नेपाल हो नन्दन !

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छानामा हिमका हिरा, फसलका छन् स्वर्ण खम्बातिर
भित्तामा हरियो सुरम्य रङले सम्पन्न यो मन्दिर
हावा धूप र अक्षता कण-शिला हो मृत्तिका चन्दन
देवी भूमि र देवता गगन हो नेपाल हो नन्दन !!

छाती पर्वत, मेरुदण्ड पहरा मैदानका पाउ छन्
जङ्घा टार, उपत्यका उदर झैं, मस्तिष्कमा गाउँ छन्
झर्ना हुन् पसिना, नदी रगत हुन् रौं-चर्म पाखा-वन
पूजा हो श्रम, वन्दना लगन हो नेपाल हो नन्दन !

 

बोली बुद्ध, कुरान-वेद मुटु हुन् अल्लाह हुन् नासिका
आँखा शङ्कर शारदा मगज हुन् संस्कार हुन् अम्विका
गीता-वेद,कुरान,मुन्धुम गला,हो वीरता स्पन्दन
झण्डा तोरण, एकता भजन हो नेपाल हो नन्दन !

ब्रह्मा सिंह र बाघभालु यम झैं, हेरम्ब झैं कुञ्जर
सेवामा हनुमानवाङ्मुख बनी डुल्छन् सँगै वानर
कस्तूरी रघुनाथ, दिव्य हरिको आवास झैं कानन
डाँफे इन्द्र र अप्सरा मुजुर हो नेपाल हो नन्दन !

चौंरी किन्नरतुल्य, कालिजहरू गन्धर्व झैं छन् उता
माछा हुन् जलदेवता, प्रमथ झैं डुल्छन् सबै भ्यागुता
गर्छन् काग बथान नारद बनी हल्ला र आवाहन
फुक्छन् श्वान-शृगाल शङ्ख-नगरा नेपाल हो नन्दन !

सेती रच्छ गभीर खाडल खनी भू-खण्डमा मन्दिर
माछा-पुच्छरतुल्य शैल नयले ढल्कन्छ फेवातिर
ती धौलागिरिले र नीलगिरिले गर्छन् मिली पूजन
खोल्सा अर्घ, तलाउका जलघडा नेपाल हो नन्दन !

वीणावादक शारिका र मुरली फुक्छे परी गौंथली
फुक्छन् बाज-मुनाल धम्म तबला नाच्छे चिबे चञ्चली
बाल्छन् झल्ल दियो उडी जुनकिरी गर्छन् अरू कीर्तन
छन् वृन्दावन झैं कला प्रकृतिमा नेपाल हो नन्दन !

छन्द :- शार्दूलविक्रीडित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *