अध्यात्म मार्ग

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

राम्रो मानिसबाट प्रेरित भए, फेरिन्छ रे आदत
सोझै मन्दिर पुग्छ कीट छ भने पुष्पादिको सङ्गत।
थाँक्रोमा पनि बेरिएर लहरा,उक्लेर जान्छन् उँभो
लड्छन् वृक्ष धकेलिँदा पवनले, लड्दैन सानो दुबो ।।

राम्रा छन् उपदेश मान्यजनका लाग्छन् अनौठो सुने
हाम्रो जीवनमार्ग हुन्छ सजिलो अर्ती सबैका गुने ।
अर्ती बिझ्छ चसक्क भैकन सुई बुझ्छन् कमैले तर
गर्छन् रोग निको परन्तु सबले मान्छन् असाध्यै डर ।।

 

आफ्नो जीवन अर्पिएर जसरी यी मैनबत्तीहरू
छर्छन् नित्य प्रकाश,मानिस कुरा काटेर बस्लान् बरू ।
आमा जीवन नै समर्पण गरी सन्तान हुर्काउँछिन्
खेदोस् सन्ततिले सदैव जननी कर्तव्य सम्झाउँछिन् ।।

यौटा वृक्ष खडा भईकन सधैॅ छाया दिने गर्दछ
पाकेका फल,स्याउला पनि दिई भण्डार पो भर्दछ।
खोजे काठ र दाउरा पनि दिने बाले खरानी बनी
हाम्रा खातिर लाभदायक हुने छन् वृक्ष त्यागी पनि ।।

‘आफ्नो’ हेर्दछ लाभ मानिस सधैँ आफू भएमा पुग्यो
आफ्नो स्वार्थ हुँदा बनी धनुषझैँ आयो,लजायो,झुक्यो ।
आफ्नो पेट त पाल्छ कीट कमिला के भिन्न भो मानिस
उस्तै हुन्छ परोपकार नगरे गिर्ला नराम्रोसित ।।

मान्छे आश लिएर मन्दिर गई भेटी चढाईकन
ढुङ्गा पूजन गर्छ भक्ति रसले श्रद्धा लगाईकन।
मान्छे जो दुखदर्दग्रस्त छ उता, हेर्दैन कैले पनि
राम्राको पनि काट्न थाल्दछ कुरा,जान्ने र सुन्ने बनी ।।

हामी छौँ रनभुल्लमा कति कुरा थाहै नपाईकन
‘मेरो’ मोह छँदै छ है’अझ बढी’हाम्रो उही चिन्तन।
यो मेरो दरबार, पुत्र र पिता, पत्नी भनेका भए
हुन्थे राजकुमार बुद्ध नभई लोभी बनेका भए ?

छन्दः शार्दूलविक्रीडित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.