सृजना कोइरालाका एक दर्जन मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

तिम्रो व्यस्तता माझ, धेरै बोल्नै चाहिन
कुण्ठित मनका भावहरू, खोल्नै चाहिन
समर्पण नै कम भएर, हो कि खै तिम्रो ?;
तरङ्गित मायाका रङ्हरू घोल्नै चाहिन ।।

सपनिमा देखें तिमीलाई, मनै कस्तो भो
विपनीमा तस्वीर देख्दा, झनै कस्तो भो
दिएन साथ परिस्थितिले, सँगै रुन पीडामा
तिम्रो दुखार्इ सम्झदा, तनै कस्तो भो ।।

 

जस्तै पीडामा नि आँसु देखाइ, रुने छैन सानु
विषमतामा पनि मन अस्थिर, हुने छैन सानु
सिक्काका दुईपाटा बनी, सार्थक जीवन जिउनुछ;
कसैका भ्रमले कहिल्यै अन्तर्मन, छुने छैन सानु ।।

हजुरलाई त नेताज्यू, भोटको खाँचो भो
सुन्दर महलमा रम्ने, नोटको खाँचो भो
भूकम्पले चर्किएका, हाम्रा विक्षुब्ध मनहरू;
टाल्ने काममा सदैव, खोटको खाँचो भो ।।

दुःख किन जिन्दगीमा, गुणा हुँदै गए ?
सुख समिप हुनुपर्ने, आकाश छुँदै गए ।
भाविले नि लेख्ने विधि, पुर्याएनछ कि त;
जोड, घटाउको सन्तुष्टि, कता रुँदै गए ?

विरानो यो शहरमा जीवन, एक्लै तड्पिरहेछ ।
वाधा, व्यवधान झेल्दै, तिम्रै यादमा धड्किरहेछ ।
विसन्चो भई लड्दा पनि, सहारा छैन कसैको;
ऋण तिरी केही गर्ने, झिनो आशमै अड्किरहेछ ।।

तिम्रो दृष्टिकोणमा, खास नभए पनि
सुन्दर महलमा मेरो, बास नभए पनि
चलेकै छ जीवन, बलेकै छ चुलो यहाँ;
कहीँ कतै केहिमा, आश नभए पनि

दुःखमा नै रमाउने, बानी भो जिन्दगी
विवशताको भव्य, खानी भो जिन्दगी
जता जाउँ जे गरौं, सोचेभन्दा फरक;
खहरेको उर्लंदो, पानी भो जिन्दगी ।।

कम्ति बोले पनि मृदुभाषा, त्यसमै जय हुन्छ
उदार दिलले सहयोग गरे, सुगन्धमय हुन्छ
खाली हात नै जानुछ, तैपनि राख्छौ वैरभाव;
आखिर किन ? निवासमै, जीवन भय हुन्छ !

आफ्ना सन्तानको चाल देखि, रुन्छिन नेपाल आमा
बारम्बार आँसुले नै मुख, धुन्छिन नेपाल आमा
अस्तित्व नै जोखिममा पर्यो, भन्दै मुर्छित हुन्छिन;
पुनः सम्हालिंदै नयाँ सपना, बुन्छिन नेपाल आमा ।।

समयको बहावसँगै, नाचिरहेछ मानिस
धनदौलतको जोहो गरी सांचिरहेछ मानिस
अनभिज्ञ रहेको यो, दुई दिने चोलामा;
केहि गर्ने झिनो आशमै, बाँचिरहेछ मानिस ।।

हिजो मात्र भेटेको उसलाई, काले काले रहेछ
कुरा गर्दै गएको त, खुब दिल वाले रहेछ
असल मित्र बन्ने हामी, भन्थ्यो संधैभरि;
फेरि आज नै कुरा मोड्यो, नौ जाले रहेछ ।।

पोखरा, कास्की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.