साहित्य आँगनी
जन्मेको केही महिनामा
आमा मरिन्
म टुहुरो मात्र भइँन
समाजको आँखी पनि भएँ
समाजले भन्यो- मेरै कारणले आमा मरेकी रे !
कसरी ?
म त मूल्याहा पो रहेछू !
मेरो नामै राखियो “मूल्याहा”
मेरो नाम बिगार्ने अधिकार कस्ले दियो समाजलाई ?
गुहार देऊ गुहार !
बाबू सधै ब्यस्त
सानी आमाको आँखाको कसिङगर भएर
फुटेको कुर्कुच्चाले धरती अठ्याउँदै
सकि नसकी घिसार्दै लान्थेँ
आफ्नो तौल भन्दा ठूलो झोला
मरेका दिनहरुको ईतिहास पढ्नलाई
अग्ला टाकुराहरु
पैतालाले नाप्ने रहर
अर्कोतिर पन्छाएर
गणितका सुत्रहरु कण्ठ नपार्दा
हात भाँचिदिने शिक्षकहरुबाट बचाउँने कोही छ ?
गुहार देऊ गुहार !
ओठहरुमाथि जुँगाले ढाक्दैगर्दा
रहर बढ्नु स्वभाविक नै हो
छातीका परौठाहरु फुलेर
चौवन्दी चोली च्यातेर
संसार चियाउने बेलामा
काउकुति लाग्नु स्वभाविक नै हो
तर
चोक र गल्लिहरुमा
बैंस पस्केर
परौठा बेचेर कमाएको पैसाले
पेट त बचाउँन सक्छ
अस्तित्व बचाउँन सक्दैन
आफूलाई बेचेर कमाएको पैसामा
जीवनको कुनै मोल हुँदैन
के तिमीले भुल्यौ र ?
भुल्ने भीडहरुलाई
गुहार देऊ गुहार !
नालापानी र कालापानीको सीमाना भुलेर
कोशी र गण्डकीलाई इतिहास बनाएर
सुस्ताको आँगनीमा
बुट बजार्दै
फटाहा चरिरहेका छन्
बुटको आवाजले झस्किएर
गु र मुतसँगै लटपटिएका बुढा बा
पिढिँबाट परेला उघार्दै
नियाल्छन्
भात र भान्सामा
घर र गोठमा कुरा नमिल्दा
झगडा गरिरहेका छोराहरु
अंश र दाइजो नपाएर
निराश भएका छोरीहरु तर्फ फर्केर
शत्रुको डर
उमेरको धक्धकीसँगै त्यो बूढो स्वर
एक्लै फत्फताईरहन्छ
एक्लै बरबराईरहन्छ
गुहार देऊ गुहार !
लोकनाथ भुषाल ‘घायलश्री’
पर्वतफ हाल- म्याग्दी ।
सम्पर्क- 9847138706
