जयदेव गोविन्द का तीन कविता

Spread the love
Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) नेपाल मेरो घर !!
छानो पर्वत, छाउनी हिमछटा अग्लो चुलीको धुरी
छन् भित्तासरिका अखण्ड पहरा छेकेर आँधीहुरी
माटो लेप लगाउने लिउन हो हो आड झैं पत्थर
थुम्का आट र फाँट आँगन पिँढी, नेपाल मेरो घर !

उठ्छन् दैनिक टाकुरा अभयले सौभाग्य टेवासरि
माया बाँड्छ अरण्यले पथिकमा हावा दिई सर्सरी
गौरी-शङ्कर, बुद्धको, जनकको सिद्धान्त लेख्ने भर
ब्रह्माको अति सिद्धहस्त रचना नेपाल मेरो घर !!

 

डाँफे,कोकिल पोख्त गायक बने ती वृक्षका बासमा
नाच्छन् क्रौञ्च, मयूर, सारस, सुगा फुर्केर उल्लासमा
घुर्दै घुर्र कपोतले मिलनका बर्साउँछन् निर्झर
आहा ! प्रेमिल कक्ष पावन धरा नेपाल मेरो घर ।।

झर्ना बन्दछ कण्ठहार, गहना मोजा छ मैदानको
टोपी लेक र रक्त पुष्प फरिया जुत्ता छ चट्टानको
घुम्टो बादल,कोट-बक्खु कुहिरो बाली बने घाँगर
मानौं रूप,मिठास सिर्जन थलो नेपाल मेरो घर ।।

आकाशै वरतुल्य मस्त रतिमा धर्ती नयाँ बेहुली
उड्छन् लाम मिलेर जन्तु-चिडिया जन्ती युवाझैं डुली
खम्बा वृक्ष, लता छ सौम्य चँदुवा, साक्षी शशी-भास्कर
आहा ! हो कि विवाह-मण्डप धरा नेपाल मेरो घर !

वक्ता झ्याउँकिरी छ झाङ-वनमा श्रोता अरू कीट छन्
हावा सर्र चलेर पत्र-दलमा आनन्द सङ्गीत छन्
बत्ती, पानस रातमा जुनकिरी द्रष्टा चरा, वानर
जाई, चम्पक पुष्प-शोभित धरा नेपाल मेरो घर !

द्यौसी खेल्दछ बाघ नित्य वनमा आवाज भट्याउँदै
हात्ती हिँड्छ लसक्क जन्तु सबमा संस्कार सम्झाउँदै
दौडन्छन् द्रुत उफ्रिँदै मृगहरू आवाज सुन्दै पर
आहा नृत्य र गान, मञ्चन थलो नेपाल मेरो घर !

पुर्खा ती बलभद्र, “भक्ति”, भृकुटी सीता, महामानव
स्रष्टाका प्रतिरूप ती अरनिको ! निर्माणका वैभव
यस्तो पावन तीर्थ विश्वभरमा खोजी कहाँ मिल्छ र ?
देवी-देव र धर्म-रक्षक धरा नेपाल मेरो घर ।।
छन्द :- शार्दूलविक्रीडित

२) नेपाली मन
जहाँको माटोमा प्रथम अवनी दर्शन गरें
जहाँ च्याहाँच्याहाँ प्रथम सुरिलो गायन भरें
जहाँको हावाले घुरघुर लिएँ सास लहरी
यही नै हो मेरो अतुल मठ नेपाल नगरी !!

यहीँ पाएँ प्यारा जनक-जननी, सुन्दर कुटी
पिएँ छाती खोली मृदु रस हिमाली जडिबुटी
यहीँ तेते, ताते, थिरथिर सिकायो समयले
चिची, पापा, नाना, गणित-कखरा दीपक बले !!

जहाँको बाटोमा प्रथम पदयात्रा सुरु गरें
जहाँको पानीले प्रथम तनमा शीतल भरें
जहाँको धूलामा लुटुपुटु भयो शैशव पल
यही प्यारो मेरो मधुर सुखको क्रीडन थल !!

