नुवाकोट साहित्य पदयात्राका पदचिन्हहरू

Spread the love
Shreeram, Shrestha, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

दोस्रो पटक प्रकाशन
राजधानी काठमाडौँसँग जोडिएको भए तापनि प्राज्ञिक, साहित्यिक, सांस्कृतिक, आर्थिक एवम् मानव विकासको सूचकाङ्कको आधारमा नुवाकोट जिल्ला धेरै पछि परेको पाइन्छ । यहाँको सौर्न्दर्यभित्र लुकेको मानवीय जीवन पद्धति, पर्यटकीय, धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थल र साहित्य, कलासृजनाका लागि वास्तविक आधार हुन सक्छन् ।

 


यसै सन्दर्भमा यस जिल्लाको साहित्यिक विकासमा ठोस योगदान दिन र यहाँ रहेका बौद्धिक एवम् साहित्यिक प्रतिभालाई प्रस्फुटन गर्न गराउन आवश्यक महसुस् गरी हामीले वि.सं.२०६४मा नुवाकोट साहित्य प्रतिष्ठान, नेपाल नामक संस्था जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गराएका थियौँ । नुवाकोट जिल्लाको साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको छ । यसै गरी यसले स्थापनाकालदेखि नै ‘महामण्डल’ त्रैमासिक, ‘युगान्तर’ अर्धवाषिर्क र ‘नेपाली मुक्तक’जस्ता साहित्यिक पत्रिका प्रकाशन गर्नुका साथै विभिन्न र्सजकहरूको कृति पनि प्रकाशन गर्दै आइरहेको छ ।
यसै गरी यस प्रतिष्ठानले प्रत्येक वर्षअसार १५ गते स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी, यात्रा साहित्य एवम् कविता प्रतियोगिताजस्ता गतिविधि नियमितजसो आयोजना गर्दै आइरहेको छ । स्थापनाकालदेखि २०७४ वैशाखसम्ममा म आफैँ अध्यक्ष रहेर संस्थाको नेतृत्व गरेँ । मिति २०७४ जेठ ७मा भएको साधरणसभाबाट मैले नेतृत्व अर्थात अध्यक्ष पद श्री रामकृष्ण गजुरेललाई सुम्पिएँ । अहिले रामकृष्णजीको अध्यक्ष, उपाध्यक्ष मुकुन्दराज अर्याल, सचिव विष्णुप्रसाद सापकोटा, कोषाध्यक्ष सुमित्रा सुमी, सह-सचिव भगवती लामाका अतिरिक्त सदस्यहरू भगवती खनाल, रामहरि खनाल, आशिक भट्ट, करण तामाङ, जानुका दाहाल र प्रमिला परी रहेका छन् । ऊर्जाशील ढङ्गले यो कार्यसमितिले काम गरिरहेको छ । वि.स.–२०७४, असार १५, मा स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक गोष्ठी भव्यताका साथ सम्पन्न गरेको छ, यही कार्यसमितिले । संस्थाका सबै पदाधिकारी एवम् सदस्यहरू अत्यन्त सक्रिय छन् ।
साउन २१मा नुवाकोट साहित्य प्रतिष्ठानको नियमित बैठक रहेछ । मलाई पनि आमन्त्रण गरियो । बैठकमा आगामी कार्यक्रमबारेमा छलफल हुँदै गर्दा र वाषिर्क कार्यतालिका बन्दै गर्दा मैले ‘यात्रा साहित्य’को प्रस्ताव गरेँ । अध्यक्ष रामकृष्णजीले भने, “असार १५, को कार्यक्रमको खर्च व्यवस्था गर्न सकिराखिएको छैन । अर्को कार्यक्रम गर्न गाह्रो पर्ला कि – कोषाध्यक्ष सुमित्रा सुमीले उत्साहित हुँदै भने, “यात्रा साहित्य त संस्थाको पहिचान हो । जसरी भए पनि यो त गर्नै पर्छ । बरू संस्थाका साथीहरूबाटै खर्चको जोहो गरौँ ।” सुमीको धारणाप्रति र्सवसहमति जुट्यो । भदौ २४मा तय गरियो- ‘नुवाकोट साहित्य पदयात्रा ।’
क्रमशः समय नजिकिँदै थियो । खर्च सङ्कलन गरियो । कार्यक्रमको ब्यानर, कपी, डट्पेन, खादाको व्यवस्था अध्यक्षले गर्नुभयो । वचन र कामका पक्का हुनुहुन्छ रामकृष्ण दाइ । संस्थाका साथीहरूले फेसबुकबाट प्रचारप्रसार आरम्भ गर्नुभयो । बजारमा एकाएक हल्ला फिँजिएछ- श्रीरामले आर.एम्.सँगको रिसइवीका कारण कार्यक्रम जुधायो । सोही दिन कवि आर.एम्. डङ्गोलको एकल कविता वाचन राखिएको रहेछ, नुवाकोटमा । आर.एम्.जी नुवाकोटका प्रतिभा हुनुहुन्छ । उहाँको प्रसिद्धिले मलाई खुसी लाग्छ । उहाँसँग मेरो सम्बन्ध घनिष्ट नै छ । तर, हामीबीच फाटो ल्याउन केही मान्छे तल्लिन छन् । आर.एम्.जीले बुझनु भएकै होला । आफूलाई नुवाकोटको सन्तान भनाउन रुचाउने तर नुवाकोटका लागि एउटा सिन्को पनि नभाँच्ने केही मनुवा छन् । तिनले उहाँको कान फुकेछन् ।
नुवाकोटकै अर्का स्रष्टा क्षितिज थापा मगरले मलाई भने, “दाइ ! कार्यक्रम जुधेछ । त्यो दिन नुवाकोटमा आर.एम्. डङ्गोलको एकल कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ । जसरी हुन्छ तपाईंहरूको कार्यक्रम सारिदिनु पर्योय ।”
मैले बैठकको निर्णयको प्रतिलिपी समेत देखाएँ र कार्यक्रम निकै पहिले नै तय भएको बताएँ । क्षितिजले विश्वास मान्दै भने, “आयोजक साथीहरूसँग कुरा गरेर तपाईंलाई जानकारी गराउँला ।” कार्यक्रम जुधेकोमा मलाई पनि अप्ठ्यारो महसुस् भएकै थियो । संस्थाका अध्यक्ष रामकृष्ण गजुरेल, उपाध्यक्ष मुकुन्दराज अर्याल र कोषाध्यक्ष सुमित्रा सुमीलाई मैले फोनमार्फ् यो कुराको जानकारी गराएँ । हामीबीच छलफल भयो । तर, तिनै जनाको एउटै निष्कर्ष आयो, “पदयात्रा हुन्छ, तोकिएकै मितिमा ।” साथीहरूको निर्णयलार्इ मैले मान्नै पर्ने भयो । संस्थाले जे निर्णय गर्छ त्यही मेरो पनि निर्णय हो । हुन्छ त कार्यक्रम निर्धारित मितिमै गरौँ । हामी सबै अन्तिम निष्कर्षा पुग्यौँ ।
‘नुवाकोट साहित्य पदयात्रा’ बट्टारदेखि आरम्भ भएर बाराहीथान, देउराली, धरमपानी, भैरवी मन्दिर, साततले दरबार, महामण्डल हुँदै अशोक बाटिकामा पुगेर रचना वाचनसहित यात्रा अन्त्य हुने कार्यक्रम तालिका थियो ।
भदौ २४ गते बिहान पाँच बजे नै उठेर नित्य कर्म सकी स्नान गरेर चिया पिउन मात्रै के लागेको थिएँ । टेलिभिजनको पर्दामा वी.पी. कोइरालाको बारेमा समाचार आइरहेको रहेछ । थाहा भयो आज जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०४ औँ जन्मजयन्ती रहेछ । महामानव विश्वेश्वरको राजनीतिक एवम् साहित्यिक पाटोलाई झलझली सम्झेँ । आत्मैदेखि उनको उचाइलाई नमन गरेँ ।
घडी हेर्छु सात बज्न पो लागिसकेछ । हतारिँदै नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगेँ । यताउति हेर्छुो कोही देखिएनन् । क्याम्पस गेटको अग्रभागमा एक पाको मान्छे उभिरहेको देखेँ । उनी थिए, रामकृष्ण भट्ट अर्थात् भट्ट बा । मन प्रशन्न भयो । नुवाकोट साहित्य प्रतिष्ठानको कार्यक्रममा भट्ट बा नियमित आउँछन् । हौसला दिन्छन् । उनको अभिभावकत्व पाएका छौँ हामीले । एक हप्ता अगाडि विरामी परेर अस्पताल भर्ना भएका बा हामीसँगै पदयात्रा गर्ने साहस बटुलेर आएका । “हिँड्न सक्नु हुन्छ त भट्ट बा ! कि मोटरसाइकलको व्यवस्था गरौँ -” उनले भने, “म हिँड्न सक्छु ।”
निर्धारित समय भए तापनि हामी दुर्इ बाहेक कोही देखिएनन् । सम्पर्क गर्नका लागि मोबाइल प्रयोग गर्न खोजेको त टावरले नै धोका दियो । भट्ट बा भन्दै थिए, “हाम्रो कार्यक्रमको बिरूद्ध दूरसञ्चार पनि लागेछ ।” लामो समयसम्म मोबाइले काम गरेन । बिस्तारै सहभागीहरू जम्मा हुन थाले । ब्यानरका साथमा हामी लामबद्ध भयौँ- मुकुन्दराज अर्याल, दीर्यायु देउती, बादलमान श्रेष्ठ, रविन थापा, सन्तोष बोगटी, कविन्द्र कारन्जित, सुरेन्द्र मुडवरी, रामकृष्ण गजुरेल, रामकृष्ण भट्ट, बुदराम चौधरी, अञ्जना भट्टराई, आशिक भट्ट, जानुका दाहाल, सीताराम पौडेल, कोमल नेपाल, प्रमिला परी, भगवती खनाल, सुमित्रा पौडेल सुमी, श्रेया पौडेल, शिवसुन्दर पुडासैनी, रामप्रसाद चालिसे, कृष्णराज न्यौपाने, विष्णुप्रसाद सापकोटा, लक्ष्मी तामाङ र म ।
रेडियो त्रिशूलीमा प्रत्येक शनिबार बिहान ८ बजे ‘भावगङ्गा’ साहित्यिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसका प्रस्तोता छन्, नुवाकोट साहित्य प्रतिष्ठानका उपाध्यक्ष मुकुन्दराज अर्याल । उक्त रेडियोमा हाम्रो ‘साहित्यिक पदयात्रा’ लाइभ हुने भयो । मैले पदयात्राको उद्देश्यमाथि प्रकाश पारेँ भने सीताराम, जानुका, विष्णुप्रसाद, आशिक, रामप्रसाद र रामकृष्णले रचना सुनाए । पदयात्रा टोली अगाडि बढ्न लागेको मात्र के थियो, सिमसिम पानी पर्न थाल्यो । साथीहरू गनुगनाए, ‘लौ, प्रकृतिले स्वागत गर्योो । शुभ भयो ।’
यात्रा अगाडि बढ्यो । बाराही मन्दिर पुग्यौँ । बाराही नुवाकोटकै प्रसिद्ध मन्दिर । हरियाली वनजङ्गलको छेउमा अवस्थित मन्दिर अति मनोरम देखिन्छ । थकाई मार्न सबै जना चौतारीमा बसे । मन्दिरनजिकै खानेपानीका ठूल्ठूला ट्याङ्की थिए । निर्माण कार्य हुँदै थियो । अब भने पिउने पानी अभावले काकाकुल बनेका नगरबासीले सफा र स्वच्छ पानी पिउन पाउन भए । हामी आशावादी बन्यौँ ।
अध्यक्ष गजुरेल ठूलो स्वरमा कराउँदै थिए- ”लौ है अगाडि बढौँ, समय र्घर्की सक्यो ।” टोली नेताको कुरा त मान्नै पर्यो् । घना जङ्गलको ठाडो उकालो बाटो । हस्याङ र फस्याङ गर्दै हामी बामे सर्दै अगाडि लम्किन्छौँ । ठाउँ-ठाउँमा थकाई पनि मार्दै छौँ । जङ्गलमा एक ठाउँ आर्मीले फाइरिङ गर्ने भित्ता छ । भित्तालाई देखाउँदै सुरेन्द्रले भने- ”बच्चामा हामी थाकल खान र गोलीका सिसा लिन यहाँसम्म आउँथ्यौँ । गोलीका सिसा पगालेर बेच्थ्यौँ अनि त्यो पैसाले कपी र किताब किन्थ्यौँ ।” बाल्यकालीन दिनहरू सम्झिँदै उनी नोस्टालजिक भए ।
उनको कुराले पनि नोस्टालजिक बन्न पुगेँ । हाम्रा बुवाले ३०/३२ सालमा फाइरिङ भित्ता नजिक २० रोपनी जमिन खरिद गर्नुभएको रे । २०३६सालको नापी आउँदा राज्यलाई मालपोत बढी तिर्नु पर्छ भनेर उहाँले आफूलाई चाहिने अर्थात् पाँच रोपनी मात्र आफ्नो नाममा गरी लालपूर्जा लिनुभएछ । उक्त जग्गा नेपाल आर्मीले २०४० सालतिर बुवालाई बाध्य बनाएर जम्मा २१ हजार रूपैँयामा किनेको बुबाले बताउनु भएको कुरा मैले साथीहरूलाई सुनाए । मेरो कुरा सुनेर साथीहरू छक्क परे ।
“यो त रिसोर्ट खोल्नका लागि उपयुक्त ठाउँ रहेछ ।” विष्णुप्रसाद भन्दै थिए । तर, “यदि श्रीराम सरले यहाँ रिसोर्ट खोलेर बसेको भए हामी यसरी कहाँ पदयात्रामा हिँड्न संभव हुन्थ्यो र !” विष्णुको कुरामा सबै हाँसे ।
जति उकालो उढ्दै गयो उति आनन्दको अनुभूति हुने । मूलबाटो हिलाम्मै भएको कारण अर्को बाटो हिँड्न बाध्य थियौँ हामी । अगाडि बढ्ने क्रममा दुर्इ वटा बाटो देखियो । त्यो माथिल्लो बाटो चाहिँ हुनुपर्छ भनेर हामी विष्णुप्रसाद, प्रमिला, आशिक, भगवती र म फड्कियौँ । तर, त्यो बाटो त होइन पो रहेछ । फर्केर फेरि हामीले मूलबाटो नै समायौँ । बल्ल अन्य साथीहरूसँग भेट भयो ।
यात्रामा सबैभन्दा पछाडि थिए, भट्ट बा । “गाह्रो भयो भट्ट बा”– मैले सोधेँ । उनले भने, “बिस्तारै हिँड्दै छु, देउरालीमा पुगेर विश्राम गर्नुपर्ला ।” नभन्दै एकै क्षण पश्चात् जङ्गलको घना बस्ती भेटियो । बाटोको बीचमा एउटा चौतारो थियो । पसिनाले निथ्रुरुक्क भएका हामी त्यहाँ एकछिन् सुस्तायौँ । सबैभन्दा पहिले देउरालीमा पाती चढाए विष्णुप्रसादले । उनी भन्दै थिए- “अविवाहितले पाती चढाएर चाहेको मागेमा पाइन्छ रे ।” आशिक बोले, “नियमापत्ति । अस्पष्ट कुरा भन्न पाइँदैन । स्पष्ट गरिपाऊँ ।” सबैको हाँसो गुन्जियो । देउराली थकाई मारियो । आनन्दको अनुभूति भयो । सीताराम नारायण गोपालको कालजयी गीत गुनगुनाउन थाले- दुइटा फूल देउरालीमा ….।
सीताराम साँच्चिकै प्रतिभाशाली छन् । मीठो गीत गाउँछन् । धेरै गीतहरू कण्ठस्त छन् । मैले धेरै चोटि यात्रा गरेको छु । उनीसँग यात्रा गर्दा बाटो काटेको पत्तै हुँदैन । शिवसुन्दरले कुरा थपे- “पृथ्वीनारायण शाह यो बाटो धेरै पटक हिँडे होलान् । यही देउरालीको चौतारीमा धेरै पटक थकाई मारे होलान् । ऐतिहासिक भूमिमा उभिदै गर्दा निकै गर्वको अनुभूति भयो मलाई ।
प्रकृतिको बखान गर्न को भन्दा को कम ! छन्दसम्बन्धि राम्रो ज्ञान भएका जानुका दाहालले पदयात्रा अनुभूतिलाई देउरालीमा थकाई मार्दै गर्दा कतिखेर खिपिसकेछन् । सुनाए-
भाद्रै मास रमाइलो प्रकृतिको सौर्न्दर्य नानाथरी,
यात्रारम्भ भयो प्रफुल्ल मनले साहित्यको यो घरी ।
लाग्यौँ गर्न विहार जङ्गल हुँदै डाँडा उकालो चढी,
दिन्छिन् हो वरदान हषिर्त भई माँ भैरवीले बढी ।।

बाराही पनि दर्शनै गरिवरी टोली अडेको थियो,
साथीको छरपष्टता अलिकता पट्यारलाग्दो भयो ।
कुर्दै भेट हुँदै गरेर दगुरी हाँस्दै रमायौँ अति,
देखिन्थ्यो अनुहार दङ्ग सबका सेल्फी खिचिन्थ्यो कति ।।

बस्दै शीतलमा पुछेर पसिना विश्राम गर्दै अनि
उठ्थ्यौँ फेरि जुरूक्क लागुँ अब ता गन्तव्य भेटौँ भनी ।
चारैतर्फनियाल्न व्यस्त म भएँ पाखा-पखेराहरू,
लोभै लाग्न पुग्यो सुरम्य प्रकृति भन्थे खुसी भै अरू ।।

थकाई मेट्ने देउराली । न्रि्रुक्क भिजेको शरीर बिस्तारै ओभाउँदै जाँदाको शीतल अनुभूति चङ्गा सरी भएको ज्यान । वरिपरि हरियाली दृश्य । चराहरूको चिर्बिर आवाज कानमै ठोक्किँदा सङ्गीत ध्वनिको आभास हुने । दृश्य-परिदृश्यलाई नियाल्दै मैले पनि कोरियन शैलीको गीति कविता लेखिहाँलेँ-
पुगियो देउराली हेर्दै-हेर्दै सौन्दर्य
रमायौँ दिल खोली दृश्यलाई हेरिरहेँ
स्वर्गीय अनुभूतिमा मन थाम्दै रमाएँ ।
०००
सुन्दर देखिएका हरियाली वनपाखा
मोहक मनोरम मनभित्र खुसीयाली
जीवन यस्तै भएमा बाँच्न पनि आनन्द ।
०००
भिरालो डाँडाकाँडा हरियाली अघिल्तिर
बिहानी सूर्य राप खस्दाखस्दै पातलिँदा
देखिन्छ मुस्कुराएको अग्लो रूख टुप्पामा ।

लामो थकाईपछि हामी फेरि अगाडि बढ्यौँ । ठाडो भीर । वर्षाको पानीले पहिरो गई हिँड्ने बाटो समेत पुरेको । चार पाउ टेक्दै बामे सर्नुपर्ने । बलौटे माटोको बाटो । तलतिर भीर । बल्लतल्ल ठाडो भीर छिचोल्यौँ । आफ्नोभन्दा नि भट्ट बाको पीर । उनलाई समाउँदै बिस्तारै लम्कियौँ । बल्ल आइपुग्यो धरमपानी । बटुवालाई पानीको प्यास मेट्नका लागि ट्याङ्कीमा पानी राख्ने चलन थियो रे उहिले यहाँ । अहिले ट्याङ्की मात्रै छ । पानी राखिदिने कोही छैन । धरमपानीमा पाटीको व्यवस्था पनि थियो बटुवालाई बास बस्नका लागि । अहिले त भूकम्पले भत्काएर भग्नावशेषमा परिणत भएको छ । यस्तो ऐतिहासिक कुराहरूको संरक्षण गर्न सके भावी पुस्ताका लागि पनि राम्रो हुने थियो । तर, यसतर्फकसको ध्यान जाने –
शनिबार भएर होला भैरवी मन्दिर दर्शन गरेर र्फकनेहरूको भीड बाक्लै देखिन्थ्यो । मन्दिर जाने सिँढी लमतन्न लामो, ठाडो र उकालो । खुट्टा नै फतक्कै गल्ने । बल्ल आइपुग्यो भैरवी मन्दिर । महाभूकम्पले मन्दिर भत्केको हुँदा पुनः भैरवी मन्दिर निर्माण कार्य युद्धस्तरमा भइरहेको रहेछ । मन्दिर नजिकै कालीगढहरू पुरानौ शैलीका बुट्टेदार काष्ठसामाग्रीहरू तयार गरिरहेका थिए । भैरवी मन्दिरलाई शक्तिपीठ मानिन्छ । मन्दिर नजिक भैरवीका मूर्तिहरू राखिएका रहेछन् । पुजारीका रूपमा धामी-धमिनी हुन्छन् । मन्दिरको दर्शन गरेर हामी साततले नुवाकोट दरबार परिसरतिर लाग्यौँ । यो नुवाकोटको साततलेलाई दरबारलाई पनि भूकम्पले कहाँ छाड्यो र ! दरबारको गाह्रो भत्किएको छ । ठाउँ-ठाउँमा टेकोद्वारा अडाइएको छ । दरबार पुनः निर्माण गर्ने काम चीन सरकारले गरिदिने रे । निर्माण शुरु भने भएको छैन ।
अब भने भोक लाग्यो । भोकले लखतरान भयौँ । अशोक बाटिकामा भात खाने निधो थियो । त्यसैतर्फहान्नियौँ । पहिल्यै पुगेर हामीलाई कुरिरहेका रहेछन्- शम्भुप्रसाद, मुकुन्दराज, होमबहादुर, दिनेश, महेन्द्र, सन्तोष र लोकबहादुर लगायतका साथीहरू । मीठो मानेर पेटभरि भात खाइयो । खानपीनपछि महामण्डलस्थल घुम्ने सल्लाह थियो । तर, समय अपुग हुने देखिएकोले नजाने भयौँ । महामण्डल मल्लकालीन फरक राज्य । ऐतिहासिक अभिलेख पढ्दा गणदेव नै महामण्डलका पहिलो राजा थिए भन्ने पाइन्छ । पुरानो इतिहास रहेको महामण्डलको खोजअनुसन्धान गर्नुपर्ने देखिन्छ ।
काठमाडौँको टुडिखेल भनेजस्तै नुवाकोटमा पनि टुडिखेल छ । टुडिखेलमा अशोक बाटिका छ । बाटिकामा दुर्इवटा ठूला-ठूला अशोकका बोट छन् । सोही बोटमुनि साहित्यिक कार्यक्रम गर्न जुटेका छौँ हामी । मुकुन्दजी भैरवी उच्च मा.वि.मा कार्यरत शिक्षक भएकाले डेस्क, बेन्च र कुर्सीको प्रबन्ध उनले गरे । ‘नुवाकोट साहित्य पदयात्रा’की संयोजक सुमित्राले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रममा स्थलगत सिर्जना गरेर प्रस्तुत गरिने सुनाइन् । कवि तथा लेखकहरूलाई विधागत विभाजन गरियो । कविता तर्फ शम्भुप्रसाद, रामकृष्ण भट्ट, शिवसुन्दर, कोमल, सीताराम, जानुका । त्यसै गरी गीततर्फमुकुन्द र लोकबहादुर । गजलतर्फ रामप्रसाद, देउती, भगवती र भगवती । त्यसै गरी मुक्तकतर्फ आशिक, विष्णुप्रसाद, प्रमिला र बुदराम । हाइकुतर्फ सुमित्रा, सिजोतर्फ रामकृष्ण र नियात्रातर्फ म छानिएँ । स्थलगत सिर्जना गरी स्थलगतरूपमै सिर्जना प्रस्तुत गर्यौँ । एउटा पृथक् खालको कार्यक्रमले सबैमा आनन्द प्राप्ति भयो ।
पदयात्राका मुख्य अतिथि शम्भुप्रसाद शर्माले ‘पदयात्राले सर्जकहरूलाई लेख्नका लागि पर्याप्त खुराक मिल्ने’ विचार राखेका थिए । मैले ‘महामण्डल’ र ‘नुवाकोट’का ‘फरक राज्यका विषयमा एउटा आलेख प्रस्तुत गरेको थिएँ । मेरो आलेखमाथि शिवसुन्दरले टिप्पणी गरेका थिए । यसरी स्थलगत सिर्जना, सिर्जना प्रस्तुति तथा विचारविमर्शसहित ‘नुवाकोट साहित्य पदयात्रा-२०७४’ समापन भयो । मीठो अनुभूतिले आनन्दित भएर बासस्थानतिर फर्किरहँदा मेरो मानसपटलमा सिजोँ-सिर्जना प्रस्फुटित भइरहेको थियो-

बिर्सन गाह्रो पर्यो साहित्यिक पदयात्रा
सबैले बुझनु पर्छ बौद्धिकता आफैँदेखि
घमण्ड आइलागेमा बाङ्गिनेछ सपना ।

श्रीराम श्रेष्ठ
संस्थापक अध्यक्षः नुवाकोट साहित्य प्रतिष्ठान,
बट्टार, नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *