पपी, टमी, किङकङ, खैरे रमाउँदै होलान्
समाई तिनका घाँटी माला पैर्याउँदै होलान्
सम्झदै होलान् आज ईश्वर नै हौँ कि त हामी
भोलि एक गास कुर्नु बिर्सी रमाउँदै होलान।।
फर्म मै जानु पर्ने भो गाई पुज्न पनि अब
गाउँ पस्नु पर्ने भो महत्व बुझ्न पनि अब
आमा त फाल्न खोज्दै छन् यहाँ गाई कस्ले पाल्ने
अभियानै चाल्नु पर्ने भो सुज्न पनि अब।।
चोकै पिच्छे रोटे पिङ र लिङ्गेपिङ हाल्दथे
फुटेका झुपडी मिलाई माटोमुछी टाल्दथे
सिप कस्को राम्रो भन्थे रातो सेतो मिलाउने
वैगुन र ईर्ष्या राग यही पर्वमा फाल्दथे।।
छैन बारी गमलामा फुल्दैछ मखमली
भीर पाखा कन्दरामा झुल्दै छ मखमली
उर्जा भूमि ठूलामहलले भरिएपछि
बुनेर विदेशी माला डुल्दै छ मखमली।।
हेर्दै छु काँडालाई हुन् बार यी फूलका
लट्टे,गुराँस,गुलाफ हुन नेपाली मूलका ।
जोगाई पराईबाट अधिन आफ्नै पार्छ यो
कोमल्ताका प्रतीमूर्ति नारी सब कूलका ।।
धुवाँ धुलो ढाकिएको हाम्रो कान्तिपुर
सुन्दरता छोपिएको हाम्रो कान्तिपुर ।
जस्ले जसलाई मारौँ स्वतन्त्र छौँ त्यहाँ
मानवता दबिएको हाम्रो कान्तिपुर ।।
पवित्रता बोकी पखाल्छीन् पाप बागमती
प्रताडना बोकी पखाल्छीन पाप बागमती ।
कसको मनभित्र को पस्न सक्छ र यहाँ
दिलचाबी ठोकी पखाल्छीन् पाप बागमती ।।
चिन्न मलाई कठिन् भयो को सत्रु को मित्र
फुक्दै पाईला चाल्नु पर्यो आफ्नै देश भित्र ।
दाह्रा नङ्ग्रा गडेका छन् छेदविच्छेद छ देह
एट्लस पल्टाई भन्छन् सग्लै छ मानचित्र ।।
(धरा)