जवानीका मीठा मिलन-सुखका स्वादन यहीँ
परी, च्यान्टी,भुन्टी-सित मधुर आलिङ्गन यहीँ
पियारा-प्यारीका प्रणय-रतिका चुम्बन यहीँ
अहो ! मेरो प्यारो हृदयभरिको नन्दन यही !!

बिहानी-सन्ध्यामा विहग हुलका गीत सुनिने
उठेको झण्डामा शशि र सविता विम्बित हुने
हिराका माला झैं टलटल हिमाली मधुरिमा
यहीँ सीता-गौरी, जनक-शिवका उच्च महिमा !!

उठेको यो मेरो शिर सगरमाथा उठिरहोस्
तराईको चौडा गहनतम छाती दृढ बनोस्
पहाडी कान्लाका झरर झरना झैं रस भरूँ
यही माटो कोरी मधुर कविता सिर्जन गरूँ !!
छन्द :- शिखरिणी

३) प्राकृत तिहार !
आयो रङ्ग तिहारको दश दिशा बोकेर नौलोपन
सिङ्गो व्योम खुली खुसी-मिलनको गर्दै छ आवाहन
डाँडामाथि खुला गरी क्षितिजले सङ्लो बनायो मन
घोली रङ्ग मिठासमा प्रकृति नै गर्दै छ आलिङ्गन !

सारा काग मनुष्यका अतिथि झैं सत्कारभोगी भए
चुच्चाले यमराजका महलमा सन्देश बोकी गए
दोबाटातिर उफ्रिँदै कुकुरका ताँती बने पाहुना
बढ्दैछन् मनमोद उच्च तिनमा उत्साह लाखौं गुना !

भुङ्ग्रो झैं दिनमा बलेर सविता पार्दै छ तातो चुलो
रातो सेलसमान इन्दु नभमा पाक्यो बनी बाटुलो
छेकी ज्योति निहार ढक्कन बनी नाघ्यो पहाडी चुली
जेरी पुष्पक, कोपिला अनरसा, पत्ताहरूका पुरी !

ताराका गण चम्किई प्रकृतिमा बुट्टे कला भर्दछन्
चिर्दै रात मिलापले जुनकिरी दीपावली गर्दछन्
मौरी उत्सव गर्दछन् मह भरी टालेर चाकाहरू
थोपा शीत खसेर पत्कर चुमी बज्छन् पटाकाहरू !

दुम्सी-सर्प-मुसा-वनेल पिङका खाल्डाहरू खन्दछन्
लिङ्गा वृक्ष र झाङका पिङथला हाँगा बला बन्दछन्
लट्ठा झैं लतिका र काण्ड पिङका पिर्का र काम्रा बने
आहा ! प्राकृत शिल्पका पिङहरू चौपट्ट राम्रा बने !

द्यौसी खेल्न तयार सिंह-चितुवा भट्याउँछन् बेसरी
हाँगाबाट सघाउँछन् विहगले चौतर्फ गाना भरी
लिन्छन् प्राकृत दान जन्तु-चिडिया टिप्दै अनेकौं फल
आहा स्वच्छ तिहारले प्रकृति नै लाग्दै छ पुण्यस्थल !

रेखीतेल समान पङ्क्ति नगका सौभाग्यका शृङ्ग छन्
फुक्छन् श्वान घुमेर शङ्ख पथमा ती घण्ट झैं भृङ्ग छन्
गङ्गा छिन् भगिनी र अग्रज चुली संस्कार सम्झाउँछन्
इन्द्रेणी वहुरङ्गले क्षितिजमा टीका सँगै लाउँछन् !

बाँड्यो रङ्ग तिहारमा प्रकृतिले सौगन्ध वर्षा गरी
टुक्रा पत्थर अक्षता,जल सुधा, माटो बन्यो केसरी
यस्तै प्राकृत पर्व होस् मुलुकमा शालीन सञ्जाल होस्
मेरो शान्त तिहारमा प्रकृति झैं सम्पन्न नेपाल होस् !!

छन्द :- शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *