्ध छन् । संरचना खण्ड पूर्ण छ । पदक्रमको शैली मीठोमात्र होइन सहज र बोधगम्य पनि छ । अब सबै उठेर जुरेको पहिरो हटाउन हिन्नुपर्छ भन्ने भनाइले कवितामा देश बनाउनुपर्छ भन्ने आशय झल्किन्छ । नयाँ नेपाल हुन नदिने सबै बीउ अब फाल्नुपर्छ र विवेकशील बीउ खोज्नुपर्छ भन्ने मूल कथ्य यहाँ पाइन्छ ।

१६. पदासन
पदको आशन पदासन भएको यस शीर्षकमा बूढो शासकले शासन गर्न नसक्दा देशले नोक्सानी भोग्नुपरेको यथार्थ देखाइएको छ । बूढो रुखका पात झर्दै गरेकोमा अर्जुन चिन्तित भएका छन् । पदासन गराउन अर्जुनलाई द्रोणले सिफारिस गरेको पाइन्छ किनकि अर्जुन वाणले कुचरो तथा कुशासन सबै मर्ने देखाइएको पाइन्छ । अनि सुन्दर कमलको फूल फक्रने र वैकुण्ठ ब्रह्माको पदासन हुने निश्चित छ भन्दै कवितामा अर्जुनजस्तो जासुसी शासकको खोजी कविले गरेका छन् ।

चार श्लोक रहेको कवितामा दुइटा हुनुपर्नेमा दुईटा भएको शब्दबाहेक अरु ठीक छन् । मीठो शैलीमा लेखिएको कविताले असल पदासनले देशको प्रगति हुने अपेक्षा राखेको पाइन्छ ।

१७. अर्को राष्टिय विभूती
यस कवितामा देशको विभूति चिन्न र चिनाउन नसक्ने स्वाँठहरूलाई झटारो हान्न खोजिएको छ । विदेशको डलरमा यहाँका टाउकेहरूले विभूति घोषणा गर्ने गर्छन् जुन कार्य देशको लागि राम्रो होइन । सच्चा विभूतिको अपमान गर्नुहुन्न भन्ने भाव यसमा पाइन्छ । देश छोडेर पर जाने र त्यहाँ जे काम पनि गर्ने अनि नेपाललाई छोडेकोमा लाचार हुने गरेको अहिलेको जमातलाई कविताले यही केही गर्न आग्रहसमेत गरेको पाइन्छ । त्यहाँ थोरै पैसामा धेरै काम गर्ने तर यहाँ नगर्नेलाई दह्रो झापड हानेको यस कवितामा पाँच,छ ठाउँबाहेक सबै शब्द शुद्ध रहेका छन् । भाषा सरल भए पनि बुझ्न कठिन छ नै । समग्रमा देशको विभूति डलरमा नभई योगदानको आधारमा हुनुपर्छ भन्ने भाव कवितामा पाइन्छ ।

१८. भित्री संसार
आफ्नो खुशी आफ्नै मनमा हुन्छ । पाप,धर्म आफ्नै कर्म हो । ऊर्जाको नदी आफैंभित्र बगाउन सकिन्छ । दानव,मानव आफैंभित्र हुन्छ । सबै थोकको मूल आफू स्वयम् भइन्छ । सबै उज्यालो खोज्छन् गरीबको सत्तारुपि कुर्सीमा अँध्यारो हुन्छ । ती पनि उज्यालो खोज्छन् भन्ने विषयवस्तु कवितामा पाइन्छ ।

कविता छोटोमा पूर्ण देखिन्छ । मनको संसार उज्यालो हुनुपर्ने भाव पाइन्छ तर सत्ताको कुर्सीमा बस्नेले सधैं कुभावनाले देशलाई हेर्ने गर्छ जुन राम्रो होइन भन्ने भाव पनि कवितामा पाइन्छ । मन वा मान्छेको भित्री संसार उज्यालो हुनुपर्छ भन्ने समग्र भाव बोकेको कवितामा सामान्य तथा साहित्यिक पदक्रम दुबैको प्रयोग पाइन्छ । कतै शब्द गल्ती हुन पुगे पनि भावमा असर नपारेको देखिन्छ । यसो भन्दै जाँदा गल्ती भए पनि चल्छ भन्ने चाहिं होइन ।

१९. घाम
मलाई रुवाएर तिमी खुशी हुन्छौ । म दु:खीको सहयोगी बनूँ । गुणीलाई लडाउँछौ तिमी । घर भडाउँछौ तिमी भन्दै कविताले घामरुपि ज्ञानले अँध्यारो हटाउनुपर्ने भाव बोकेको छ । घर जलाई हात सेक्ने तिम्रो बानी नराम्रो हो भन्दै मेलमिलापको भावना सबैमा हुनुपर्ने कविता बताउँछ । सबैसँग मिल्नुपर्छ र अँध्यारो हटाउन घाम खोज्नुपर्छ भन्ने कवितामा तीन श्लोक रहेका छन् ।

यो कवितासङ्ग्रहभित्रकै एकमात्र छन्द कविता हो जुन भुजङ्गप्रयात छन्दमा लेखिएको छ । यस कविताको पहिलो र तेस्रो श्लोकमा छन्द भङ्ग भएको देखिन्छ । पहिलो श्लोकको तेस्रो हरफमा अजिर्ण ,चौथो हरफमा सकुँ तथा चौथो श्लोकको पहिलो हरफबाहेक सबै हरफमा छन्द भङ्ग भएको पाइन्छ ।

२०. मनभित्र
जन्मदै वृद्ध हजुरबा,साउने झरीले रुझेकी रोगी हजुरआमा र ममतामयी आमाको लास जसले देख्छ उसले मनभित्र वसन्त देख्दैन । जीवनलाई मनभित्र उसैले खोज्छ । हरेक चिजलाई मनले हेर्न सक्नुपर्छ । शान्ति मनभित्र पाइन्छ राम्रोसँग हेर्न सके भन्ने कुरा कवितामा पाइन्छ । धर्तीमै मगमगाउने फूल फुलेका छन् तर त्यो वासना खोज्न मान्छे धेरै ठाउँ भौतारिन्छ । मन नराम्रो भए राम्रोमा पनि नराम्रो र मन राम्रो भए नराम्रोमा पनि राम्रो देखिन्छ भन्ने भाव कवितामा पाइन्छ ।

चार श्लोकको यस कवितामा पनि अरु कविताझैं साहित्यिक पदक्रम चयन गरिएको छ धेरै ठाउँमा । कम उमेरका बालकहरूको लागि धेरै कविता नबुझिने भएझैं यो पनि त्यस्तै रहेको देखिन्छ । हामीले वुद्धजस्तै शान्ति आफ्नै मनभित्र खोज्नुपर्छ भन्ने मूल कथ्य कवितामा रहेको छ ।

२१. मुहान
पानीजस्तै नरम नानीहरूलाई गुरुले उनीहरूको चाहनाअनुसार पानीजस्तै बग्न दिनुपर्छ । सागरमा मिल्ने चाहनामा बाधक बन्नु हुन्न । यस्ता नानीहरूलाई गुरुले चाहे जे पनि बनाउन सक्छन् । फोहर बागमतीमा फाले ती नै पछि सिहँदरबारमा जाने भएकोले गुरुलाई त्यस्तो नगर्न सचेत तुल्याएको छ । फोहोर बागमतीले सिहँदरबारमा गए देशको डङ्गुर झन् फोहर हुने कविताले बताएको पाइन्छ । साना नानी स्वच्छ पानीका मुहान हुन् । यस्तो मुहानलाई ढलमा फाल्नुहुन्न है भएर गुरुलाई सचेत बनाएको छ यस कविताले । तीन श्लोकको कविता सहज,सरल र सुबोध देखिन्छ ।

२२. नयाँ बीउ
विशेषण र नाम शब्दबाट शीर्षक चयन गरिएको छ ।

भाग्यले गर्दा राम्रो बीउ रोप्दा पनि फल नराम्रो निस्किएको जसले गर्दा सबै सपना खेर गएका कुरा यस कवितामा पाइन्छन् । नयाँ बीउ भनेर नयाँ नेतालाई सङ्केत गरिएको छ । बीउले उमार्ने बोट जनता हुन् । फल जे भए नि भोग्ने जनता छन् बीउ वा नेतालाई समस्या हुँदैन भन्ने कथ्य कवितामा पाइन्छ ।

नयाँ नेताहरूले पनि देशको भलो चिताउन सकेनन् जसका लाग्दा जनता दु:खी भएका छन् भन्ने कुरालाई कविताले घुमाउरो पारामा भनेको छ । गीत लयमा रचना भएको कविता पाँच श्लोकको रहेको छ ।

२३. समान मान्छे
देशको कहालीलाग्दो समस्याले विदेश जान परेको र त्यहाँ पुगेपछि आफ्नै देश सम्झी दु:ख व्यक्त गरेको कुरा यस कवितामा पाइन्छ । डलरको बिटोलाई हेर्दै संसारका मान्छेमा समानता हुँदाहुँदै पनि म पात्रले आफू दु:खी भएको कुरा व्यक्त गरेको पाइन्छ । मानव अधिकारले आफ्नो समस्या नदेखेको गुनासो म पात्रको छ । कर्णालीको पानीसरि पसिना बगाउँदा पनि हेपिनुपरेको समस्या,मैले बनाएका पाटपूर्जा मेरै देशका सकुनीले किन्नुपरेको समस्या म पात्रको माध्यमबाट अभिव्यक्त भएका छन् । मान्छे समान हुन् तर असमानताको खाडल खन्ने मानिस नै हुन् भन्ने तीतो यथार्थ यस कवितामा पाइन्छ ।

तीन श्लोकको कविताले समानताको लागि मैले के गर्नुपर्ला भनेर हामी सबैलाई प्रश्न सोधेको छ । सहज,सरल र बोधगम्य यस कवितामा हामी समान हुनुपर्छ भन्ने परोक्ष भाव पनि लुकेको पाइन्छ ।

२४. सीमा छेउको जिन्दगी
जिन्दगी बादलझैं आकाश र धर्ती बीच रहेको छ । जिन्दगीमा राक्षसले औंठाछाप लगाउँदा ईश्वरले नाइँ त्यो छाप लगाउनुहुन्न भनिरहेको हुन्छ । मन पशुपतिमा हुँदा तन राक्षसले नचाइरहेको हुन्छ । पानी पर्दा र नदी सुसाउँदा मैले लाइकमात्र गरिरहनुपर्ने यो जिन्दगी ग्वाँदे छ । मलाई सुन्दर हिमालको बुट्टे फेटा,पहाडको कमिज र तराईको धोती मन पर्छ तर कालो बादलले मलाई कोशी र कर्णालीको दोधारमा पारेको छ । यसर्थ जिन्दगी सीमा छेउको भएको छ भन्ने कुरा कवितामा पाइन्छ ।

तीन श्लोकमा जिन्दगीको परिचय दिइएको यस कवितामा जिन्दगीको सरल ढङ्गले परिचय दिएको पाइन्छ । कविता आलङ्कारिक छ । जिन्दगीले आशा खोजेको छ र खोज्नुपर्छ भन्ने सन्देश बोकेको छ ।

२५. श्रद्धाञ्जली
दुइटा अनुच्छेद रहेको यस कवितामा कवि मृत ईश्वरलाई श्रद्धाञ्जली दिन पुगेका छन् । कोदालोले खेतसँग म्वाइ खाने गरेको देखेर अदृश्य शक्तिले दुबैलाई छुट्टै पारिदिएको गुनासो पहिलो श्लोकमा छ । म अलग बस्न नसकी बाआमा र ईश्वरलाई पनि त्यसरी नै अलग पारेको छ कि भनी स्वर्गतिर गएँ । त्यहाँ देवताहरू देखें । एकै छिनमा स्वर्गको दलित थिचेर देवताको जननीलाई निलेको देखियो । त्यो बेला रेडियो करायो धर्तीमाता रिसाइन् र लाखौं देवताहरू टुहुरा भए भनेर ।

यस कविताले बहत्तर सालको बिनाशकारी भूकम्पको विषय उठान गरेको छ । कविले स्वर्गमा गएका सबैलाई श्रद्धाञ्जली प्रकट गरेको पाइन्छ कवितामा ।

२६. आवाजहीन मान्छेहरू
मान्छे भएर पनि मान्छेको जस्तै व्यवहार पाउन नसकेको यथार्थता यस कवितामा देखिन्छ । सीमा र विदेशमा बस्ने नेपालीले पशुको झैं व्यवहार सहनुपरेको छ । भेडा बाख्राझैं यताउता बुर्कुसी मार्नुपरेको छ । कसैले कसैलाई चिन्न नसकेको देखिन्छ । विपत् पर्दा औषधि पाउन्नन् । नयाँ देशको सीमा तथा भन्सारमा ममको कच्चापदार्थझैं रक्तिम हुन्छन् आजका मान्छे । कसैले कसैको आवाज नसुन्ने यो समाजको तीतो यथार्थतालाई कविता टप्प टिपेका छन् ।

दुई श्लोक रहेको यस कविताले मान्छे आवाजहीन बनेको कुरा बताउन खोजेको छ ।

२७. एक्वारियम
साथीले ठूलो एक्वारियमभित्र डर लाग्दो सर्प पालेको छ समय मिलाएर,दानापानी दिएर जसले अरुको भन्दा पनि आफ्नो स्वतन्त्रता खोजिरहेको हुन्छ भन्ने कथावस्तु कवितामा पाइन्छ ।

नेपालीले संसद भवनभित्र यस्तै सर्प पालिरहेका हुन् कि भन्ने भान देखिन्छ । एउटा श्लोकमात्र रहेको कवितामा शीर्षकले संसद भवन बुझाएकोमा दुई मत छैन । विम्बको प्रयोग कविताको शक्ति बनेको छ ।

२८. सपना
सपना कवितामा सपना नै कथावस्तु पाइन्छ । समय छँदै देवताको कसम खाँदै गोठको बोका भाकल राख्दै नयाँ नेपाल बनाउने दिमागमा साँध लगाउँदै गेहेन्द्रलाई बम बनाउन लगाई ती बम सुरक्षित राखियो । प्रत्येकले सपनामा मात्र स्वाभिमान र स्वतन्त्रता अङ्कित झण्डा फरफरायो । देशमा कुरीति,हत्या,बलात्कार जस्ताको त्यस्तै छ । प्रचार्को बिगुल फुकियो,आमा बलात्कार गर्ने गोठका बोका बली दिइयो जसले हाम्रो सपना सपनामै बिलायो भन्ने कथा कवितामा पाउन्छ ।

सपना पूरा गर्न अब काम गर्नुपर्छ नकि भाकल गरी बली दिनुपर्छ भन्ने सन्देश कवितामा पाइन्छ । तीन श्लोकमै पूर्ण यस कविताले आजको विकृति बोलेको पाइन्छ ।

२९. प्रेसिडेन्ट र पुजारी
कविता देशप्रेमले ओतप्रोत छ । नेपालको हिमाल,बुद्ध र यस्तै अन्यको अब प्रचार गर्नु छ । धोती पुजारीको पहिरन हो तराईको प्रतीक पनि । कमीज पहाड र ढाका टोपी हिमालको प्रतीक हो । कसैले भन्लान् बुद्ध पराईको,हिमाल अर्कैको तर सत्य सत्य नै हुन्छ । यो पहिचानलाई सगरमाथा बुद्ध नेपाल फेसबुक डटकमबाट भिडियो बनाएर विश्वमा पुगाउनुपर्छ । यसको फिल्म बनाउनुपर्छ आदि कुरा प्रेसिडेन्ट र पुजारीबीच भएको छ ।

संवाद शैलीको कवितामा नेपाल र नेपाली निधीको चिन्ता देखिन्छ । यी संरक्षण गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्देश कवितामा पाइन्छ । एउटामात्र लामो अनुच्छेद रहेको कवितामा बुद्ध र सगरमाथा,हिमाल,पहाड र तराई बोलेको छ ।

३०. सगरमाथाको श्वास
सगरमाथाको भोगाइ कविताको विषय पाइन्छ । हिउँ,हुरीबतास खेप्ने यसले विदेशीको भरिया भएर हिमाल चढ्नेहरूको लात पनि सहन्छ । हुनेखानेहरूले थिचोमिचो हुँदा आवाज उठाउँछ्न् तर सगरमाथा बोल्न सक्दैन । उसलाई न प्रदेश चाहिन्छ न कुनै अरु चाहिन्छ त केवल सास फेर्न । कसैको गाइँगुइँ हल्ला पनि सुन्दैन र कसैमाथि हैकम बस्न पनि रुचाउँदैन सगरमाथा भन्ने कुरा कवितामा छ ।

हामी सबैले सगरमाथा बन्न सक्नुपर्छ,सहनशील हुनुपर्छ भन्ने सन्देश कवितामा पाइन्छ । सगरमाथाको माध्यमबाट गरीब जनताको यथार्थतालाई पनि देखाउन खोजेको पाइन्छ । केवल सास फेर्न पाउनुपर्छ,हल्लाको पछि लाग्नुहुन्न । सुखदु:ख सहन सक्नुपर्छ भन्ने सन्देश पनि दिएको छ कविताले ।

३१. सञ्जाल
एक्काईसौं शताब्दीको नेट सञ्जालले मान्छे अलमलिएको यथार्थ यस कवितामा पाइन्छ । सञ्जाल सदुपयोग गर्नुपर्नेमा दुरुपयोग भएकोमा कविको चिन्ता कविताको माध्यमबाट बगेको छ । कोही केही स्ट्याटस उडाउन कोही कसैका तस्बिर लाइक गर्न त कोही रुप फेरेर तरुनीतरुना पट्याउनमा व्यस्त भएका आजका सबै हामीलाई यस कविताले सचेत तुल्याउन खोजेको छ ।

यो सञ्जाल समय बिताउने मेलो होइन भन्नु नै कविताको उद्देश्य हो ।

३२. तिम्रो साथ
कवितामा समयको महत्त्व देखाइएको छ । म तिमीलाई धेरै सम्झन्छु तर तिमी मलाई सम्झदिनौ भन्दै समयको नियमित दगुराइलाई कविले कवितामा व्यक्त गरेका छन् । मैले गोरेटो,खोला,चोक,गल्ली आदि स्थानमा कति कुरिसकें तिमीले कहिले नि भेट गरेनौ भनेर भने पनि आँखिर मसित नै हुने रहेछौ भनेको पाइन्छ म पात्रले कवितामा । रातदिन,साँझबिहान,शिशिर,आँधीतुफान जेमा पनि समय दगुर्छ भन्दै हामीलाई पनि समयसँगै गन्तव्यमा पुग्न दगुर्न आग्रह गरिएको छ यस कवितामा । समयको साथमा जानुपर्ने सन्देश दिएकोले शीर्षक सार्थक देखिन्छ । समग्रमा एउटा श्लोक रहेको यस कविताले समयको महत्त्व बुझाउन खोजेको छ ।

यसपछिका सबै कविता एक श्लोकमा पूर्ण छन् ।

३३. भेडा
गलत आश्वासन दिएर अर्काको रगत चुस्न पल्केकाहरूलाई यस कविताले औंला ठड्याएको छ । तिनीहरूलाई ब्वाँसो भनिएको छ । कुनै दिन भेडारुपि निमुखा जनता पनि सक्षम भई तिम्रो अप्रेसन गर्न तम्सिनेछ्न् भन्दै ब्वाँसाहरूलाई सचेत तुल्याएको छ ।
समग्रमा कसैले कसैलाई कमजोर सम्झिनुहुन्न सबै आआफ्नो स्थानमा बराबर हुन्छ भन्न सफल छ कविता । कविता अति छोटो भने छ ।

३४. धर्ती र आकाश
नेता र जनताको दूरी टाढा भए पनि भोट दिन कसैले छोडेको छैन । धर्ती र आकाशको दूरी पनि टाढा भए पनि जूनले शीतल,बादलले वर्षा,घामले न्यानो दिन छोडेको छैन । धर्ती र आकाशको दूरी अब घट्नुपर्छ भन्ने भाव कविताको हो ।

छोटोमा धेरै भनेको यस कवितामा जो पक्षबीच पनि सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने विचार पाइन्छ ।

३५. डुवान
चुनावमा जित्न आश्वासन दिने तर पूरा नगर्ने नेताको स्वभावलाई कवितामा देखाउन खोजिएको छ । जनताका सबै सपना नदीले बगाएर लगेकोसँग तुलना गरिएको छ । लेन्दुप स्वभावले देश अब डुवानमा पारी जनतालाई रुवाउनुहुन्न भन्ने भाव कवितामा पाइन्छ । छोटोमा देशप्रेम भाव झल्किएको कविता मान्न सकिन्छ ।

३६. ईश्वरको आसन
दिनभरि म जसरी धुँवाधुलोबाट बच्न खोज्छु त्यसरी नै मभित्रको ईश्वरले पनि आसन बचाउन खोजेका छन् भन्ने कथावस्तु कवितामा रहेको छ । आफूभित्रको ईश्वर सबैले बचाउनुपर्छ भन्ने भाव कवितामा पाइन्छ । सबैको मनभित्र ईश्वरको आसन हुने भएकोले आधुनिक आहार,विहारमा ख्याल गर्नुपर्ने अर्को सन्देश दिन कविता सफल देखिन्छ ।

३७. कानूनको पालना
नेता चुन्ने म आफैं हुँ । सत्तामा पुगाउने नि म नै हुँ । अनि सत्ताधारीले गलत गर्दा म पनि भागेदार नहुने कसरी ? भन्दै जनतालाई सचेत बनाएको छ कविताले । देशको सत्तामा गई देश बनाउने मान्छेलाई मैले राम्रोसँग चिनेर पठाउनुपर्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको कुरा यहाँ देखिन्छ । गलत मान्छे पठाई उनीहरूले गलत काम गर्दा कानूनको भागेदार म पनि हुन्छु कि भनेर डराई कानून नै वाइपास गरिने गलत प्रवृत्तिको उदाङ्गाे रुप कवितामा देखिन्छ ।

समग्रमा कानूनको पालना गर्नुपर्ने,राम्रो नेता चुन्नुपर्ने,गलत कार्य लुकाउन नहुने आदि सन्देश पाइन्छ ।

३८. नदी
नदी कवितामा नदीझैं बग्नुपर्ने भाव छ । मलाई बगेको देखी धेरै रिसाउँछन् । मन पराउने पनि छन् । मसित पौडी खेली रमाउने माछाहरूलाई म माया गर्छु । म कहिले पनि धमिलो हुन्न मलाई धमिलो पार्न खोज्ने आफैं धमिला हुन पुग्छन् भन्दै कविता नदी बन्न आग्रह गर्दछ ।

३९. बदला
यस कवितामा देश बोलेको छ । मेरो मुटुमा हिटलरले राज नगरोस्,परमाणु बमले नखेलोस् भन्ने विचार देशले बोकेको छ । तिमीलाई तिम्रो बाबाले मलाई सुम्पे पनि हिटलरको पीडा खेप्नुपर्दा मलाई दोष नदेऊ है प्रिय भनेर देशप्रेमीले देशलाई भनेको हो जस्तो लाग्छ । यस्तो पीडालाई देशको शीतलताको बदला नठान्न आग्रह गरिएको छ । कवितामा कविको बौद्धिक पक्ष सबल भएकोले सबैलाई बुझ्न असजिलो हुने देखिन्छ यो कविता पनि ।

४०. पिछलग्गु
मान्छेको पिछलग्गु स्वभावको यथार्थ प्रस्तुति यस कवितामा पाइन्छ । अर्काको पछि लाग्दालाग्दै आफूलाई बिर्सनेहरूलाई झापड हान्न सफल देखिन्छ यो कविता । रामायण पढी हनुमान्,सुग्रीव,विभिषण,सीता हुन खोजे धेरैले तर आफू राम सबैले बिर्से भन्दै कविताले चिन्ता प्रकट गरेको पाइन्छ ।

समग्रमा देखासिकी नराम्रो हो आफूभित्र नै सबै थोक खोज्न सक्नुपर्छ भन्ने भाव कवितामा पाइन्छ ।

४१. शुभकामना
कसैलाई शुभकामना दिन फगत यो प्रकृति तयार भयो । सेताकाला बादलले इन्द्रेणीको बाँसुरी बजाए,ताराहरूले खैंजेडी बजाए,खोला,झरना आदिले देउडा सुनाए शीतहरूले माला भिराए तर यो शुभकामना फगत भयो भन्ने कुरा कविताले बताएको छ ।
यसमा पनि देशको चिन्ता देखिन्छ । जनताले नेताको लागि गर्नसम्म गरे तर नेताबाट देशले सोचेजस्तो पाएन यसर्थ सेवा तथा शुभकामना फगत हुन गयो भन्ने भाव झल्किन्छ कवितामा ।

४२. स्रोत
देशमा सम्पदाको नदी बगेको छ,कविताको कोशी पनि र कथाको कर्णाली अनि गजलको गण्डकी उर्लेको छ भन्दै कवि यी सबैको संरक्षण माग्दछन् । श्रोतको खानी छ देश । सबैको बाँध बाँधेर बिजुली निकाल्न खोज्दा योजना बग्छ नदीझैं र खहरे खोला बन्छ कार्यान्वयन यहाँ भन्दै कवितामा कवि देशको भ्रष्टाचार देखाउन पुग्दछन् । कुरा धेरै र काम नहुँदा देशका निधि स्रोत सुकेका छन् भन्ने कविको ठहर छ ।

४३. साझा बा
नेताको द्वैध चरित्र चित्रण भएको छ यस कवितामा । कहिले दक्षिण त कहिले उत्तर लाग्ने प्रवृत्ति देखिन्छ जो नराम्रो स्वभाव हो । छिमेकीले भनेमा छोराको लागि तयार पार्न लागेको कोठासमेत भत्काउँछन् साझा बाहरूले । बिदेशीको मन राख्न आफ्नो घर बलियो नबनाउने जो कसैलाई पनि यो कविता झापड हान्न पुगेको छ । आफ्नो घर र आफ्ना छोराहरूको घर राम्रो बनाउनुपर्छ भन्दै सबैलाई देशमोह देखाउन खोजिएको छ यस कवितामा ।
एक दर्जन हरफमा पूर्ण यो कवितामा विम्ब प्रतीकको उच्च प्रयोग पाइन्छ । यसो हुँदासमेत कविता सरल,सहज र सुबोध नै बन्न पुगेको छ ।

अन्त्यमा
विम्ब प्रतीकको अत्यधिक प्रयोग भएको पाइन्छ ।
कतैकतै अशुद्ध शब्द रहेका पाइन्छन् जो मैले देखेजति कविताप्रसङ्गमै उल्लेख गरेको छु । प्रत्येक कविताहरू विन्दुमा सिन्धु अटाउने खालका छन् । धेरै कविता एक श्लोकका छन् । एउटाबाहेक सबै कविता गद्य शैलीमा रचिएका छन् । पुस्तकको आकार उपयुक्त छ । कविता शीर्षक बीच पानाभन्दा शुरुमै राख्दा अझ राम्रो हुने मेरो विचार छ । पृष्ठसङ्ख्याको आधारमा मूल्य अलि महङ्गो छ जस्तो लाग्छ । सबै कविता उच्च बौद्धिक व्यक्तिका लागि छन् जस्तो लाग्छ । धेरै कविताले देशको चिन्ता बोकेका छन् । शब्द थोरै भाव धेरै दिने कविता लेख्नु कविता कला हो जुन यहाँ छ । सबै कवितामध्ये ‘ स्रोत ‘ र ‘ पिछलग्गु ‘ कविता अझ उच्च बनेको मैले पाएको छु ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *